पर्यटकीय गन्तव्य बन्दै पाखेरी ताल
नवलपुर — केही वर्षअघिसम्म उजाड देखिने पुर्वी नवलपरासीको कावासोती १ हात्तीखोरको पोखरी ताल अहिले पर्यटकीय क्षेत्रको रुपमा विकास भएको छ ।
महाराजा धार्मिक वन तथा पोखरी ताल जलाशय निर्माण संरक्षण तथा उपभोक्ता समिति गठन गरेर अहिले पर्यटकीय क्षेत्रको पुर्वाधार विकास गरेपछि नांगो डाँडा हरियाली मात्र होइन, समितिको आयआर्जनको माध्यम बनेको छ । नवलपुर क्षेत्रमा सार्वजनिक स्थल र शान्त वातावरणको अभाव भएकाले पनि अहिले यहाँ आन्तरिक पर्यटक भीड लाग्ने गरेको स्थानीय बताउँछन् ।
ताल निर्माण, बाल उद्यान, मन्दिर तथा वनभोज स्थल, शान्त वातावरण भएकाले पर्यटकलाई आकर्षित गरेको छ । १० बिघा क्षेत्रफलमा फैलिएको स्थानमा जडीबुटीको वृक्षारोपण, बगैंचा निर्माण र वनभोज स्थलको लागि टहरा निर्माण भएको छ । यसलाई थप आकर्षक बनाउनका लागि तालको बीच भागमा मन्दिर निर्माण, सानो चिडिया घर, स-साना पोखरी, पानीको फोहरा र डुंगा सयरका लागि आवश्यक कामको तयारी भइरहेको पोखरी ताल जलाशय निर्माण संरक्षण तथा उपभोक्ता समितिका अध्यक्ष दर्शन भट्टराईले बताए । तर तालमा पानी नहुँदा डुंगा संचालन भएको छैन । पोखरी तालको नामले परिचित पर्यटकीय क्षेत्रमा नै तालमा पानी नहुँदा पर्यटकले डुंगा सयर गर्न पाएका छैनन् ।
पूर्व-पश्चिम राजमार्गको कावासोती फलफूल चोकबाट करिब ६ किलोमिटर उत्तरतर्फ महाभारत पर्वत श्रृंखलाको काखमा रहेको छ । यसलाई भविष्यमा चलचित्र सुटिङको खुला स्टुडियोको रुपमा विकास गर्ने स्थानीयको योजना छ ।
प्रकाशित : वैशाख ६, २०८१ १६:३६