२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१९

ट्विटरमा के गर्छन् बाबुराम ?

सरोजराज अधिकारी

काठमाडौं — पूर्वप्रधानमन्त्री एवं एमाओवादी नेता बाबुराम भट्टराई सभापति रहेको संवैधानिक, राजनीतिक संवाद तथा सहमति समितिलाई संविधानसभाभित्रका मात्र नभई...

ट्विटरमा के गर्छन् बाबुराम ?
पूर्वप्रधानमन्त्री एवं एमाओवादी नेता बाबुराम भट्टराई नयाँ संविधान निर्माण गर्ने सन्दर्भमा महत्त्वपूर्ण जिम्मेवारीमा छन् । उनी सभापति रहेको संवैधानिक, राजनीतिक संवाद तथा सहमति समितिलाई संविधानसभाभित्रका मात्र नभई बाहिरका दलसँग समेत छलफल गरी संविधानका विवादित विषयमा सहमति खोज्ने जिम्मेवारी छ । यस्तो निष्पक्ष भूमिकामा रहेका भट्टराईले फेसबुकमा समेत लिंक राख्दै सोमबार ट्विटर मार्फत विपक्षी मोर्चाको आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् । त्यसपछि सामाजिक सञ्जालमा उनको चर्को आलोचना सुरु भएको छ ।
'धिक्कार छ मलाई । संवैधानिक संवाद सहमति समितिका सभापतिले आम हडतालको सेड्युल गर्वका साथ राख्ने देशको नागरिक म,' सिकारु केटो ह्यान्डलबाट ट्विटरमा जनाइएको एउटा प्रतिक्रिया यस्तो छ । अधिकांशले त भट्टराईलाई गालीगलौज नै गरेका छन् । भट्टराईको एउटा अचम्मको शैली छ, उनी हत्तपत्ती गल्ती स्विकार्दैनन् । बरु पुनव्र्याख्या गर्दै आफ्नै तर्क जायज ठहर्‍याउन लाग्छन् । यो प्रक्ररणमा पनि त्यही गरे । भोलिपल्ट उनले ट्विटे, 'सडक संघर्ष/आन्दोलन लोकतन्त्रको अभिन्न अंग हो । आम नागरिक निरन्तर जागरुक रहेर सत्तामा रहनेहरूलाई खबरदारी गर्ने विधिको विकास गर्नैपर्छ । सबैले सोचौं ।'
संविधानसभाको रिपोर्टिर्ङका क्रममा भट्टराईसँग नियमितजसो भेट हुन्छ । बेलाबखत आफ्नो कार्यकक्षमा सञ्चारकर्मीलाई निम्त्याएर धारणा राखिरहन्छन् उनी । उनले संवाद सभापतिका रूपमा आफूले निर्वाह गरेको निष्पक्षताबारे प्रश्न नउठाउन अन्य दलका नेतालाई सञ्चारमाध्यम मार्फत आग्रह गर्दै आएका छन् । केहीअघि हामीले सोधेका थियौं, 'संवाद समितिको सभापति भएर विपक्षी मोर्चाको कार्यक्रममा सहमागिता जनाउन मिल्छ ?' उनले बचाउमा भने, 'म पार्टीको नेता पनि हो । त्यसैले मोर्चाका बैठकमा गएको हुँ तर मैले कुनै धारणा राखेको छैन ।'
संविधानसभाबाट चौथोपटक पाएको अन्तिम समयसीमा कात्तिक १६ सम्म सहमति जुट्न नसकेपछि उनले एक महिना अड्काएर अपूरो प्रतिवेदन पेस गरेका छन् । संवाद समितिलाई कि सहमति जुटाउन कि असहमतिका विषयमा प्रश्नावली तयार पार्ने जिम्मेवारी सुम्पिएको थियो । तर सभापति भट्टराईले दुवै नगरी अपूरो प्रतिवेदन बुझाएका हुन्, जसमाथि संविधानसभाभित्र बहस जारी छ । यद्यपि उनले चाहेर मात्र संविधान निर्माणको पेचिलो विषय हल हुने होइन, त्यसका लागि प्रमुख दलहरूका बीच सहमति आवश्यक छ । तर एउटा निष्पक्ष भूमिकामा बसेका उनी यतिखेर भने विपक्षी मोर्चाको आन्दोलनको खुला प्रचारमा लागेका छन् ।
