चिम्टेश्वरबाट चियाउँदा...[तस्बिरहरू]

कृष्ण थापा

नुवाकोट — ‘ओहो ! चारैतिर देखिने रहेछ,’ स्थानीय साइँली तामाङले चिम्टेश्वर भ्युटावरको पाँचौं तल्लाको झ्यालबाट चियाउँदै भनिन्,‘अझै हिमाल पनि देखियो ।’ नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिकाका ८ वडाहरु (१ देखि ५ र ९ देखि ११ नम्बर वडाहरु) को एउटै डाँडामा बनाइएको छ भ्युटार । भ्युटावरको पश्चिमपट्टि चिम्टेश्वर महादेव छ ।

टावर र चिम्टेश्वर महादेव वरिपरि सल्ला र खर्सुको जंगल छ । हालै आगलागी भएकाले वरिपरि घाँसपात डढेको छ । यहींबाट पूर्व, उत्तर र पश्चिमभेगमा लहरै गौरीशंकर, दोर्जे ल्हाक्पा, लाङटाङ, साञ्जेन, गणेश, मनास्लु, अन्नपूर्ण, चीनको केरुङ क्षेत्रका लस्करै दर्जन हिमालहरु देखिन्छ । त्यसैगरी पूर्वीभेगमा काठमाडौं उपत्यका, ककनी, शिवपुरी, दक्षिणीभेग धादिङका बेंसीं र डाँडाहरु, मकवानपुरकाडाँडा, पश्चिममा नुवाकोट झिल्टुङ, उत्तरी भेग हिमालबाहेक रसुवाका ३ वटा पालिका देखिन्छ । त्यसैगरी यहाँबाट त्रिशूली बजार, विदुर, बट्टार, पिपलटार फाँट देखिन्छ । ‘तुवाँलो लागेन भने हिमालदेखि वरिपरिका फाँटहरु मनमोहक देखिने बेलकोटगढी नगरपालिका-९ का सूर्य तामाङले बताए । पहिलो पटक चिम्टेश्वर पुगेका एक नेपाली पर्यटकले भने,‘यो त चन्द्रगिरिलाई माथ गर्ने ठाउँ रहेछ ।’

पछिल्लो समय साना गाडीहरु चिम्टेश्वरसम्म पुग्ने भएकाले वनभोज खाने, रमाइलो गर्ने र महादेवको दर्शन गर्नेको भीड लाग्ने गरेको बेलकोटगढी नगरपालिका-३ का जयराम पुडासैनीले बताए । चिम्टेश्वरको उत्पत्ति र राजा पृथ्वीनारायण शाहको नेपाल एकीकरणसँग जोडिएको स्थानीयको भनाइ छ ।

स्वस्थानीमा वर्णन भएअनुसार स्थानीयले चिर्केश्वर भनेर पूजा गर्छन् । सत्यदेवीको चिर (मुटु छेउको भाग) पतन भएकोले चिर्केश्वर हुँदै चिम्टेश्वर भएको स्थानीय पुडासैनीले सुनाए । अर्को देव र दानवले समुद्रमन्थन गर्दा निष्केको कालकुट विष भगवान शिवले पिएर यही ठाउँमा रात बास बसेको र बिहान कुखुरा कराएपछि उनी छिम्टा बिर्सेर गोसाइँकुण्डतर्फ गएको किंबदन्ती छ ।

त्यसैगरी पृथ्वीनारायण शाहलाई सपनामा गुरु गोरखनाथले शक्तिशाली मठ चिर्केश्वरमा गएर पूजा गर्नाले शक्ति मिल्ने बताएपछि यही ठाउँमा पूजा गरेको बताइन्छ । यहाँ वस्तुभाउ नब्याएमा, सन्तान प्राप्ति र विजयका लागि भाकल तथा शक्ति माग्न भक्तजन आउने गरेको पुडासैनीले बताए । यहाँ पुरानो इँटा, झिंगटीका टुक्रा र काटेका ढुंगाहरु भेटिन्छन् भने हाल टावर रहेको स्थानमा गढी र बंकर बनाएर सेना राखेको बताइन्छ ।

पूर्वीभेगबाट खुट्किला सहितको बाटो निर्माण गरिएको छ । काठमाडौंबाट पश्चिमभेग बागमारासम्म बस संचालन हुन्छ । त्यसपछि सानो गाडी कच्चीबाटो जंगल हुँदै चिम्टेश्वर पुगिन्छ । पूर्वीभेगबाट ३ वडाको झ्याङलीपोखरीसम्म बस आउँछ । यो चिम्टेश्वरभन्दा दुई किलोमिटर तल छ । यो काठमाडौंदेखि ४८ किमि दुरीमा रहेको छ । २२ सय मिटर उचाईमा रहेको यो स्थान बाहृय र आन्तरिक पर्यटनका लागि उत्कृष्ट गन्तव्य हुने सम्भावना छ ।


