कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४५

इजरायल-हमास अस्थायी युद्धविराम : विपिनसहित बन्धक परिवारलाई जीवनको आशा

बमबारीले सयौं घरका संरचना ध्वस्त छन्, विस्थापितहरू आफ्ना सामान गाडामा लोड गरिरहेका छन्, पोका बाँधी काँधमा झोला झुन्ड्याएर अस्थायी आश्रय छाडिरहेका छन्
होम कार्की

काठमाडौँ — युद्धविराम हुनुभन्दा एक घण्टाअघि गाजा क्षेत्रमा चर्को लडाइँ भयो । बन्दुक, तोप र रकेटका डरलाग्दा आवाज ४० मिनेटसम्म लगातार गुन्जिरहे । इजरायलको दक्षिण क्षेत्र र गाजामा त्यसरी पड्केका गोली र बारुद्धको धूवाँ १५ मिनेटसम्म आकाशमा मडारिइरहेका थिए । अक्टोबर ७ को बिहान ६ बजेबाट सुरु भएको युद्ध ४९ औं दिन शुक्रबारसम्म चलिरह्यो । चारदिने अस्थायी युद्धविराम गर्न इजरायल र हमासबीच सहमति भएपछि बिहान ७ बजेबाट युद्ध रोकिएको छ । 

इजरायल-हमास अस्थायी युद्धविराम : विपिनसहित बन्धक परिवारलाई जीवनको आशा

हमासको अप्रत्याशित आक्रमणमा परी १० नेपाली विद्यार्थीसहित १२ सय इजरायली मारिएका छन् । नेपाली युवा विपिन जोशीसहित २ सय ४० जनालाई हमासले बन्धक बनाएको छ । बन्धक छुटाउने र हमासलाई निमिट्यान्न बनाउने भन्दै इजरायलले गाजा क्षेत्रमा सुरु गरेको जवाफी आक्रमणमा १४ हजारभन्दा बढी प्यालेस्टिनी नागरिक मारिएका छन् । जसमा ६ हजार १ सय ५० बालबालिका र चार हजार जना महिला रहेको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ । १७ लाख प्यालेस्टिनीहरू आन्तरिक रूपमा विस्थापित भएका छन् ।

अस्थायी रूपमा सुरु भएको युद्धविरामले गाजा र इजरायलका नागरिकले मात्रै शान्तिको सास फरेका छैनन्, कञ्चनपुरमा रहेका विपिनका बुबाआमाले पनि आशाको महसुस गर्न पाएका छन् । ‘विश्वमा सबै ठाउँमा शान्ति भइदिए हुन्थ्यो । गाजा र इजरायलमा पनि शान्ति भइदिए हुन्थ्यो । यो युद्धविरामले शान्ति छाउला भन्ने लागेको छ र विपिनको बोली सुन्न पाउने आशा जागेको छ,’ विपिनका बुबा महानन्द जोशीले कान्तिपुरसँग भने, ‘जबसम्म उसको बोली सुन्न पाइँदैन, हाम्रो मनले शान्ति पाउँदैन । युद्धविरामले गर्दा सुखद समाचारको पर्खाइमा छौं ।’

विपिनको बुबाआमा जसरी तड्पिएका २ सय ४० जना परिवारमध्ये १३ जना इजरायलीले आफ्ना बन्धकलाई शुक्रबार राति भेट्न पाए । चारदिने युद्धविराममा ५० जनालाई रिहाइ गर्न हमास तयार थियो । जसमध्ये १३ जना रेडक्रसलाई जिम्मा लगायो । रेडक्रसले इजिप्टको रफ्फाबोर्डर हुँदै इजरायली सेनालाई जिम्मा लगायो । इजरायली सेनाले मुक्त भएका बन्धकको स्वास्थ्य परीक्षण गरी परिवारको जिम्मा लगाएको छ । इजरायलले १३ जना इजरायली बन्धकमुक्त गरेपछि ३९ जना प्यालेस्टिनी कैदीलाई रिहाइ गरिदिएको छ । यही प्रक्रिया सोमबारसम्म चल्नेछ । बन्धक भएका १० जना थाई र १ जना फिलिपिनो नागरिकलाई पनि रिहाइ गरिएको शुक्रबार सार्वजनिक भएको छ । नेपालीसँगै कृषिमा कार्यरत

