२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

मानवनिर्मित खोल्सा र पहाडको प्रकृति

मोती रिजाल

नेपालको दक्षिणतर्फ रहेको समथर तराई, चुरे पहाडभित्र रहेको भित्री मधेश र मध्यपहाडभित्रका समथर उपत्यका तथा नदीहरूले बनाएका केही फाँटबाहेक बाँकी सबै भूभाग विभिन्न प्रकृतिका पहाडले ओगटेका छन् । यी पहाड एकदम कमलो पत्रे चट्टान र राम्ररी चट्टान बनिनसकेका थेग्रानबाट बनेका छन् ।

मानवनिर्मित खोल्सा र पहाडको प्रकृति

चुरे पहाड भौगर्भिक रूपमा सबैभन्दा कान्छो र बन्दै गरेको पहाड हो । त्यसभन्दा माथिल्लो अथवा उत्तरमा भएको महाभारत पहाडको बनोट बिलकुल फरक छ, जुन विभिन्न किसिमका पत्रे तथा मुख्यतः तल्लो तह र मध्य तहका परिवर्तित चट्टानले बनेको छ ।

पहाडी शृंखलाको उचाइ समुद्री सतहबाट करिब ३,००० मिटरसम्म छ भने त्यसभित्र भौगोलिक रूपमा ससाना पहाड, नदीहरूले बनाएका भित्री खोँच र अग्ला पहाडका चुचुराहरू छन् । पहाडको उत्तरमा अग्ला चुचुराहरू र उपल्लो तहका परिवर्तित चट्टान र ठाउँठाउँमा आग्नेय चट्टानहरू छन् । निकै ठाउँमा चुनढुंगा र चुनढुंगा परिवर्तित भएर बनेका चट्टान पनि छन् । चुनढुंगा भएका क्षेत्रमा धेरै बहाव भएका पानीका मूल, त्यससम्बन्धी साना–ठूला गुफा र चुन घोलिएर बनेका आकृति पनि छन् । त्यस्ता पहाडको उचाइ ३,५०० देखि ५,००० मिटरसम्म बढ्दै जाँदा अस्थायी र करिब ५,००० मिटरभन्दा बढीमा स्थायी हिउँ पर्ने उच्च पहाड छन् । उच्च पहाडभन्दा अझ उत्तरी भेगहरू मनाङ, मुस्ताङ र डोल्पो छन् जुन हिमालपारिका स्थानका रूपमा परिचित छन् ।

हिमालय क्षेत्रको मध्यभागमा समुद्री सतहबाट करिब ६० मिटरदेखि ८८४८.४९ मिटरसम्मको उचाइभित्र रहेका पूर्व–पश्चिममा करिब ८०० किलोमिटर र उत्तर–दक्षिणमा करिब २०० किलोमिटर दूरीभित्र तराई, पहाडसहित उच्च हिमाली क्षेत्र रहेका छन् । यस्ता भौगर्भिक र भौगोलिक अवस्थिति भएका पहाडमा भिन्न–भिन्न समयमा पूर्व र पश्चिमबाट सक्रिय हुँदै प्रवेश गर्ने मौसम प्रणालीले विशेष किमिमका वनजंगल, पानी, माटो, वनस्पति र प्राणीको विविधता निर्माण गरेको पाइन्छ । महाभारत पर्वतको एउटा पहाडी क्षेत्रभित्र २०० मिटर खोँचदेखि ३,००० मिटरसम्म उचाइ भएका डाँडाका टुप्पाहरू पर्छन्, जहाँ धान फल्ने फाँटदेखि स्याउ फल्ने क्षेत्रसम्म छन् ।

मध्यपहाड तथा भिरालो पहाडमा जब मानिसको प्रभाव बढ्दै गयो, बाटो निर्माण हुन थाल्यो । यस क्रममा उपयुक्त डिजाइन र प्रविधि प्रयोग नगरी डोजर लगायतका यन्त्र प्रयोग गरिन थाल्यो । यसरी बाटो बनाउँदै गर्दा ढलान भएका पहाडमा पानी बग्ने नयाँ खोल्सी थपिन गयो । उपल्लो भेगमा सानो खोल्सी हुँदै सुरु हुने र बढी ढलान भएको तल्लो भेगमा जाँदा त्यसको आकार बढ्दै गएको देखिन्छ । डोजरले मनपरी खनिएका बाटाहरूले खोल्साको रूप लिँदा भूक्षय र सतह नजिकमा प्रशस्त मात्रामा पहिरो उत्पत्ति भएका छन् । फलस्वरूप जलाधारको मध्य हुँदै तल्लो तटीय क्षेत्रमा रहेको जमिनमा प्रशस्तै गेग्रान थुपिँदै गएको छ । सतहमा थेग्रान थुप्रिँदै गर्दा उपादकत्वमा ह्रास बढेको देखिन्छ । सिँचाइ कुलोभन्दा खेती गर्ने सतह अग्लो भएको छ, जसका कारण परम्परागत सिँचाइ कुलोहरू उपयोगविहीन बनिरहेका छन् ।

