यूरोपियन युनियन र नेपाल : सँगसँगै बलियो भएका ५० वर्षहरू

एडभर्टोरियल

यूरोपियन युनियनले नेपालसँगको सहकार्यको ५०औं वार्षिकोत्सव मनाउँदै गर्दा म शान्ति, समृद्धि र दीगोपनको लागि हाम्रो साझा यात्रा अगाडि बढेको हेर्न चाहन्छु । सन् १९७४ बाट सुरू भएको हाम्रो सम्बन्ध त्यसयता साझेदारी र आपसी सम्मानको मर्मलाई अंगीकार गर्दै फक्रेको छ । हामीले अन्य समयभन्दा ज्यादा विश्वव्यापी चुनौतीहरू सामना गर्नुपरेको अवस्थामा सँगसँगै काम गर्ने हाम्रो प्रतिबद्धता आजको दिनमा थप औचित्यपूर्ण बनेको छ । 

खासमा यूरोपियन युनियन एकता र सहकार्यको शक्तिको एउटा ज्वलन्त प्रमाण हो । दोस्रो विश्वयुद्धले ध्वस्त बनाएको समयमा स्थापना भएको यूरोपियन युनियन शान्ति, समृद्धि र ऐक्यबद्धताको सिद्धान्तहरूको जगमा खडा भएको थियो । यूरोपियन युनियनमा आज २७ सदस्य राष्ट्रहरू आबद्ध छन् । आज यूरोपियन युनियन आफ्ना नागरिकहरूमात्र नभई सीमापारका व्यक्तिहरूकोसमेत जीवनमा सुधार गर्न दत्तचित्त छ र यो स्थायीत्व र समृद्धिको प्रतीक भएको छ । कोही पनि व्यक्ति पछाडी नछुट्ने विश्व निर्माणमा प्रतिबद्ध रहँदै नेपालसहित विश्वभर १४० भन्दा बढी डेलिगेशनहरूमार्फत् यूरोपियनयुनियनले मित्रताको हात अगाडि बढाएको छ । 

नेपालसँगको हाम्रो साझेदारी हरित र समावेशी आर्थिक वृद्धि, गुणस्तरीय शिक्षाको अभिवृद्धि, लोकतन्त्र, विधिको शासन र मानवअधिकारको प्रवर्द्धनजस्ता साझा लक्ष्यहरूको जगमा उभिएको छ । जलवायु परिवर्तनले निम्त्याएको अस्तित्वकै खतरासँग जुध्न यूरोपियन युनियनले ‘इयू ग्रीन डील’मार्फत् रुपान्तरणकारी यात्राको आरम्भसमेत गरेको छ । यसले आर्थिक वृद्धिलाई वातावरणीय व्यवस्थापनसँग सन्तुलन कायम गर्दै दीगो विकासको लागि वकालत गर्छ । मनमोहक भू–बनोट र जैविक विविधतामा धनी नेपालसँग यस क्षेत्रमा काम गरेर देखाउने र दीगो वृद्धिको खाका अंगीकार गर्ने विशिष्ठ अवसर छ । नेपालको सकारात्मक विकाको प्रचूर सम्भाव्यतालाई पहिचान गर्दै यस कार्यमा नेपाललाई सहायता प्रदान गर्न यूरोपियन युनियन हरदम तयार छ ।

समृद्धि र प्रगतिको केन्द्रमा शिक्षा रहन्छ । विगत केही दशकहरूमा नेपालले सीमान्तकृत समुदायहरूसहितको शिक्षामा पहुँच सुधारको क्षेत्रमा उल्लेख्य सुरुवात गरेको छ । यी उपलब्धिहरूमा योगदान गर्न पाउनुलाई यूरोपियन युनियनले गौरवकोरुपमा लिएको छ । यद्यपि, हामीले अझै धेरै कामहरू गर्नुछ । गुणस्तरीय शिक्षा प्राथमिकताकोरुपमा रहेको छ । हरेक नेपालीको सशक्तिकरण र समृद्ध जीवनका लागि गुणस्तरीय शिक्षामा पहुँच सुनिश्चित गर्ने कार्यमा सहायतालाई निरन्तरता दिन यूरोपियन युनियन प्रतिबद्ध छ । 

यसैगरी, हाम्रो सहकार्यको जग मानवअधिकार, लोकतन्त्र र विधिको शासनप्रतिको साझा प्रतिबद्धताहरू हुन् । यूरोपियन युनियन यी सिद्धान्तहरूको नैतिक महत्त्वको मात्र नभई दीगो विकासको पूर्वशर्तसमेत हो भन्ने विश्वास गर्दछ । नेपालसँग मिलेर हामी कानुनी खाकाको सवलीकरण, जवाफदेहीता प्रवर्द्धन र सबै नागरिकहरूलाई आधारभूत स्वतन्त्रताहरू सुनिश्चित गर्ने क्षेत्रमा काम गरिरहेका छौं । हालै सुरु गरिएको लैङ्गिक समानता कार्यक्रमसहित हाम्रो संयुक्त प्रयासहरूले मानवअधिकार प्रवर्द्धन र महिला तथा किशोरी सशक्तिकरणप्रतिको हाम्रो दृढ प्रतिबद्धता प्रदर्शन गर्दछ । 

संघीय कानुनको कार्यान्वयन र नागरिकलाई सार्वजनिक क्षेत्रको सेवा प्रवाहको सुधारमा नेपालको प्रयासहरूमासमेत यूरोपियन युनियनले सहायता उपलब्ध गराउँछ । क्षमता अभिवृद्धि र खासगरी प्रादेशिक र स्थानीय सरकारहरूसहित नेपालको संघीय संरचनामा संस्थागत क्षमता सवलीकरण सहायताका मुख्य क्षेत्रहरू रहेका छन् । स्थानीय तहमा सेवा प्रवाह अभिवृद्धि गर्ने र नीतिनिर्माण तहमा सीमान्तकृत समुदायहरूको प्रतिनिधित्व बढाउँदै विस्तृत सहभागिताको वातावरण तयार गर्ने हाम्रो साझा लक्ष्यहरूको केन्द्रमा रहेको छ । तीनवटै तहका सरकारहरूको पर्याप्त कार्यसम्पादन सुनिश्चित गर्न नेपालले वित्तीय संघीयताको क्षेत्रमा छोटो समयमा धेरै कामहरू गरेको छ । 

भविष्यउन्मुख हुँदै गर्दा यूरोपियन युनियन नेपालले सुरु गरेको प्रगति र समृद्धिको प्रयासहरूमा सहायता दिने कार्यलाई यूरोपियन युनियनले निरन्तरता दिनेछ । हाम्रो सहकार्य केवल कुटनीतिमात्र होइन, यो सहकार्य ऐक्यबद्धता, मित्रता र साझा मूल्यमान्यतासमेत हो । सँगसँगै काम गरेर हामीले यस्तो विश्व निर्माण गर्नसक्छौं जहाँ विश्व शान्ति, समृद्धि र दीगोपन हाम्रो चाहनामात्र नभई सबैका लागि यथार्थ बन्ने छ। अगाडिको यात्रा चुनौतीपूर्ण रहनसक्छ तर दृढता र साझेदारीमार्फत् हामीले कुनै पनि अवरोधहरू छिचोल्न सक्छौं र आउँदा पुस्ताहरूको लागि उज्यालो दिनहरू निर्माण गर्नसक्छौं ।