३२ जना थाई श्रमिक हमासको आक्रमणमा मारिएका थिए भने २३ जना बन्धक बनाइएका थिए । विपिनलाई पनि थाई श्रमिकसँगै बन्धक बनाएर लगिएको थियो । इजरायलमा रहेका थप कैदीहरू रिहाइ गर्ने सर्तमा आफ्नो नियन्त्रणमा रहेका इजरायली सैनिकबाहेकका सर्वसाधारणलाई छोड्ने पक्षमा हमास देखिन्छ । हमासको दाबीअनुसार इजरायलमा ७ हजार प्यालेस्टिनी जेलमा छन् । त्यसमध्ये यो चार दिनभित्र १ सय ५० जनाको रिहाइ हुनेछ । ती सबै १८ वर्ष वा कम उमेरका व्यक्ति र महिला छन् । कैदीहरूमाथि आतंकवादलाई समर्थन गर्ने, हिंसात्मक गतिविधि गर्ने र ढुंगा हान्नेजस्ता अपराधको अभियोग लगाइएको छ । इजरायलले हमासद्वारा थप ५० जना बन्धक छाडिदिए उसले पनि १ सय ५० जना प्यालेस्टिनी छोडिदिने सार्वजनिक गरिसकेको छ ।

युद्धविराम सुरु भएदेखि नै आन्तरिक रूपमा विस्थापित भएका प्यालेस्टिनी नागरिक घर फर्किन आतुर देखिन्थे । उनीहरू गाजाको उत्तरी क्षेत्रबाट विस्थापित भई दक्षिणी क्षेत्रमा गएर बसेका छन् । इजरायली सेनाले भने युद्ध अझै समाप्त भएको छैन भनी चेतावनी दिँदै उत्तरी क्षेत्र नफर्कन अपिल गरेको छ । ‘यो मानवीय युद्धविराम अस्थायी हो,’ इजरायल डिफेन्स फोर्सका प्रवक्ताले भिडियो पोस्टमा भनेका छन्, ‘गाजा क्षेत्र एक खतरनाक युद्ध क्षेत्र हो । यसलाई उत्तरतर्फ जान निषेध गरिएको छ । सुरक्षाका लागि दक्षिणमा नै बस्नुपर्छ ।’

चार दिनपछि पनि १० जना बन्धक छाडिदिए एक दिन युद्धविराम थप्ने पक्षमा इजरायल रहेकाले अस्थायी युद्धविराम लम्बिने देखिएको छ । कतारद्वारा मध्यस्थता गरिएको युद्धविरामले गाजा क्षेत्रमा गहिरिँदै गएको मानवीय संकटलाई सहायता बढ्नेछ । यहाँ इन्धन, पानी र पीठोको अभाव छ । कुनै बेकरीहरू सञ्चालनमा छैनन् । सम्झौताअनुसार प्रत्येक दिन राहत सामग्री बोकेका २०० ट्रक र चार इन्धन ट्रक गाजा प्रवेश गर्नेछन् । विश्व खाद्य कार्यक्रमले खाद्यान्न ढुवानीका लागि एक सयभन्दा बढी ट्रक तयार रहेको जनाएको छ । इजिप्टले दैनिक १ लाख ३० हजार लिटर डिजेल र चारवटा लरी ग्यास ढुवानी गरिने जनाएको छ ।

बमबारीका कारण सयौं घरका संरचना ध्वस्त छन् । खानयुनिसमा विस्थापित प्यालेस्टिनीहरूले आफ्ना सामान गाडामा लोड गरिरहेका भिडियो सार्वजनिक गरेका छन् । आफ्ना सामानको पोका बाँधेर, काँधमा झोला झुन्ड्याएर उनीहरू अस्थायी आश्रय छाडिरहेका छन् । विस्थापित प्यालेस्टिनी जाकहानियाले आफूलाई खुसी र

दुःखी थाहा नभएको बताए । ‘हामीलाई थाहा छैन, कहाँ खुसी वा दुःख छ । हाम्रा घर भत्किएका छन् । हृदय टुटेको छ,’ उनले अलजजिरालाई भनेका छन्, ‘गाजामा अहिले सबै भत्किएको छ । हामीलाई थाहा छैन, यसपछि जीवन कसरी चल्नेछ ।’

प्यालेस्टिनीहरूले दिगो युद्धविरामको आशा गरेका छन् । जबलियाबाट विस्थापित मोहम्मद मेकबिलले युद्धविरामका बारेमा धेरै खुसी लागे पनि अझै घर जान सकिने अवस्थामा नरहेको बताए । ‘हामी उत्तरी क्षेत्रका बासिन्दा हौं । बमबारीका कारण भागेका थियौं । आफ्नो घर बस्न सक्षम छैनौं । यो एक त्रासदीपूर्ण अवस्थामा एक पटक हाम्रो घर हेर्न चाहन्छौं,’ उनले बीबीसीसमक्ष भनेका छन्, ‘हामी मृत्यु भएका आफन्त, घाइतेहरूलाई हेर्न चाहन्छौं । हाम्रा बच्चा भेट्न देख्न चाहन्छौं । आशा गर्छौं, यो युद्धविराममा सबैजना घर फर्कन सक्नेछन् ।’

प्रकाशित : मंसिर ९, २०८० ०६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एमाले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले अब तत्काल के गर्नुपर्छ ?

×