१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

बालमन्दिरको जग्गा हिनामिना प्रकरण : बाल संगठनले दियो सीआईबीमा जाहेरी

मातृका दाहाल

काठमाडौँ — बालमन्दिरको जग्गा हिनामिनाबारे अनुसन्धान गर्न नेपाल बाल संगठनले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा जाहेरी दिएको छ । तत्कालीन पदाधिकारी तथा कर्मचारी र बिचौलियाको मिलेमतोमा जग्गा ठगी तथा हिनामिना गरेको भन्दै बिहीबार सीआईबीमा जाहेरी दर्ता भएको हो । सीआईबीका एसपी होबिन्द्र बोगटीले बालमन्दिरको जग्गा ठगी गरेको कसुरमा अनुसन्धागन गरी पाउँ भन्दै नेपाल बाल संगठनको तर्फबाट जाहेरी दर्ता भएको पुष्टि गरे । 

बालमन्दिरको जग्गा हिनामिना प्रकरण : बाल संगठनले दियो सीआईबीमा जाहेरी

संगठनका तत्कालीन पदाधिकारी, कर्मचारी, शक्ति केन्द्र र स्वार्थ समूहको योजनामा २९ रोपनी ४ आना जग्गा बृहस्पतिलाई २१३१ सालसम्मका लागि लिजमा दिने गरी भएको सम्झौता भएको थियो ।

२०२१ मंसिर १७ गते राजपत्रमा सूचना प्रकाशित गरी सरकारले तत्कालीन राणा परिवार (अहिले बाल मन्दिरको रहेको) को ११९ रोपनी भन्दा बढी जग्गा अधिग्रहण गरी सरकारको नाममा ल्याएको थियो । त्यसपछि अनाथ तथा असहाय बालबालिकाको रेखेदख एवं संरक्षणका लागि भन्दै बालमन्दिर स्थापना गरिएको थियो । उक्त जग्गा बालमन्दिरले नै भोगचलन गर्दै आएकोमा २०४९सालबाट जग्गा भाडामा लगाउने नाममा हिनामिनाको क्रम सुरु भएको थियो ।

बाल मन्दिरमा बृहस्पति स्कुल सञ्चालन गर्न दिने सम्झौता खारेज

२०४९ देखि साढे २ दशकसम्म बाल संगठनको अध्यक्ष रहँदा रीता सिंह वैद्य र उनको कार्यसमितिका पदाधिकारी एवं कर्मचारीको मिलेमतोमा बाल मन्दिरको जग्गामा बृहस्पतिले रजगज गरेको देखिएको हो । पछिल्लो पटक २०७२ सालमा सव लिज सम्झौता गरी उनै वैद्यले बृहस्पतिसँग पहिले भएको लिज अवधि १६ वर्ष बाँकी छँदै थप ४३ वर्ष (विसं २१३१ सम्म) का लागि बाल मन्दिरको जग्गा सुम्पिएकी थिइन् ।

बृहस्पतिलाई जग्गा लिजमा दिएबापत संगठनले वार्षिक ९० लाख रुपैयाँ भाडा पाउने गरी सम्झौता भएको थियो । त्यसपछि बृहस्पतिले लिजमा जग्गा लिएपछि ५ रोपनीमा भारतीय बोर्डबाट सञ्चालित ‘राय स्कुल’ लाई सव लिज दिएर वार्षिक ६० लाख असुल्दै आएको थियो । २०४८ को आम निर्वाचनपछि बनेको सरकारले रीता सिंह वैद्यलाई संगठनको अध्यक्ष नियुक्ति गर्‍यो । वैद्य गणेशमान सिंहकी छोरी र हालका कांग्रेस नेता प्रकाशमान सिंहकी दिदी पनि हुन् । वैद्य संगठनमा छिरेसँगै बृहस्पति विद्या सदन पनि बाल मन्दिरमा भित्रिएको हो ।

हिनामिनाको विषय बाहिरिएपछि गत साता मात्रै नेपाल बाल संगठनले आन्तरिक छानबिन र विगतका अध्ययन प्रतिवेदनका आधरमा बृहस्पति विद्या सदनसँग विसं २१३१ सम्म लिजमा दिनेगरी भएको सम्झौता समेत रद्द गरिसकेको छ । त्यसपछि बिहीबार बालसंगठनले समग्र जग्गा अनियमितताबारे अनुसन्धानको लागि जाहेरी दिएको हो ।

प्रकाशित : वैशाख २७, २०८१ १२:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?