१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०२

एआई फाइटर जेट बनाउन विकसित मुलुकहरूबीच बढ्दो प्रतिस्पर्धा

सजना बराल

काठमाडौँ — अमेरिका, चीन, बेलायत, जापान, रुस, अस्ट्रेलियालगायत देशहरू अहिले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)सहितको लडाकु विमान बनाउन र त्यसको परीक्षणमा लागिपरेका छन् । अमेरिका र चीनले हालै मात्र मानवरहित त्यस्ता विमानको परीक्षण उडान र युद्धाभ्यास समेत गरिसकेका छन् । केही समयपछि फाइटर जेटहरू पूर्णतया चालकरहित हुने वा रिमोटको सहायताले जमिनबाटै सञ्चालित हुने अनुमान गरिएको छ । अहिलेसम्मका परीक्षणमा एआई फाइटर जेटहरूले उत्कृष्ट प्रदर्शन गरेको पाइन्छ ।

एआई फाइटर जेट बनाउन विकसित मुलुकहरूबीच बढ्दो प्रतिस्पर्धा

करिब तीन महिनाअघि संयुक्त राज्य अमेरिकाको रक्षा मन्त्रालयले एआईको सहायतामा मानवरहित हवाई लडाकु विमानको सफल परीक्षण गरेको थियो । चालकबिना नै परिष्कृत एफ-१६ लडाकु विमान उडाउने मात्रै नभएर घण्टौंसम्म आकाशमा युद्धाभ्यास गरिएको थियो । यूएस एयरफोर्सका अनुसार ‘एक्स-६ए भिस्टा’ नाम भएको उक्त्त फाइटर विमानले क्यालिफोर्नियास्थित एड्वार्ड एयर फोर्स बेसमा पटक-पटक गरी १७ घण्टाभन्दा धेरै सयम युद्धाभ्यास गर्नुका साथै अन्य लडाकु विमानसँग परीक्षण-भिडन्त गरेको थियो । उडान र अवतरणदेखि युद्धाभ्यासमा कुनै पनि किसिमको मानव हस्तक्षेप थिएन, निगरानी मात्रै भएको थियो ।

परिष्कृत एफ-१६ लडाकु विमानलाई त्यसरी स्वचालित रूपमा सञ्चालन गर्ने 'अल्गोरिदम' अमेरिकी रक्षा विभागअन्तर्गतको डिफेन्स एड्भान्स्ड रिसर्च प्रोजेक्ट एजेन्सी (डीएआरपीए)ले विकास गरेको थियो । सैन्य पूर्वाधारहरूमा एआई समावेश गर्ने रक्षा विभागका ६ सयभन्दा बढी परियोजनाहरूमध्ये एआई-फाइटर जेट ‘एयर कम्ब्याट इभोलुसन’ कार्यक्रमअन्तर्गत विकास भइरहेका छन् । सन् २०१९ देखि सुरु भएको मानवरहित लडाकु हवाई विमानको विकास गर्ने अभियानलाई अमेरिकी सेनाले सन् २०२३ भर निरन्तरता दिनुका साथै परीक्षण उडानलाई तीव्रता दिने द न्यू योर्कर म्यागजिनकी पत्रकार सु हल्पर्नले ‘द राइज अफ एआईस् फाइटर पाइलट्स’ रिपोर्टमा लेखेकी छन् ।

परिष्कृत एफ-१६ एआई लडाकु विमानको उक्त परीक्षण उडानको खबर सेलाउन नपाउँदै हाल चिनियाँ सैन्य अन्वेषकहरूले पनि पूर्ण रूपमा एआईद्वारा सञ्चालित लडाकु ड्रोन र जमिनमै रहेका चालकद्वारा रिमोटको सहायताले उडाइएको अर्को विमानबीच ऐतिहासिक परीक्षण-भिडन्त गरिएको बताएका छन् । साउथ चाइना मर्निङ पोस्टको समाचार अनुसार एआईद्वारा सञ्चालित विमानले अत्याधुनिक क्लोज-रेन्जको लडाइँमा उत्कृष्ट प्रदर्शन देखाउँदै मानव प्रतिद्वन्द्वीलाई निरन्तर दबाबमा राखेको थियो । पिपल्स लिबरेसन आर्मी रिसर्च इन्स्टिच्युट अन्तर्गतको चाइना एरोडाइनामिक्स रिसर्च एन्ड डेभलप्मेन्ट सेन्टरका प्राध्यापक हुआङ जुन्ताओको नेतृत्वमा एआई लडाकु विमान निर्माणको काम भइरहेको छ ।

