२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९४

गत वर्षभन्दा कम देखियो सुनौलो तोप चरा

भवानी भट्ट

कञ्चनपुर — शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा सनौलो तोप चराको संख्या घटेको छ । आकर्षक गुँड बनाउने चराका रुपमा परिचित यो चरा गत वर्षको तुलनामा निकै कम भेटिएको हो । 

गत वर्षभन्दा कम देखियो सुनौलो तोप चरा

नेपाल पन्छी संरक्षण संघ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले संयुक्त रुपमा असार ११ देखि १७ सम्म निकुञ्ज र मध्यवर्ती क्षेत्रमा गणना गरिएको हो । अपर्चुनिस्टिक र ट्रान्जिट लाइन गरेर दुईवटा विधि अपनाएर गणना गरिएको नेपाल पन्छी संरक्षण संघका हिरुलाल डगौंराले बताए ।

अपर्चुनिस्टिक विधि भन्नले हिँड्दै जाँदा जहाँनेर चरा देखियो त्यहिँ गणना गर्ने र अभिलेख राख्ने तथा ट्रान्जिट लाइन भन्नाले एउटा तोकिएको बाटोमा मात्रै हिँड्ने र त्यसको दायाँबायाँ दुवैतर्फ देखिने चरा र गुँड दुवैको अभिलेख राख्ने । ‘हामीले अहिले यी दुवै विधि अपनाएका छौं,’ डगौंराले भने, ‘पन्छी संरक्षण संघ र निकुञ्जका गरी ८ जना प्राविधिक खटिएका थियौं ।’


शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा सुनौलो तोप चराको गणना गर्दै प्राविधिकहरु । तस्बिर सौजन्य : हिरुलाल डगौंरा नेपाल पन्छी संरक्षण संघ

‘सुनौलो तोप चराको संख्या गत वर्षभन्दा निकै कम भेटियो,’ डगौंराले भने, ‘गुँड पनि कम नै देखिए ।’ उनका अनुसार गत वर्ष निकुञ्ज र मध्यवर्ती क्षेत्रमा २ सय हाराहारी गुँड र २४२ तोप चरा देखिएका थिए । तर यस वर्षको गणनामा २ सयको हाराहारी मात्रै चरा देखिएका छन् ।

आइतबार मात्रै गणना सकिएका कारण पूर्ण विवरण तयार हुन बाँकी छ । तर संख्यात्मक रुपमा गत वर्षभन्दा निकै कम देखिएको डगौंराले बताए । उनका अनुसार निकुञ्जको लालपानी, हरैया, शुक्लाफाँटा घाँसे मैदान, पिल्लहरीफाँटा, राधापुर लगायतका क्षेत्रमा गणना गरिएको हो । निकुञ्जसँगै मध्यवर्ती क्षेत्रमा समेत गणना गरिएको उनले बताए ।

शुक्लाफाँटामा बाया, कालोछाती र धर्के गरी थप तीन प्रजातिका तोपचरा पाइन्छन् । अन्य चराको भने गणना हुन सकेको छैन । सुनौलो तोप चरा विश्वमै संकटापन्न अवस्थामा छ । यो चरण भारतको उत्तराखण्ड र नेपालमा मात्रै पाइन्छ । तराईका निकुञ्ज तथा संरक्षित क्षेत्रमध्ये शुकलाफाँटामा मात्रै पाइन्छ । यो चराको अहिले विश्वमा भएको संख्याको ७० प्रतिशत हाराहारी शुक्लफाँटामा रहेको निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले बताए ।

‘केही ताल तथा फाँटहरुमा गणना गर्न बाँकी छ, प्रारम्भिक नतिजाअनुसार गत वर्षभन्दा कम देखिएको भन्ने आएको छ,’ सहायक संरक्षण अधिकृत ऐरले भने, ‘अहिलेको सिजन सुनौलो तोप चराले गुँड बनाउने समय हो, त्यहि भएर यसको गणना सहज हुन्छ ।’ उनका अनुसार विगतका वर्षमा यो समयमा मात्रै गुँड बनाइरहेको देखिने सुनौलो तोप चरा अहिले भने निकुञ्ज क्षेत्रमा बाह्रै महिना देखिने गरेको छ ।

सुनौलो तोप चराको गणनाकै क्रममा निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने बेलडाडी गाउँपालिकाको झिलमिला क्षेत्रमा चिनियाँ बकुल्लासमेत देखिएको डगौंराले बताए । उनका अनुसार गत वर्ष चितवनमा र एक महिनाअघि मात्रै जेठ ६ मा पोखरामा अभिलेख गरिएको उक्त चरा सुदूरपश्चिममा पहिलो पटक अभिलेख गरिएको हो ।

चीन, दक्षिण कोरिया र जापानको रैथाने चराको रुपमा परिचित यो बकुल्ला नेपालका लागि फिरन्ते चरा हो । टाउको, घाँटी र छातीमा हुने कटुस रंगले यसको पहिचान गर्न सकिन्छ । एक महिनाअघि मात्रै निकुञ्जमा नेपालकै लागि नयाँ प्रजातिको चरा लेसर ग्रे स्राइक नामक चरा अभिलेख गरिएको थियो । चिनियाँ बकुल्ला अभिलेख भएसँगै निकुञ्जमा चराको संख्या ४६१ पुगेको छ ।

प्रकाशित : असार १८, २०८० २१:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?