१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

खै खोलो, सुक्यो !

पाँचथरको हिलिहाङमा ३० करोड खर्च भएको खानेपानी आयोजना खोला सुकेपछि अलपत्र, स्थानीय दुई घण्टा दूरीबाट पानी ओसार्न बाध्य
लक्ष्मी गौतम

पाँचथर — हिलिहाङ–७ की २७ वर्षीया सुष्मी योक्पाङ्देन आठ महिनाकी गर्भवती छिन् । तर पनि उनलाई आधा घण्टा दूरीमा पर्ने चुक्फाराको जरुवा धारा पुगेर पानी नल्याई सुख छैन । वैशाखयता बिहान, दिउँसो र साँझ दैनिक तीन पटक उनलाई पानी लिन जरुवा धाउनुपर्ने बाध्यता सुरु भएको हो । यो बस्तीका अन्य तीन सय पचास घरधुरी पनि खानेपानीका लागि यस्तै दुःख बेसाउनुपर्ने बाध्यतामा छन् । 

खै खोलो, सुक्यो !

साविक भारपा गाविस ६, ७, ८ र ९ वडाका स्थानीयको खानेपानीको दुःख टार्न २०६९ सालमा ३० करोड रुपैयाँ लागतको खानेपानी आयोजना सुरु गरिएको थियो । तर, आयोजनाको मुहान १२ वर्ष नबित्दै सुक्यो । सुष्मीले भनिन्, ‘चैतसम्म दुःखले १०–१५ लिटर आउँदै थियो, वैशाख लागेपछि एकथोपो आएको छैन ।’ खानेपानीको मुहान सुकेपछि आयोजनाको पानी उपयोग गरिरहेका ३ सय ५० उपभोक्तामध्ये ४५ घरका उपभोक्ता दुई घण्टा दूरीबाट पानी बोक्न बाध्य छन् । अन्य घरधुरीले पनि पानीका लागि उठाइरहेको सास्तीको कथा सामान्य छैन ।

हिलिहाङ–७ को टाहारीकी रुकमाया राई उमेरले ८० वर्ष पुगिन् । खानेपानीको दुःखले उनलाई पनि छोडेन । बुढेसकालमा पनि उनी डोकोमा जर्किन र बोतल बोकेर मुहान धाउन बाध्य छिन् । उनले जीवनमा पहिलो पटक यत्तिको ठूलो खानेपानी संकट आइलागेको सुनाइन् । भनिन्, ‘हुन त भारपा आफैंमा सुक्खा ठाउँ हो, साँचेखोलाको पानी नल्याइन्जेल बोकेरै काम चलाइन्थ्यो, तर त्यो बेला ठाउँठाउँमा स–साना जरुवा धारा र कुवा थिए, पछिल्लो समय एक दुईबाहेक सबै सुके ।’

साँचेखोला खानेपानी आयोजनाको मुहानभन्दा ठीक २ सय ५० मिटर जोरपोखरीदेखि एकतिन मेमेङ सडक कालोपत्रेका लागि सडक चौडा गर्ने काम (ब्याक कटिङ) भइरहेको छ । सडक निर्माणका लागि एक वर्षयता सोही क्षेत्रमा एक्स्काभेटरहरू पनि चलिरहेका छन् । भारपा गाविसका पूर्वअध्यक्ष समेत रहेका खानेपानी उपभोक्ता समिति अध्यक्ष तिलविक्रम इदिङ्गोले सडक निर्माणका क्रममा प्रयोग भएका ठूला मेसिनको कारण मुहान सुकेको हुन सक्ने बताए । उनले यो विषयमा प्राविधिक अध्ययन जरुरी रहेको बताउँदै भने, ‘योजना सञ्चालनमा आएपछि कहिल्यै समस्या देखिएको थिएन । सधैं सङ्लो पानी आउँथ्यो । सडक निर्माण सुरु भएपछि गत वर्षात्मा पूरै धमिलो पानी आयो । यो वर्ष त मुहान नै सुक्यो ।’


खानेपानीको मुहान नै सुकेपछि वैशाख १५ गतेदेखि उपभोक्ता समितिको अगुवाइमा दमकल र ट्यांकरबाट पानी ओसारेर उपभोक्ताका धारासम्म पानी पुर्‍याउने प्रयास गरिएको छ । जसका लागि पानी ओसार्न फिदिम नगरपालिकाले सबै खर्च आफैं व्यहोर्ने गरी दमकल उपलब्ध गराएको छ भने हिलिहाङ गाउँपालिकाले इन्धनको खर्च व्यहोर्ने गरी एउटा ट्यांकर प्रबन्ध गरिदिएको छ ।

हिजोआज हरेक दिन चार हजार लिटर पानी बोक्ने दमकल र ५ हजार लिटर पानी बोक्ने ट्यांकर २५ किलोमिटर टाढाको हेवा खोला नजिकैको मुहानमा पुग्छन् । पानी भरेर फर्किन्छन र साँचेखोला खानेपानी आयोजनाको ट्यांकीमा भर्छन् । यही पानी पाइपमार्फत उपभोक्ताको घरघरमा पुग्छ । खानेपानी उपभोक्ता समिति अध्यक्ष तिलविक्रम इदिङ्गोले दमकल र ट्यांकरबाट ओसारेको पानीले ट्यांकी भर्न नसकिए पनि थोरै थोरै पानी दिन बिराएर धेरै अभावग्रस्त ठाउँमा पठाउन थालिएको बताए । उनका अनुसार दमकल र ट्यांकर दुवैले दिनमा २ पटक पानी ओसारेर ट्यांकीको पाइपलाइनमा पुर्‍याउन भ्याउँछन् ।

यसरी ओसारिएको पानी अहिले तीन सय ५ घरधुरीमा तीन/तीन दिनको पालो गरेर वितरण गरिएको छ । यसरी ओसारिएको पानी प्रत्येक उपभोक्तालाई २० देखि २५ लिटर मात्रै पुग्छ । तीन दिनमा आउने यति थोरै पानीले कसैलाई पनि पुगिरहेको छैन । वडा सदस्यसमेत रहेका हिलिहाङ–७ का रामकुमार माझी बस्तुभाउलाई लखेट्दै खोलामा लगेर पानी खुवाए पनि मान्छेलाई खानकै निम्ति पानीको हाहाकार भइरहेको बताए । भने, ‘पालो कुरेर दुःखले २५ लिटर पानी पाइन्छ । त्यही थापेर गुजारा चलाउनुपरेको छ । यस्तो समस्या यसअघि कहिल्यै भोगेका थिएनौं ।’

हिलिहाङ गाउँपालिकाका अध्यक्ष समरबहादुर अधिकारीले तत्काल वर्षा हुने नदेखिएकाले खानेपानी समस्या समाधान हुने सम्भावना नरहेको बताए । अध्यक्ष अधिकारीले ट्यांकरबाट पानी ओसार्न मात्रै दैनिक २० हजार रुपैयाँको इन्धन खर्च भइरहेको बताए । उनले भने, ‘सानोतिनो पानी परे पनि साँचेखोला मुहानमा पानी उम्रिएर पाइप भरिने सम्भावना देखिँदैन ।’


प्रकाशित : वैशाख २७, २०८१ ०६:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?