कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

युरोपा च्याम्पियनका अनपेक्षित नायक

सन् १९७५ यता युरोपेली फुटबलको फाइनलमा ह्याट्रिक गर्ने पहिलो खेलाडी लुकमन 
एपी

डब्लिन — विश्व फुटबलले बुधबार एउटा अनपेक्षित उत्तर पाएको छ । प्रश्न थियो, सन् १९७५ यता युरोपेली फुटबलको फाइनलमा ह्याट्रिक गर्ने पहिलो खेलाडी को हुन सक्छ ? उत्तरमा एडेमोला लुकमन आयो । उनकै तीन गोलप्रेरित एटलान्टाले बायर लेभरकुजनलाई फाइनलमा ३–० ले हराएको छ र युरोपा लिग फुटबलको उपाधि जितेको छ ।

युरोपा च्याम्पियनका अनपेक्षित नायक

यही ऐतिहासिक प्रदर्शनमा सबैले लुकमनको प्रशंसा गर्न थालेका छन् । तर, सबै के मान्छन् भने उनी एकाएक अनपेक्षित नायक भए ।

पेनाल्टी एरियामा निकै सक्रिय देखिने लुकमन बलमाथि पनि सटिक सन्तुलन राख्छन् । फेरि उनको दुवै खुट्टा मज्जाले चल्छ । यिनै कारणले त यो सिजन उनी एटलान्टाका लागि ‘बबाल’ खेलाडी साबित भएका छन् । दुई वर्षअघि लुकमन पहिलो पटक एटलान्टा आएका थिए । प्रशिक्षक जियान पिएरो गास्पेरिनीलाई लागिरहेको थियो, टिमलाई विशुद्ध स्ट्राइकरमात्र आवश्यक छैन । उनको भनाइ थियो, ‘इंग्ल्यान्डमा लुकमन लगातार गोल गरिरहेका थिएनन् ।’

एटलान्टाले उनलाई लाइप्जिगबाट किनेको थियो । तर, त्यसयताको दुई वर्ष उनले ऋणमा फुलहम र लेस्टर सिटीमा बिताएका थिए । अझ उनले एभरटनमा विङ्गरको भूमिका पनि निभाए । लाइप्जिग गएयता उनलाई एटलान्टाका लागि बेचियो । इटालियन सिरी ‘ए’ मा आउँदा उनी २५ वर्षका थिए । त्यसअघि उनले एकै सिजन कहिले पनि १० गोल गरेका थिएनन् । तर, मीठो संयोग के भने दुई सिजन उनले १५–१५ गोल गरेका छन् ।

उनको जन्म लन्डनमा भएको हो । राष्ट्रिय टिमका लागि नाइजेरिया रोजे । उनले इंग्ल्यान्डका लागि यू–२० खेले र विश्वकप पनि जिते । पछि नाइजेरियाकै लागि खेल्ने निर्णय गरे । अहिले फाइनलमा ह्याट्रिक गरेपछि प्रमाणित नै भएको छ, लुकमनले पछिल्लो समय लय समातेका छन् । उनलाई परिवारको समर्थन त व्यापक नै छ, अफ्रिकाको चारैतर्फबाट माया छ । गास्पेरिनीले सबै पृष्ठभूमिबीच उनलाई खेलाडी भएर हुर्कन दिए ।

इटालीको बेरगामोमा जीवन आफैंमा शान्त थियो । त्यति कोलाहल थिएन, जति लन्डनमा हुने गर्थ्यो । गास्पेरिनीले फुटबलको व्यवस्थापन सम्हाल्न थालेको पनि २० वर्षभन्दा बढी भयो । उनी भन्छन्, ‘लुकमनसँग केही क्षणको कुराकानीपछि लाग्यो, यी खेलाडी अलिकति फरक छन् । मैले उनका लागि फुटबल आफूले जान्ने किसिमले सामान्य भएर खेल्न भने । उनले साँच्चै फरक ढंगले फुटबल खेले ।’ उनकै समय छोटो समय लिभरपुलमा पनि बताएका लुकमनका लागि अहिलेको सहर शान्त र सौम्य छ ।

उनी भन्छन्, ‘यो सहरले मेरो जीवन शैली सम्हाल्न मदत गर्‍यो । एटलान्टाले युरोपेली क्लब फुटबलको दोस्रो ठूलो उपाधि जित्दा लुकमनको परिवार रंगशालामै थियो । उनले आखिरमा एटलान्टालाई ६१ वर्षयता पहिलो उपाधि दिलाए । ‘म आफ्नो परिवारलाई धेरै माया गर्छु, म यहाँसम्म पुग्नुको सारा श्रेय यही परिवारलाई जान्छ ।’

फाइनल अगाडि एटलान्टाका कप्तान बेराट गिमसिटीले लुकमनलाई राम्रो खेल्नुपर्छ भनेर प्रेरित गरेका थिए । कप्तानले भनेका थिए, ‘लुकमनबाट धेरैभन्दा धेरै योगदान चाहिन्छ ।’

