समग्र सहकारी समस्याबारे संसदीय छानबिन हुनसक्छ, व्यक्तिलक्षित समितिको माग सम्भव छैन : महेश बर्तौला
काठमाडौँ — नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले नेपाली कांग्रेसले व्यक्ति विशेष संसदीय समितिको माग गरेको भन्दै
त्यस्तो संसदीय छानबिन समिति बनाउने कुरा असम्भव रहेको बताएका छन् ।
मंगलबार सभामुख देवराज घिमिरेले दलका शिर्ष नेताहरुसँग गरेको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एमालेका प्रमुख सचेतक बर्तौलाले यस्तो बताएका हुन्उ ।
उनले समग्र सहकारीपीडितले न्याय पाउनुपर्छ भन्नेकुरामा संसदीय छानबिन समिति बनाउन कुनै असहमति नरहेको बताए ।
‘२८ गतेदेखि संसद बैठक आरम्भ हुँदैछ । त्यो बैठकलाई प्रारम्भदेखि नै व्यवस्थित र प्रभावकारी ढंगबाट सबै राजनीतिक दलका शीर्ष नेताहरुले सम्बोधन गरेर आगामी बैठकहरु व्यवस्थित ढंगले चलाउने संकल्प गर्ने लगायका विषयवस्तुहरु उठेका छन् । नेपाली कांग्रेसले केही विषयहरु राखेका छन् । कांग्रेसले राखेका विषयवस्तुहरु किन न्यायोचित छैन भने उहाँहरु अमुक व्यक्ति विशेष गरी गृहमन्त्री लक्षित गरी मात्रै समितिको कुरा राख्नुभएको छ, त्यो कुरा सम्भव छैन, समग्र सहकारीपीडितले न्याय पाउनुपर्छ भन्नेकुरामा संसदीय छानबिन समिति बनाउने र भइरहेकै समितिमार्फत् काम गर्ने कुरा अस्वीकार्य छैन । फलानो व्यक्ति दोषी छ, फलानो व्यक्तिकेन्द्रित गरिएको छ, त्यसमा हाम्रो सहमति छैन । अरुलाई निषेध गर्ने तरिकाबाट उहाँहरुले प्रस्तुति दिइराख्नुभएको छ । पहिला कसैबारेमा प्रश्न उठेको भए निजले आफ्ना कुरा राख्न पाउनुपर्छ, नेपाली काँग्रेसलाई सुन्न मन छैन होला तर नेकपा एमालेलाई सत्य के हो सुन्न मन छ’ उनले भने ।
प्रकाशित : वैशाख २५, २०८१ १५:५५