१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

भोट दिने भन्दा माग्नेको भीड

इलाम-२ मा हुन लागेको उपनिर्वाचनमा उम्मेदवारले बाहिरबाट ओसारेका कार्यकर्ताको भीड बाक्लो देखिएपनि चुनावी गतिविधिमा स्थानीयको उपस्थिति पातलो छ ।
लक्ष्मी गौतम

इलाम — उपनिर्वाचनको मिति नजिकिँदै गर्दा इलाम क्षेत्र नं २ मा चुनावी गतिविधिहरु बढेका छन् । तर यस्तो गतिविधिमा स्थानीय मतदाताको संख्या भन्दा निर्वाचन क्षेत्र बाहिरका मान्छेकै भीड बढी छ । बुधबार मात्रै देउमाइ नगरपालिकाको केन्द्र मंगलबारेमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित नेताहरुले चुनावी सभालाई सम्बोधन गरे ।

भोट दिने भन्दा माग्नेको भीड

जसमा स्थानीयभन्दा मोरङ, झापा र पाँचथरबाट आएका कार्यकर्ताको संख्या ठुलो थियो । वैशाख ५ गते इलाम चोक बजारमा आयोजित पहिचान पक्षधर नेता डकेन्द्रसिंह थेगिमको पक्षमा माहौल बनाउन धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको नेतृत्वमा झाँकी सहितको कार्यक्रम भएको थियो । सो कार्यक्रममा पनि झापा, मोरङ र पाँचथरबाट मात्रै आएका थिएनन्, ५ वटा बसमा कार्यकर्ताहरु धरानबाटै आएका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बुको चुनावी कार्यक्रम र दौडधुपमा पनि स्थानीय भन्दा केन्द्र र अन्य जिल्लाबाट आएकै नेता कार्यकर्ताको भीड धेरै देखिन्छ । रास्वपा र पहिचान पक्षधर उम्मेदवारलाई भोट माग्न आयोजना हुने अधिकांश कार्यक्रममा वक्तादेखि सांस्कृतिक टिममा गीत गाउाने र नाँच्ने कलाकार पनि काठमाडौँ र अन्य जिल्लाबाट झिकाइएको छ ।

सबैजसो दलहरु भोट माग्न झिसमिसे बिहानदेखि राति ९/१० बजेसम्म खटिएका छन् । तर स्थानीय मतदातामा भने उतिसारो उत्साह छैन । इलाम चोक बजारदेखि एकसय मिटर नजिकै तरकारी पसल गर्दै आएकी चन्द्रमाया कार्की यस पटकको चुनावमा कुनै पनि दल र उम्मेदवारको भाषण सुन्न चोक निस्केकी छैनन् ।

हुल बाँधेर ठुलो आवाजको संगीत र नारा जुलुससहित भोट माग्नु आवश्यक छैन जस्तो उनलाई लाग्न थालेको छ । भनिन्, ‘छिन छिनमा फरक रङका झण्डा र चुनाव चिन्ह लिएर मान्छेका भीड देखाउँदैमा भोट दिइहाल्लान् भन्ने सोचेका हुन्, अब हामी जनता बाठा भइसक्यौं । मनले खाएको उम्मेदवारलाई दिन्छौं ।’

उनको प्रश्न छ, ‘उम्मेदवार र दलका नेताले सम्वोधन गर्ने कार्यक्रममा एक अर्कालाई गर्ने गाली गलौज र आश्वासन धेरै हुन्छन्, जनताका कुरा सुन्दैनन्, आफ्नै मात्र सुनाउँछन्, अघिल्ला चुनावमा दल र उम्मेदवारले दिएका आश्वासन पुरा भएनन्, भाषण सुनेर किन समय खर्च गर्नु ?’

इलाम बजारकै मोहन सापकोटालाई उम्मेदवार र तिनका समर्थकले कानको जाली फुट्ने गरी माइक बजाएर मतदातालाई झर्को लगाउनु भन्दा घरदैलोमा गएर आफू जस्तै सर्वसाधारणका दुःख पीडा बुझिदिउन् जस्तो लाग्न थालेको छ । उनले भने, ‘पहिले पहिले खुब रौस हुन्थ्यो, कार्यक्रम सुन्न र हेर्न निकै टाढा पुगिन्थ्यो, आजकल दिक्क लाग्न थाल्यो ।’

इलाम क्याम्पसका प्राध्यापक तथा विश्लेषक अरुण नेपाल दलहरुको चुनावी सैली भड्किलोसँगै वातावरणमैत्री नभएको टिप्पणी गर्छन् । ठुलो जमातमा हो हल्ला गर्दै हिँडेर मतदाताको मन जित्न नसकिने उनको टिप्पणी छ ।

उनले भने, ‘इलाममा प्रायः राजनीतिक दलले गर्ने कार्यक्रम,आम सभा र कोण सभामा जनसमर्थन देखाउन अन्यत्रबाट मानिस ल्याएर भीड देखाउनेहरुको होडबाजी देखिन्छ, ध्वनि यन्त्रको जथाभावी प्रयोग र प्रचार सामग्रीका कारण ध्वनि र वातावरण प्रदुषण हुनेमा कसैको ध्यान गएको देखिन्नँ, यस्ता क्रियाकलापले मतदाताको आकर्षण गर्दैन ।’

रणनीति बदल्दै कांग्रेस

देउमाइ नगरपालिका-१ राँके बजारमा मंगलबार आयोजित चुनावी सभामा निर्वाचित जनप्रतिनिधि र अगुवा कार्यकर्ता भेलामा कांग्रेस नेता नरेन्द्रकुमार केरुङले चुनावको सम्मुखमा आयोजना हुने मोटरसाइकल र्‍याली, जुलुस र आमसभा प्रत्युत्पादक हुने भन्दै अरु भन्दा फरक स्वरुपमा मतदाता भेट्न सुझाए ।

उनले २०७० सालको संविधान सभा र २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा मोटरसाइकल र्‍याली र आम सभामा जम्मा भएको भीडकै कारण रातारात विपक्षीले रणनीति बदल्दा पाँचथरमा आफूहरुले चुनाव हारेको अनुभव समेत सुनाए ।

उनको सुझावलाई कांग्रेस उम्मेदवार डम्बर खड्काले अनुसरण गर्ने जनाएका छन् । कांग्रेसले चुनावी रणनीति केही फरक बनाएको छ । चुनाव प्रचारको कमाण्डरका रुपमा इलाममै खटेका महामन्त्री विश्वप्रकाश शर्माले यसपटकको उपनिर्वाचनमा कांग्रेस आरोप प्रत्यारोप र शक्ति प्रदर्शन गर्नुपर्छ भन्ने मान्यताबाट निकै टाढा रहेको दाबी गरे ।

प्रकाशित : वैशाख ६, २०८१ २०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?