कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'म बाबुरामजीजस्तो प्रधानमन्त्रीको लोभी होइन'

दीपेन्द्र विष्ट

सुन्दरीजल (काठमाडौं) — कांग्रेस सभापति सुशील कोइरालाले आफू प्रधानमन्त्री पदको लोभी नभएको बताएका छन् । 'मलाई प्रधानमन्त्रीको पद चाहिँदैन,' प्रधानमन्त्री बाबुराम भट्टराईले कुर्सीको लोभ गरेको संकेत गर्दै भने, 'माओवादीले छक्याए भने ठानेको होला, यो उसका लागि नै घातक हो ।'

'म बाबुरामजीजस्तो प्रधानमन्त्रीको लोभी होइन'

वीपी कोइरालाको ३७ औं राष्ट्रिय एकता तथा मेलमिलाप नीतिको अवसरमा सुन्दरीजलमा सोमबार भएको कार्यक्रममा कोइरालाले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले बैठक पिच्छे बोली फेरे पनि त्यो स्वयं उसैका लागि घातक भएको बताए । माओवादीले अधिनायकबाद लाद्न खोजेको भन्दै उनले त्यसको जनताले सशक्त प्रतिवाद गर्ने बताए ।
'०७ सालमा राणाले, २०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्र खोसे,' कोइरालाले इतिहास कोट्याए, 'ज्ञानेन्द्रले खोजे आखिर उनीहरुको अवस्था के भयो ? अब माओवादी अबस्था के हुन्छ । बेलैमा सोचे हुन्छ ।' गणतन्त्रविरुद्ध कसैलै जान्छौं भन्नु दिवा स्वप्नबाहेक अरु केही नभएको उनले बताए ।
माओवादीले जति बोलि फेर्छ त्यो स्वयं उसैलाई घाटा हुने उनले बताए । 'बोली फेर्दा हामीले राम्रा हुन्छौं भनेर माओवादीले सोचेका होलान् त्यो भ्रममात्र हो, नेपाली जनताले बुझिसकेका छन् अब कति दिन छक्याउँछन्,' उनले भने ।
राप्रपा अध्यक्ष पशुपति शमशेर राणाले माओवादीको अधिनायकवाद नटिक्ने भन्दै त्यसको प्रतिवाद गरिने बताए । 'सम्झौता गर्ने कार्यान्वयन नगर्ने यो कहाँको प्रजातन्त्र हो ?' उनको प्रश्न थियो । राष्ट्रियता स्वाधिनता खतरामा परेको भन्दै अब सबै पार्टीले सोच्नु पर्ने उनको भनाइ थियो ।
कांग्रेस नेता कुलबहादुर गुरुङले आन्दोलनबाट मात्रै माओवादीलाई परास्त गर्न सकिने बताए । माओवादीको सर्वसत्ताबाद कुनै हालतमा पनि स्वीकार्य नहुने उनले बताए ।

प्रकाशित : पुस १६, २०६९ १७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?