कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८

डाँका-चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ गर्न गएको प्रहरी र स्थानीयबीच झडप

रुपा गहतराज

नेपालगन्ज — बाँकेको डुडुवा गाउँपालिका–६ सिख्खन पुरुवामा ११ वर्षदेखि फरार डाँका-चोरी मुद्दाका प्रतिवादीलाई पक्राउ गर्न गएको प्रहरी टोली र स्थानीयबीच झडप भएको छ ।

डाँका चोरी मुद्दामा फरार सिख्खन पुरुवाका ५५ वर्षीय सन्नाम भनिने सरमानसिंह सरदारलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि बिहीबार बिहान स्थानीयवासीले ढुंगामुढा गरेका थिए ।

सरमानसिंह सरदारलाई २०७० असार १८ गते जिल्ला अदालतले ६ वर्ष सजाय र १२ हजार जरिवाना तोकेको थियो ।

सरदारलाई पक्राउ गरेर ल्याउने क्रममा गाडीमा स्थानीयले ढुंगामुढा गरेर भगाउन खोजेपछि प्रहरीले तीन राउण्ड गोली चलाएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायण डाँगीले बताए ।

उनका अनुसार गोली लागेर चोरी मुद्दाका फरार प्रतिवादी सरदार र अर्का प्रहरीको हतियार खोस्ने स्थानीय ३० वर्षीय नानक सिंह सेख रहेका छन् । स्थानीयको इँट्टा प्रहारबाट वरिष्ठ प्रहरी हवलल्दार मदन डाँगी गम्भीर घाइते भएको डीएसपी डाँगीले जानकारी दिए । तीनै जना घाइतेलाई उपचारका लागि भेरी अस्पताल नेपालगन्जमा ल्याइएको छ ।

बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) तुलबहादुर कार्कीको कमान्डमा प्रहरी टोली सरदारलाई पक्राउ गर्न बिहीबार बिहानै सिख्खन पुरुवा पुगेको थियो ।

प्रकाशित : असार २०, २०८१ १२:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चालु आर्थिक वर्ष सकिन लाग्दा पनि दर्जनभन्दा बढी मन्त्रालयको पुँजीगत खर्च ४० प्रतिशतभन्दा कम हुनुको प्रमुख कारण के होला ?

×