१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९६

सशस्त्र प्रहरीको गोदामघरमा आगलागी [तस्बिरहरु]

तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना

काठमाडौँ — सशस्त्र प्रहरीको बलम्बुस्थित केन्द्रीय गोदाम घरमा सोमबार दिउँसो आगलागी भएको छ । सशस्त्र प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी अस्पतालको गोदाम रहेको बलम्बुस्थित घरमा आगो लागेको हो । आगलागीबाट सशस्त्र प्रहरीका लत्ता कपडा लगायतका बन्दोबस्तीका सामान र अस्पतालका उपकरण समेत जलेका छन् ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आगलागी के कारणले भयो भन्नेबारे बुझ्ने काम भइरहेको जानकारी दिए । अर्यालका अनुसार स्टोरमा चाबी लगाएर बाहिरी सुरक्षामा सशस्त्र प्रहरी तैनाथ थिए । सशस्त्र प्रहरी बल नेपालको बलम्बुस्थित गोदाम घरमा भएको आगलागीबारे छानविन गर्न एआइजीको नेतृत्वमा ९ सदस्यीय समिति गठन भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले कार्यविभागका एआइजी वंशीराज दाहालको नेतृत्वमा प्राविधिक अधिकृतहरु समेत सम्मिलित समिति गठन गरेका हुन् ।सोमबार बेलुका पौने ५ बजेतिर सशस्त्रका कर्मचारीको बन्दोबस्ती संगठनका लागि चाहिने अन्य सामान भण्डारण गरिएको गोदाम घरमा आगलागी भएको थियो । आगलागीबाट ठूलो धनराशीका सामानहरु जलेर नष्ट भएका छन् । कति सामान जल्यो भनेर यकिन भइनसकेको सशस्त्रले जनाएको छ । घटनापछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र गृह सचिव एकनारायण अर्यालसहितका अधिकारीले समेत बलम्बु पुगेर घटनाका बारेमा जानकारी लिएका थिए । मन्त्री लामिछानेले आन्तरिक छानविन समिति बनाएर सत्यतथ्य पत्ता लगाउन निर्देशन दिए लगत्तै महानिरीक्षक अर्यालले एआइजी दाहालको नेतृत्वमा समिति गठन गरेका हुन् ।


प्रकाशित : चैत्र २६, २०८० २१:२३
प्रतिक्रिया
पठाउनुहोस्