केहीअघिमात्रै उनी नराम्रोसँग धार्मिक विवादमा मुछिए, कुलपूजा र पिताजीको ८४ पूजामा सक्रिय सहभागी भएकोमा । 'पूजा' शब्द उल्लेख नगरी डिसेम्बर ५ मा उनले ट्विट गरे, 'बुबा भोजप्रसाद भट्टराईले जीवनको ८४ वर्ष पूरा गरेको उपलक्ष्यमा जन्मथलोमा आयोजित कार्यक्रममा परिवारजन र गाउँलेहरूका साथ ।' पिताजी र पत्नी हिसिलासहित जग्गेमा बसेको तस्बिर पनि उनले पोस्ट गरे । त्यसपछि के थियो, युद्धकालमा उनी माओवादी जनसरकार प्रमुख रहँदा किरियापुत्रीको हत्या गरेको, पण्डितको टुप्पी काटेको सन्दर्भ उल्लेख गर्दै सामाजिक सञ्जाल प्रयोगकर्ता उनीमाथि खनिइहाले ।
उमेशराज सत्यालले ट्विटरमै प्रतिक्रिया लेखे, 'धेरैका बुबालाई अकालमै पठाइदिनुभो सर । नत्र उनीहरूले नि यसैगरी मनाउँथे होलान् है ?' अशोकले ट्विटे, 'बुवालाई बधाई र शुभकामना तर तपाईं जग्गेमा (यज्ञ) बसेको देख्दा सांस्कृतिक क्रान्तिमा छलाङ मार्नुभएछ बधाई ।' एमाओवादीनिकट नै मानिने एक अनलाइनमा युद्धकालमा मारिएका पण्डित नारायणबन्धु पोखरेलका छोरा दीनबन्धुले भट्टराईको धार्मिक कर्मप्रतिको पछिल्लो रुचिको प्रशंसा गर्दै प्रश्न गरे, 'बाबुराम अंकल, मेरा पिताजीलाई किन मारियो जवाफ पाउ“m ?' भट्टराईले विगतका त्रुटिप्रति न क्षमायाचना गरे न चौरासी पूजामा सहभागी हुनु आफ्नो पारिवारिक बाध्यता भएको भनेर बचाउ गरे । डिसेम्बर ६ मा उनले 'मेरो गोरुको बाह्रै टक्का' शैलीमा ट्विट गरे, 'पिताको ८४ मा नगएको भए कति निर्दयी कम्युनिस्ट भनिन्थ्यो । गएपछि कस्तो नक्कली कम्युनिस्ट भनियो । जे गरे पनि सुख नदिने परपीडक/निन्दक प्रवृत्तिलाई के गर्ने ?' त्यतिमात्र नभएर एक दैनिक पत्रिकामा उनले धर्मबारे आफूले राखेको धारणा पनि सेयर गरे ।
हो, कुलपूजा, चौरासी पूजाजस्ता कार्य धर्मसँगमात्र नभएर संस्कृति, परम्परासँग पनि जोडिएका छन् । तर माओवादी युद्धकालमा क्रियापुत्रीमाथि भएको आक्रमणको पृष्ठभूमिमा भट्टराईको कार्य आलोचित बन्नु स्वाभाविक थियो । सुखद पक्षसँग जोडिने न्वारन, पास्नी, व्रतबन्ध, विवाह, पूजाजस्ता परम्परागत कार्यमा कसैको बाध्यात्मक अनुपस्थितिलाई अन्यथा लिइँदैन । तर दुःखद सन्दर्भसँग जोडिने क्रियाकर्मलगायतका कार्य लोकलाजका गरिनु र त्यसमा उपस्थिति जनाउनु अनिवार्यजस्तै छ । एक समय धर्मलाई 'अफिम' भन्ने, कम्युनिस्ट आन्दोलनमा लागेर विश्व बदल्ने सपना बाँड्ने भट्टराईले आफ्नै परिवारलाई बदल्न वा सम्झाउन नसकेकोलाई के भन्ने ?
