१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

राष्ट्रपति रनिङ सिल्ड : सुदूरपश्चिम पहिलोपल्ट च्याम्पियन

काठमाडौँ — सुदूरपश्चिम प्रदेशले १४ औं केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्डको ट्रफी उचालेको छ । सुदूरपश्चिम १९ स्वर्ण, १२ रजत र १८ कांस्य पदक जित्दै पहिलोपटक टिम च्याम्पियन बनेको हो ।

राष्ट्रपति रनिङ सिल्ड : सुदूरपश्चिम पहिलोपल्ट च्याम्पियन

वाग्मती १७ स्वर्ण, १३ रजत र १५ कांस्यसहित दोस्रो भयो । तेस्रो स्थानको कर्णालीले १० स्वर्ण, ५ रजत र १६ कांस्य जितेको थियो । ८ स्वर्ण, ९ रजत र ९ कांस्य जितेको कोशी चौथो भयो । अघिल्ला तीन संस्करणमा लगातार उपाधि जितेको लुम्बिनी ६ स्वर्ण, ११ रजत र १८ कांस्यसहित पाँचौं स्थानमा रह्यो । सात प्रदेश टिमको सहभागिता रहेको प्रतियोगितामा ३ स्वर्ण, १० रजत र १३ कांस्यसाथ गण्डकी छैटौं तथा ३ स्वर्ण, ६ रजत र ९ कांस्यसाथ मधेश प्रदेश सातौं भयो ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङलगायतले पुरस्कृत गरे । युवा तथा खेलकुद मन्त्रालयको तत्वावधानमा भएको प्रतियोगितामा सातै प्रदेशबाट ६ सय ८६ खेलाडी सहभागी थिए । एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु गरी ६ खेलमा प्रतिस्पर्धा भएको थियो ।

६६ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । एथलेटिक्सको छात्र/छात्रामा १३–१३ गरी २६ स्वर्ण, कराते, तेक्वान्दो र उसुको छात्र/छात्रामा ६–६ गरी ३६ स्वर्ण तथा भलिबल र कबड्डीको छात्र/छात्रमा १–१ गरी ४ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो ।

सुदूरलाई कबड्डीमा दोहोरो स्वर्ण

कबड्डीमा सुदूरपश्चिम छात्र/छात्रा दुवैमा विजेता भयो । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको छात्रको फाइनलमा सुदूरपश्चिमले कोशीलाई ३२–२६ ले पराजित गर्‍यो । लुम्बिनी र मधेश तेस्रो भए । छात्राको फाइनलमा सुदूरपश्चिमले लुम्बिनीलाई ४०–२७ ले हरायो । कर्णाली र वाग्मती तेस्रो भए ।

लुम्बिनी र वाग्मती भलिबल विजेता

भलिबलमा लुम्बिनी र वाग्मती प्रदेश च्याम्पियन बनेका छन् । लुम्बिनी छात्र र वागमती छात्रामा पहिलो भयो । दुवै टोलीले गण्डकीलाई हराएको थियो । राखेप कभर्डहलमा छात्र फाइनलमा लुम्बिनीले गण्डकीलाई २५–१७, २५–१४, १९–२५, २५–१९ ले हरायो । कर्णाली तेस्रो भयो ।

छात्राको उपाधि भिडन्तमा वाग्मतीले गण्डकीलाई २५–१३, २५–१४, २५–१४ को सोझो सेटमा हरायो । लुम्बिनी तेस्रो स्थानमा रह्यो ।

वाग्मती उसुमा टिम च्याम्पियन

उसुमा वाग्मती प्रदेश ५ स्वर्ण, ५ रजत र २ कांस्यसहित टिम च्याम्पियन भयो । त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहलमा सुदूरपश्चिम ५ स्वर्ण, ३ रजत र ३ कांस्यसाथ दोस्रो भयो । तेस्रो भएको कोशीले समान २–२ स्वर्ण र कांस्य जित्यो । १२ स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा दोस्रो दिन ८ स्वर्णको टुंगो लागेको थियो ।

सान्सौं छात्र ४२ केजीमा सुदूरपश्चिमका सुशान्त चौधरी, ४५ केजीमा सुदूरपश्चिमका मोहन विष्ट र ४८ केजीमा वाग्मतीका अरुण सुनारले स्वर्ण जिते । छात्रा ४२ केजीमा सुदूरपश्चिमकी दीक्षा साउद, ४५ केजीमा सुदूरपश्चिमकी सपना कार्की र ४८ केजीमा कोशीकी सरु राई विजेता भए । छान छ्वानको छात्रमा वाग्मतीका हिमांशु खड्का र छात्रामा सुदूरपश्चिमकी दीपिका चौधरीले स्वर्ण जिते ।

वाग्मतीलाई तेक्वान्दोको चार स्वर्ण

सातदोबाटोस्थित तेक्वान्दो हलमा भएको तेक्वान्दोमा ४ स्वर्ण र १ रजत र ५ कांस्यसाथ वाग्मती प्रदेश अगाडि रह्यो । कोशी ३ स्वर्ण, ३ रजत र ५ कांस्यसाथ दोस्रो भयो । तेस्रो स्थानको सुदूरपश्चिमले समान ३ स्वर्ण र कांस्य जित्यो । मधेश र कर्णालीले १–१ स्वर्ण जिते । जम्मा १२ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । छात्रा ४४ केजीमुनि झरना नाथ र ४६ केजीमुनि दीपा जैसीले स्वर्ण जिते । छात्र ४८ केजीमुनि शिशिर ठगुन्नाले सुदूरपश्चिमलाई स्वर्ण दिलाए । ५५ केजीमुनि वाग्मतीका निश्चल धौली र छात्रा ४९ केजीमुनि कोशीकी रेश्मा भुजेलले स्वर्ण जिते ।

करातेमा वाग्मती वर्चस्व

मार्सल आर्ट्समा वर्चस्व जमाएको वाग्मती प्रदेश करातेमा ४ स्वर्ण, २ रजत र २ कांस्यसहित टिम च्याम्पियन भयो । सातदोबाटोस्थित कराते हलमा भएको प्रतियोयगितामा कोशी २ स्वर्ण, ५ रजत र १ कांस्यसाथ दोस्रो भयो । २ स्वर्ण, १ रजत र १ कांस्यसाथ लुम्बिनीले तेस्रो स्थानमा पायो । कर्णाली र सुदूरपश्चिमले २–२ स्वर्ण जिते ।

छात्रको ४२ केजीमुनि लुम्बिनीका शिखर नेपाली र ५२ केजीमुनि कर्णालीका लक्ष्मणकुमार शाहीले स्वर्ण जिते । छात्रा ६० केजीमुनि सुदूरपश्चिमकी सोनिया तिरुवा र ४५ केजीमुनि कर्णालीकी प्रियंका शाहीले स्वर्ण जितेका थिए ।

१४ औं राष्ट्रपति रनिङ सिल्ड पदक तालिका


प्रकाशित : वैशाख ६, २०८१ २२:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?