अर्को सिजन एटलान्टाले च्याम्पियन्स लिग खेल्ने निश्चित भएको छ । क्लबले चाहन्छ, लुकमनले अहिलेभन्दा अझ धेरै राम्रो खेलोस् । फेरि एकपल्ट इतिहासमै फर्कने हो भने सन् १९७५ को यूईएफए कपको फाइनलमा ह्याट्रिक भएको थियो । बोरुसिया मोन्चनग्लाडब्याकले ट्वेन्टीलाई ५–१ ले हराएको दोस्रो लेगको फाइनलमा ह्याट्रिक गर्ने खेलाडी थिए, जुप हेयनकेस ।

लुकमनले अहिले यस्तै ठुलो उपलब्धि चुमेका छन् । फाइनलपछि मिडियासँगको कुराकानीमा उनले भनेका छन्, ‘आज मैले आफ्नो खेलजीवनकै सबैभन्दा उत्कृष्ट प्रदर्शन गरें । मलाई आफ्नो खेलमा जहिल्यै पनि आत्मविश्वास थियो ।’ सानो सहरबाट आएको एटलान्टाको छवि नै प्रान्तीय क्लब जस्तो थियो । छिमेकी इन्टर मिलान र एसी मिलानको छायाँमा रह्यो । क्लब चलाउन बजेट पनि धेरै थिएन । तर अहिले यही क्लब अनौठोसँग चम्केको छ ।

अन्ततः लेभरकुजन पराजित

पूरा सिजन सकिन पाँचै दिनमात्र बाँकी छ, तर यसैबीच बायर लेभरकुजन र प्रशिक्षक जाभी अलोन्सोले पहिलो हार बेहोर्‍यो । नयाँ जर्मन च्याम्पियनका लागि बुधबार साँच्चै पीडादायी रह्यो । टोलीको ५२ खेलको अपराजित यात्रामा पूर्णविराम लागेको छ । टोलीलाई एटलान्टाले युरोपा लिगको फाइनलमा हरायो । ‘सिजनकै ५२ औं खेलमा आएर पराजित हुनु कसरी पचाउन सकिन्छ र ?’ अलोन्साले पनि मानेका छन् । उनी भन्छन्, ‘जतिबेला ठूलो र महत्त्वको निर्णायक खेलमा पराजित भइन्छ, यो दुःखद नै हुन्छ । फाइनलमा बेहोरेको यस्ता हार पूरा जीवनमा बिर्सन सकिन्न ।’

अब अलोन्सोसामु आफ्नो टिमलाई एक अर्को फाइनलका लागि तयार गर्ने जिम्मेवारी हुनेछ । शनिबार लेभरकुजनले जर्मन कपको फाइनल खेल्दै छ । प्रतिद्वन्द्वी छ, दोस्रो डिभिजनको क्लाइजस्लर्टन । ‘अब त यो फाइनल पनि उत्तिकै चुनौतीपूर्ण बन्नेछ,’ ४२ वर्षीय प्रशिक्षक मान्छन् ।

लिभरपुलका लागि युरोपेली च्याम्पियन्स लिगको फाइनल गुमाएको पीडा महसुस गरिसकेका अलोन्सो थप्छन्, ‘जतिबेला कोही उप–विजेतामै सीमित हुन्छ, स्थिति सम्हाल्न गाह्रै हुन्छ । हाम्रा लागि केही पनि सजिलो रहने छैन ।’ टिमभित्र सबै उत्तिकै निराश पनि छैनन् । प्रभावशाली मिडफिल्डर ग्रानेट जाका उत्साहित छन् । उनी जुलाईमै मात्र क्लबमा आबद्ध भएका थिए । त्यसयता उनले एउटै हार बेहोरेका थिएनन् ।

लेभरकुजनले अन्तिम पटक सन् २०२३ को मे २७ मा बोकमविरुद्ध हार बेहोर्दा जाका आर्सनलमै थिए । उनी भन्छन्, ‘इमान्दारितापूर्वक भन्ने हो भने हामी अविजित कीर्तिमानमा धेरै रुचि राख्दैनौं । हामीलाई यसमा मतलब नै छैन । यो फुटबल हो र खास खेलमा हामी पराजित रह्यौं । त्यसैले एटलान्टालाई धेरै बधाई ।’ अलोन्सो स्वयं के मान्छन् भने लेभरकुजनले यसपल्टको यात्रा जे जस्तो उपलब्धि प्राप्त गरेको छ, त्यो पनि आफैंमा ठूलो हो ।

जर्मन फुटबलमा लेभरकुजनको परिचय कहिल्यै कुनै उपाधि जित्न नसक्ने टिमका रूपमा थियो । धेरै अवसरमा लेभरकुजन उपाधि नजिक त पुग्यो, तर प्रत्येकपल्ट उपविजेतामै सीमित हुन्थ्यो । यस सिजन भने स्थिति फेरियो र लेभरकुजनले आफ्नो १ सय १९ वर्ष लामो इतिहासमै पहिलो पटक बुन्डेसलिगा उपाधि जितेको छ । अब यही लेभरकुजनसामु घरेलु लिगमात्र होइन, कप पनि जित्ने अवसर छ । धेरैको अपेक्षा छ, हुने यस्तै हो ।

प्रकाशित : जेष्ठ ११, २०८१ ०७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चालु आर्थिक वर्ष सकिन लाग्दा पनि दर्जनभन्दा बढी मन्त्रालयको पुँजीगत खर्च ४० प्रतिशतभन्दा कम हुनुको प्रमुख कारण के होला ?

×