भट्टराईको जग्गे बसाइबाट सबैभन्दा खुसी देखिए, हिन्दु राज्य पुनस्र्थापनाको पक्षमा सक्रिय राप्रपा नेपालका अध्यक्ष कमल थापा । थापाले डिसेम्बर ६ मा भट्टराई परिवार जग्गेमा बसेको तस्बिर पोस्टिँदै ट्विटे, 'यो तस्बिर देख्दा खुसी लाग्यो । यही पहिचान रक्षाका लागि हामीले आवाज उठाएका हौं । जसलाई समाप्त पार्न अहिले संगठित प्रयास भइरहेछ ।'
भट्टराईले मातापितालाई मनकामना, पिताजीलाई मानसरोवर कैलाश लगेको विषयले पनि सामाजिक सञ्जालमा निकै चर्चा पायो । एक समय दसैं-तिहार बहिष्कार गरेको माओवादीका नेता भट्टराईले दसैं-तिहारमा टीका माला लगाएका तस्बिर सामाजिक सञ्जालमा सगौरव राख्न थाले । आलोचना चुलिएपछि प्रस्टीकरण पनि दिँदै गए । अक्टुबर २६ मा उनले ट्विटे, 'दसैंमा मातापिता र तिहारमा दिदीबहिनीबाट टीका लगाउनु एउटा विशेष संस्कृति हो, कुनै धर्म हैन । धर्म मान्नु र संस्कृतिको सम्मान गर्नु एउटै कुरा हैन ।' मनकामना र कैलाश यात्राका बारेचाहिँ उनले कुनै प्रस्टीकरण दिएका छैनन् ।
पुसकै महिना चलिरहेकाले गत वर्षको एक दिन भट्टराईसँग भएको छलफलको स्मरण भयो । हामी केही सञ्चारकर्मी गत पुस २५ मा भट्टराईनिवास सानेपामा उनीसँग गफिँदै थियौं । प्रसंग आयो, भट्टराईकै प्रधानमन्त्रीत्वकालमा भारतसँग गरिएको द्विपक्षीय लगानी संरक्षण र प्रवर्द्धनसम्बन्धी सम्झौता- बिप्पाको । उनले त्यसबेला 'मुलुकमा विदेशी लगानी ओइराउन बिप्पामा जुवा खेलें' भन्नेसम्मको अभिव्यक्ति दिएका थिए । भारतसँग भएका १९५० देखिका विभिन्न असमान सम्झौता खारेज हुनुपर्छ भन्ने तपाईंले थप सम्झौता गर्नु सैद्धान्तिक रूपमै पनि गलत भएन र ? भनेर प्रश्न गरियो । सरकारबाट बाहिरिइसकेका भट्टराईले उत्तर दिए, 'अहिले त म आफैं बिप्पा गलत छ भन्छु । त्यसबेला मेरो नेतृत्वमा प्रगतिशील सरकार थियो, त्यस सन्दर्भमा त्यो सम्झौता ठीकै थियो । अहिले बुर्जुवा सरकार भएका बेला त त्यो उचित छैन ।' त्यसो भए बिप्पा गर्दा उनले सधैंभरि प्रधानमन्त्री भइरहन्छु भन्ने ठानेका थिए ?
ट्विटरमा मात्रै एक लाख १६ हजार फलोअर नाघिसकेका छन्, भट्टराईको । फेसबुक पेजमा साढे ७ लाखभन्दा बढीले लाइक गरेका छन् । सामाजिक सञ्जालमा सबैभन्दा धेरैले पछ्याएका नेता हुन उनी । सबैलाई मेन्सन नै गरेर जवाफ नदिए पनि प्रविधिको यस युगमा सामाजिक सञ्जालका मनमौजी नेपाली प्रयोगकर्ताका नोकझोक झेल्ने उनको प्रयत्न सराहनीय छ । मेन्सन नगरे पनि उनले आफ्नो धारणामाथि उठेका प्रश्नको सामूहिक उत्तर वा प्रस्टीकरण दिने गरेका छन् । सामाजिक सञ्जालमा उनले आफ्नो आकांक्षा र कुण्ठा पनि खुला रूपमा राख्ने गरेका छन् ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले एक वर्षपछि महाधिवेशन गरी नेतृत्व भट्टराईलाई दिने चर्चा चलिरहेको सन्दर्भमा पार्टीका युवा नेता वर्षमान पुनले एक अनलाइनलाई दिएको अन्तर्वार्ता उनले डिसेम्बर १९ मा सेयर गरे । जसमा पुनले भनेका छन्, 'नेतृत्वमा बाबुरामजी पनि आउन सक्नुहुन्छ ।' त्यस्तै अर्को अनलाइनमा आएको जनार्दन शर्माको अन्तर्वार्तालाई भने नजरअन्दाज गरे । शर्माले भट्टराईलाई इंगित गर्दै भनेका छन्, 'प्रचण्डले दिँदैमा कसैलाई अध्यक्ष मानिंदैन ।' आफ्नो र पार्टीको पक्षमा लेखिएका लेख, रचना, टिप्पणी उनी खोजीखोजी सामाजिक सञ्जालमा सेयर गर्छन् । प्रतिकूल टिप्पणीमाथि कडा प्रतिक्रिया लेख्छन् ।