एआई फाइटर विमान र मानव चालकले उडाएको विमानबीचको लडाइँको सुरुमा जमिनका चालकले पहिले आक्रमण गर्दै एआईलाई जित्न खोजेका थिए । तर, चालकको उद्देश्य अड्कल गर्दै एआई लडाकु विमानले चालबाज शैलीमा प्रतिआक्रमण गरी प्रतिद्वन्द्वीभन्दा ठीक पछाडि गएर बसेको थियो । मानव चालकहरूले एआई विमानलाई झुक्याएर जमिनमा पछार्न खोज्दा उक्त विमान एम्बुस पोजिसनमा गएर होल्ड भएको थियो । त्यसरी विमान होल्ड हुँदा प्रतिद्वन्द्वी नजिक आए एम्बुसमा पर्दछ । ‘आर्टिफिसियल इन्टेलिजेन्स केन्द्रमा रहने सैन्य लडाइँको युग क्षितिजमै छ,’ केही दिनअघि मात्रै प्रकाशित जर्नलमा चिनियाँ सैन्य अन्वेषकहरूले लेखेका छन्, ‘स्वविवेकमा निर्णय गर्ने क्षमता भएको विमानले प्रतिआक्रमणको गति लगायत विविध कुरामा मानिसलाई पराजित गर्न सक्छन् ।’

एआई पाइलट प्रविधिमाथि अमेरिकाले ६० वर्षअघि नै अध्ययन सुरु गरेको भए पनि चीनले त्यसमा चाँडै पाइला सारिररहेको चिनियाँ अन्वेषकहरूको भनाइ छ । उनीहरूले लडाकु विमानको एआई मस्तिष्कका रूपमा 'नभिडिया जेट्सन टीएक्सटु बोर्ड' जडान गरेका थिए । नभिडिया चिपले विमानलाई आफ्ना सेन्सरले जम्मा गरेको सूचनाका आधारमा प्रतिसेकेन्ड १ हजार वटा निर्णय गर्न सक्षम बनाएको थियो । विमानको निर्णय लिने प्रक्रिया त्यसको हार्डवेयरसँग सम्बन्धित नभएकाले चिनियाँ सैनिकका कुनै पनि लडाकु विमानलाई एआई विमानमा परिणत गर्न सकिने अन्वेषकहरूको भनाइ छ ।

लडाकु विमानहरूलाई मानवरहित वा कृत्रिम बौद्धिकता भएको मेसिनका रूपमा विकसित गर्न अमेरिका वा चीनको मात्रै रुची छैन । बेलायत, इटली, जापान, रुसलगायत देशहरूले पनि चालकको सट्टा अल्गोरिदमले चलाउने फाइटर जेट विकास गर्ने घोषणा गरिसकेका छन् । युरोपेली देशहरूमा सन् २०३० को दशकमा यस्ता विमान उपलब्ध भइसक्ने र त्यतिञ्जेल तिनले अहिलेका युरोफाइटर टाइफुन विमानलाई प्रतिस्थापित गर्ने कतिपयको अनुमान छ । रुसी एयर फोर्सले पनि आफ्ना विमान चालकहरूलाई निर्णय लिने प्रक्रियामा सहयोग गर्न लडाकु विमानहरूमा एआई सफ्टवेयर जडान गर्न थालेका छन् ।

प्रविधि पत्रकार स्याच ब्रोड्स्कीका अनुसार केही निजी कम्पनीहरूले पनि एआई विमान चालक निर्माण गर्न र यसका लागि प्रविधि उपलब्ध गराउन लगानी थपिरहेका छन् । सिल्ड एआईले 'हाइभमाइन्ड' नामक आफ्नो एआई पाइलट सफ्टवेयरलाई अझै एड्भान्स्ड बनाउन ६० मिलियन डलर लगानी थपेको छ । 'हाइभमाइन्ड'ले विमान टोलीहरूलाई वायु रक्षा प्रणालीदेखि लडाइँहरूमा विमानलाई स्वचालित रुपमा सञ्चालन हुन सक्षम बनाउँछ ।
(एजेन्सीको सहयोगमा)

प्रकाशित : फाल्गुन २५, २०७९ १५:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?