वीरगन्जको हरिखेतान बहुमुखी क्याम्पसमा तोडफोड

भूषण यादव

वीरगन्ज — कक्षा १२ को जारी परीक्षामा पर्यवेक्षकहरुले अमर्यादित व्यवहार गरेको भन्दै परीक्षार्थीहरुले आइतबार वीरगन्जको हरिखेतान बहुमुखी क्याम्पसमा तोडफोड गरेका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको थियो । 

वीरगन्जको हरिखेतान बहुमुखी क्याम्पसमा तोडफोड

परीक्षार्थीले हानेको ढुंगामुढाले क्याम्पस परिसरमा रहेको बस र मोटरसाइकलहरुमा क्षति पुगेको छ । क्याम्पसको झ्यालको सिसासमेत फुटेको छ । तीनजना परीक्षार्थी घाइते भएका छन् ।

आन्दोलनरत परीक्षार्थीका अनुसार अनुगमनको नाममा उत्तरपुस्तिका खोसिदिने, पेन खस्दा पनि उभ्याई दिने लगायतका गतिविधि शिक्षकहरुले परीक्षा सुरु भएको पहिलो दिनदेखि नै गर्दै आएका थिए । ‘आइतबार दोस्रो दिनको परीक्षामा समेत त्यस्तै व्यवहार दोहोरियो,’ एक परीक्षार्थी भन्छन्, ‘सबैको अगाडि नांगो पारेर घुमाउनेजस्ता अपशब्द प्रयोग गरिएको छ ।’

आइतबारको परीक्षा सकिएपछि परीक्षार्थीहरु भेला भएर क्याम्पसविरुद्ध नाराबाजी गर्दै तोडफोडमा उत्रिएका थिए । नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालय पुगेका परीक्षार्थीले आइतबारको परीक्षा रद्द गर्ने र परीक्षा सेन्टर परिवर्तनको माग राखेका थिए ।

वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक पुष्कर बोगटीले स्थिति तनावग्रस्त बनेपछि प्रहरी परिचालन गरिएको बताए । कसैको उक्साहटमा आएर वीरगन्जको एनआई कलेजका विद्यार्थीहरुले तोडफोड गरेको हरिखेतान बहुमुखी क्याम्पस प्रमुख किशोरी रायले जनाए । तोडफोडबाट क्याम्पसलाई भएको क्षति एनआई कलेजले दिनुपर्ने रायले बताएका छन् ।




प्रकाशित : वैशाख १६, २०८१ १६:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्थानीय तहको २६ प्रतिशत वित्तीय अनुदान कटौती गर्ने सरकारको निर्णयबारे तपाईं के धारणा छ ?