प्रकाशित : माघ १७, २०७९ २०:५२
प्रतिक्रिया
पठाउनुहोस्

यातायात क्षेत्र सुधारका ‘राष्ट्रिय यातायात प्राधिकरण’ गठन गर्न माग

कान्तिपुर संवाददाता

काठमाडौँ — यातायात क्षेत्रमा कार्यरत मजदुर संघ संगठनले यातायात क्षेत्रको सुधारका लागि ‘राष्ट्रिय यातायात प्राधिकरण’ गठन गर्न सरकारसँग माग गरेका छन् । नेपाली कांग्रेस निकट नेपाल यातायात मजदुर संघ, नेकपा (एमाले) निकट नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल यातायात मजदुर संघले मंगलबार उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर यातायात क्षेत्रको सुधार र पुनर्जागरणका लागि ‘राष्ट्रिय यातायात प्राधिकरण’ गठन गर्न माग गरेका हुन् ।

भेटमा संघ संगठनले सार्वजनिक यातायात क्षेत्रको व्यवस्थापन, सञ्चालन, परिचालन र यात्रुहरुको गुणस्तरीय, भरपर्दो र सुरक्षित सेवाका लागि हाल रहेको सरकारी संरचना यातायात व्यवस्था विभाग, यातायात कार्यालय खारेज गरी यातायात मन्त्रालय छुट्टै निर्माण गरी श्रमिक र सरोकारवालाको प्रतिनिधित्व रहने गरी अधिकार सम्पन्न ‘राष्ट्रिय यातायात प्राधिकरण’ गठन गर्न माग गरेका हुन् ।

भेटमा सिमानामा नेपाली चालकले भोग्नुपरेका समस्या समाधान गर्नुपर्ने, श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा समावेश गर्नुपर्ने, यातायात क्षेत्रलाई मर्यादित बनाउन, श्रमिक र व्यवसायीलाई अनुशासित बनाउन, यात्रु तथा पैदलयात्रुलाई जिम्मेवार बनाउन सडक सुरक्षा काउन्सिल निर्माण गर्न माग गरेका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विसं २०७१ कात्तिक १ देखि हुने गरी यात्रुवाहक सार्वजनिक सवारी साधनलाई मात्रै लागू हुने गरी सवारीसाधनको आयु तोकेर २० वर्ष पुगेका सवारीसाधनलाई हटाउने निर्णय तत्काल सच्याउनुपर्ने बताए ।

'२० वर्ष पुगेका आठ हजार सवारी साधन विस्तापित हुँदा करिब १० अर्ब रुपैयाँ पुँजी डुबेको छ, लाखौँ यातायात मजदुर बेरोजगार भएका छन् । यो अव्यावहारिक निर्णय तत्काल सच्याउँदै यान्त्रिक परीक्षणका आधारमा उपयुक्त सवारीसाधन चल्नदिने नीति निर्माण गर्नुपर्छ', उनले भने ।

ऐन कानुन कार्यान्वयन गरी ट्राफिक प्रहरीले लिने चर्को शुल्क खारेज गर्नुपर्ने, चालकको निलम्बन गरिएका लाइसेन्स फुकुवा गर्नुपर्ने, सडकमा यातायात श्रमिकलाई ट्राफिकले दिएको दुःख अन्त्य हुनुपर्ने, पिक एण्ड ड्रपको व्यवस्था, पूर्वाधार विकास र पार्किङ सुविधा हुनुपर्ने, काठमाडौँ भित्रिने र बाहिरीने नाकामा मिनि बसपार्क निर्माण गर्नसमेत माग गरेको छ ।

प्रदूषण जाँचमा देखिएका कमीकमजोरी हटाउनुपर्ने, सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६१ को (२), दफा १६२, १६३, १६४ लगायत दफालाई संशोधन गर्नुपर्ने, सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ को परिच्छेद ४ को दफा २० (६) लाई संशोधन गरी ठूलो सवारीसाधनका लागि साना सवारीको लाइसेन्स लिएको दुई वर्ष भएको हुनुपर्ने प्रावधान हटाउँदै ठूला सवारी चालक अनुमतिपत्र पाउने सिधैँ व्यवस्था गर्नुपर्ने बताएको छ ।

भेटमा उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री श्रेष्ठले आफू मुलुकको यातायात क्षेत्रको सुधारका लागि मन्त्री भएको बताउँदै यातायात क्षेत्रमा देखिएका समस्या समाधानमा प्रतिबद्ध रहेको बताए ।

प्रकाशित : माघ १७, २०७९ २०:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×