१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०२
अन्तर्वार्ता

‘भुटानी शरणार्थीका नयाँ पुस्तालाई केही वर्षपछि आफ्नै देशबारे थाहा हुन्न’

पर्वत पोर्तेल

काठमाडौँ — भुटानको तराई (दक्षिणी भेग) का साम्ची, चिराङ दागाना, सरपाङ, साम्डुपजोङखर र छुका जिल्लाको फुन्छोलिङ आसपासका नेपालीभाषीहरुलाई जोङ्खा भाषामा ‘ल्होछाम्पा’ भनिन्छ । ती ‘ल्होछाम्पा’ हरु सन् १९९० को दशकमा भुटानबाट अचानक लखेटिए । मेची तरेर कनकाई बगरमा आश्रित नेपालीभाषीहरुलाई सन् १९९२ पछि मात्रै दातृ निकायहरुको सहयोगमा नेपाल सरकारले टिमाई, गोल्धाप, खुदुनावारी, बेलडाँगी, पथरी–शनिश्चरे लगायतका शिविरहरुमा बस्ने व्यवस्था मिलाएको थियो ।

‘भुटानी शरणार्थीका नयाँ पुस्तालाई केही वर्षपछि आफ्नै देशबारे थाहा हुन्न’

भुटानी शरणार्थीको स्वदेश फिर्ती आन्दोलनमा सक्रिय मदन तामाङ, सीके श्रेष्ठ, छितेन शेर्पाहरुसँगै डा. हर्कबहादुर क्षेत्री पनि अग्रमोर्चामा थिए । शरणार्थीको घर फिर्तीको पक्षमा र्‍याली, धर्ना र लङमार्चमा सहभागी बनेका पश्चिम बंगाल विधानसभाका पूर्वविधायक क्षेत्रीसँगको संक्षिप्त कुराकानीः

शरणार्थीको घरफिर्ती अभियानमा भारतको असहयोग किन ?

भुटानी शरणार्थीलाई स्वदेश फर्काउन भारतले कहिल्यै सहयोग गरेन । भारतका विदेश सचिव जेएन दीक्षितले एक अन्तर्वार्तामा भनिसकेका छन् कि ‘भुटानका विरुद्ध भारतीय जमिनमा कुनै कार्यक्रम गर्न दिँदैनौं’ भनेर । यो उनको दृष्टिकोण हैन, सिंगो भारतको नीति हो ।

भुटानको आन्तरिक सुरक्षाको जिम्मेवारी भारतले लिएको छ । भुटानी भूमिमा भारतीय सेनाले परेड खेलिरहेका छन् । भुटानको शान्ति र सद्भाव बिथोल्न नदिने जिम्मेवारी भारतको काँधमा छ । अनि, त्यही देशका विरुद्ध आफ्नो देशमा आन्दोलन गर्न दिने र भुटान जान बाटो दिने कुरै हुन्न नि !

शरणार्थीलाई तेस्रो देश पुनर्वासको अन्तर्य के हुन सक्छ ?

शरणार्थी व्यवस्थापनका तीन विकल्पमध्ये एक विकल्प तेस्रो देश पुनर्वासमा भारतको चासो र चिन्ता थियो । यो विकल्पचाहिँ राजनीतिक रूपमा किन सुरक्षित थियो भने शरणार्थीहरू एउटै देशमा पनि जाँदैनन्, संगठित भएर बस्न पनि सक्दैनन् । फरक वातावरणमा नेगोसिएट गर्दा गर्दै उनीहरू थाक्छन् । केही वर्षपछि नयाँ पुस्तालाई आफ्नो देशबारे केही थाहा हुन्न । यो त घाम लाग्दा शीतको थोपा बाफ बनेर उडेजस्तै हो ।

नेपालमै विलय गर्ने विकल्प पनि थियो, त्यो चाहिँ किन कार्यान्वयन भएन ?

नेपालमै विलय गर्न नचाहेको कारणचैं के भने भाषा, संस्कृति, रहनसहन सबै मिल्छ । नेपालमै बस्न दिँदा भुटान एकदम नजिक पर्छ । भारत र भुटानले सधैं सुरक्षा खतरा महसुस गरिरहने भए । त्यसकारण शरणार्थीहरुलाई तेस्रो देश पुनर्वासलाई हतियार बनाएर विभिन्न देशमा छिन्नभिन्न पारियो ।

भुटानबाट नेपालीभाषी लखेटिँदै गर्दा भारतको दार्जिलिङमा सुवास घिसिङको गोर्खाल्याण्ड आन्दोलन पनि उत्कर्षमा थियो । त्यही कारण भारतले जतिसक्दो नेपालीभाषी भुटानीलाई नेपालतिरै लखेट्ने नीति लिएको थियो । गोर्खाल्याण्ड आन्दोलन चर्किरहेका बेला त्यही समुदायका मान्छेहरुलाई आश्रय दिनु भारतले सुरक्षा खतरा ठान्यो ।

भुटानीहरु लखेटिनुको कारण के होला ?

लखेटिनु पछाडिको एउटा कारणचाहिँ गोर्खाल्याण्ड आन्दोलन पनि हो भन्ने लाग्छ । आन्दोलनका कारण सुवास घिसिङ चर्चामा आएपछि तत्कालीन भुटानी राजाले दरबारबाट टिभीको एन्टेना नै हटाउन लगाएका थिए । त्यहीबेलादेखि नेपालीहरुप्रति भुटानी राजालाई डर पलाउन थालेको थियो । भुटानबाट नेपालीभाषी लखेटेपछि पनि सिक्किमबाट एउटा प्रतिनिधिमण्डल भुटान गएको थियो । त्यो टिमले राजालाई भेटेर नेपालीहरुलाई कसरी लखेटियो भनेर चासो र जानकारी लिएका थिए । भित्री रुपमा सिक्किमका लेप्चा र भुटियाहरुले नेपालीभाषीप्रति तुस राखिरहेकै छन् जस्तो लाग्छ ।

प्रकाशित : श्रावण ३०, २०८० १३:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?