त्यसैगरी कतिपय सन्दर्भमा उनले सामाजिक सञ्जाल मार्फत लुकाउन नसकेका कुण्ठा पनि व्यक्त गर्छन् । 'हासो नै सर्वोत्तम औषधि हो' भन्दै उनले मंगलबार एक दैनिकको कार्टुन सामाजिक सञ्जालमा सेयर गरे, जसमा एमाले अध्यक्ष ओलीलाई उखान, टुक्कामा मात्र सीमित नेताका रूपमा व्यंग्य गरिएको थियो । त्यसैगरी आइतबार 'नेपाल साप्ताहिक' को कार्टुन पनि उनले सेयर गरे, जसमा चलिरहेको हिन्दी सिनेमा 'पीके' को नेपाली अवतारका रूपमा प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष ओली र एमाओवादीकै अध्यक्ष दाहालमाथि व्यंग्य गरिएको थियो । 'पीके' सिनेमाको पोस्टरमा गोप्य अंग ट्रान्जिस्टरले छोपेका र बाँकी सर्वांग नग्न छन्, अभिनेता आमिर खान । कार्टुनमा पनि तीन नेतालाई त्यसैगरी चित्रित गरिएको छ ।
सामाजिक सञ्जालमा उनले लेखेका कतिपय टिप्पणी सतही पनि हुन्छन् । नोभेम्बर २७ मा उनले ट्विटे, 'आयो सार्क ढोल बजाइ । गयो सार्क ऋण बोकाइ ।' नितिजाले प्रतिक्रिया लेखिन्, 'यो तपाईंकै अकाउन्ट त हो ?' विश्वराज न्यौपानेले प्रतिक्रिया जनाए, 'दिनानुदिन तपाईंंको विद्वता स्खलन हुँदैछ । सार्कको आयोजक राष्ट्रकै भूतपूर्व प्रधानमन्त्रीले यस्तो नाथे कुरो गर्न लाज लागेन ?' तर भट्टराईले शब्द सन्तुलित हुन नसकेकोमा गल्ती स्विकारेनन् । बरु भारत-पाकिस्तानको द्वन्द्व कायम रहेसम्म सार्क प्रभावकारी नहुने आफ्नो ठहर सत्य साबित भएको भन्दै त्यतिन्जेल सार्क फजुल खर्च गर्ने थलोमात्र बन्ने जिकिर गरे ।
अक्टुबर २२ को उनको ट्विट पनि अचम्मको थियो । उनले लेखे, 'कुकुरप्रधान चलचित्र इन्टरटेनमेन्ट हेरेर कुकुर तिहार मनाइयो । मान्छेको सबभन्दा पुरानो र बफादार साथी कुकुरको जय होस् ।' अक्टुबर १ मा फोटोसहित उनले ट्विटे 'हाम्रा पुर्खाहरू २०-३० लाख वर्षपहिले अफ्रिकामा मासु काटेर खान सिक्दै ।' डा. धुवा नाम गरेका ट्विटेले 'दनक' दिइहाले, 'हाम्रो पालामा नखाको मात्रै त हो नि । काट्न त भयंकर काटियो नि है बोरो ।' नोभेम्बर १७ मा उनले फेसबुकमा लेखे, 'जो अगुवा उही बाटो ह.. भनेझैं देशमा विभिन्न राजनीतिक शक्तिहरूबीच समझदारी कायम गरेर समयमा संविधान निर्माण गर्न र शान्ति प्रक्रिया सार्थक निष्कर्षमा पुर्‍याउन अग्रणी भूमिका निभाउनुपर्ने देशको प्रधानमन्त्री नै कहिले विदेशी कूटनीतिज्ञहरू थुपारेर आन्तरिक राजनीतिक विवादको छारो उडाउने त कहिले आफंै संवाद समितिका सभापतिविरुद्ध हस्ताक्षर अभियानको नेतृत्व गर्ने भएपछि यो देशलाई पशुपतिनाथको कृपामा छोड्नुबाहेक के विकल्प रह्यो र ?'
आलोचनाबाट उनी निकै विचलित हुन्छन् । सामाजिक सञ्जालमा गरिएका आलोचना होइन, विभिन्न पत्रिकामा आएका सामग्रीको सन्दर्भ जोड्दै उनी कडा प्रतिक्रिया लेख्छन् । डिसेम्बर ११ मा उनले ट्विटे, 'एमालेका पत्रिकाले एमाओवादीविरुद्ध अनर्गल दुष्प्रचार गरेको देख्दा क. रोहितको भनाइ याद हुन्छ -बाघ देख्न बिरालो हेर्नु, शत्रु देख्नलाई साथीभाइ हेर्नु ।' यसो लेखिरहँदा अघिल्लो संविधानसभाको परिणामपछि उनीलगायतका नेताले कांग्रेस-एमालेलाई 'हरुवा-चरुवा' भनेर उडाएको, एमाओवादीनिकट सञ्चारमाध्यममा अन्य दलका नेताबारे आउने सामग्रीको सम्झनासम्म गरेनन् । आफ्नो प्रधानमन्त्रीत्वकालको पछिल्लो चरणमा सञ्चारमाध्यममा आलोचना हुँदा उनले विदेशीको इसारामा चलेको भन्नेसम्मको आरोप लगाए । एक भेटमा मिडियाले नै तपाईंको छवि निर्माणमा सघाएको होइन र ? आफ्नो देवत्वकरण हुँदासम्म त खुबै रमाइलो मान्नुभएको थियो नि ? भनेर प्रश्न गर्दा उनले स्पष्ट उत्तर दिएनन् ।

प्रकाशित : पुस १२, २०७१ ११:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?