पहाडमा डोजर लगाएर बनाइएका नयाँ बाटाहरू, त्यसबाट बनेका नयाँ खोल्सा र उत्पादन भएका गेग्रानका थुप्राहरूले पहाडको वातावरणिय सन्तुलन र पारिस्थितिकीय प्रणालीमा समेत चुनौती थपेका छन् । पहाडको जलचक्र पूर्ण रूपमा परिवर्तन भएको छ । पुनर्भरण क्षेत्र मासिएर वर्षायाममा पर्ने पानी जमिनमुनि प्रवेश गर्ने क्रममा कमी भएको छ, सतहमा पनि गेग्रानको लेदो बग्ने गरेको छ, जसमा घुलनशील पदार्थको मात्रा अत्यधिक हुन्छ । हाम्रा नदीहरू हिउँदयाममा पनि धमिलिन थालेका छन् ।

पहाडहरू खण्डीकरण भएका छन् । वनस्पति तथा प्राणीहरूको विविधतामा पनि खलल पुगेको छ । वनजंगल र भूपरिधिमा घुम्ने प्राणीहरूका परम्परागत बाटाहरू नष्ट भएका छन् । मानवनिर्मित नयाँ बाटाहरू र वरिपरिका नयाँ बस्तीहरूले मानव र वन्यजन्तुबीच द्वन्द्व बढाएका छन् । प्राकृतिक रूपमा वनस्पतिको बीउ फैलाउने प्रक्रियामा नयाँ प्रवृत्ति आएर वनस्पतिको पुनर्जन्म पनि प्रभावित भएको छ । समग्रमा जंगलको पारिस्थितिक प्रणालीमा असर परेको छ । नयाँ बाटो र पहाडमा निर्मित परिवर्तनले मिचाहा प्रवृत्तिका वनस्पतिहरू भने पहाडमा आक्रामक रूपमा फैलिन थालेका छन् ।

डोजर, एक्स्काभेटर तथा ड्रिलिङ प्रविधिको जथाभावी प्रयोगले पहाड र पाखाहरू कमजोर बनेका छन् र खण्डीकरण भएका छन् । त्यसले गर्दा जलचक्रका रूपमा रहेका सतहको पानी र भूमिगत पानीबीचको अन्तरसम्बन्ध परिवर्तन भएको छ । खानेपानीका लागि पुस्तौंदेखि प्रयोग भएका मूलहरू सुकेका छन् । विभिन्न स्थानमा खानेपानीको अभावले मानिस बसाइँ सर्न बाध्य भएका छन् । पाखाहरूको अति खण्डीकरण र मानवनिर्मित नयाँ खोल्साको प्रभावले चुरेपहाडमा अत्यधिक र त्यसपछि मध्यपहाडमा पनि ठूलो असर पारेको छ । कतिपय ठाउँमा पानीको मूल सुक्दा दूषित पानीको उपयोग पनि बढेको छ ।

मध्यपहाडका कतिपय ठाउँ उजाड मरुभूमि बन्न सक्ने देखिन्छ । ग्रीष्मकालीन मनसुनबाट करिब ९० प्रतिशत पानी प्राप्त हुने हाम्रो देशमा यसरी मानवनिर्मित नयाँ बाटाहरूबाट पहाडको स्वरूप परिवर्तन हुँदा जलाधारको तल्लो तटीय क्षेत्रमा बाढीको उच्च जोखिम निम्तिएको छ । खोलाहरूले आफ्नो धार तथा बहाव परिवर्तन गरेका कारण थुप्रै बस्ती सर्न बाध्य भएका छन् । त्यसको असर चुरे र तराई क्षेत्रमा पनि परिरहेको छ । अर्थात् माथिल्लो तटीय र तल्लो तटीय क्षेत्रहरूको प्राकृतिक रूपमा स्थापित अन्तरसम्बन्ध पनि बिथोलिएको छ । प्राकृतिक रूपमा स्थापित भएका नदी उकास र नदीका खोँचहरूको भौगोलिक भू–आकृति परिवर्तन भइरहेको छ ।

पहाड र तिनीहरू मिली बनेका भूपरिधिहरूको विशिष्टतालाई बेलैमा पहिचान गर्नुपर्छ, त्यस्तो विशिष्टतामा बढी क्षति नपुग्ने गरी बाटा लगायतका नयाँ संरचना बनाउनुपर्छ । नत्र पहाडको विशिष्टता र विविधता मासेर प्राकृतिकपनलाई निमिट्यान्न पारी फेरि प्रकृतिमा आधारित समाधान खोज्नुपर्ने अवस्थामा हामी पुग्नेछौं । त्यस्तो अवस्थामा हाम्रो पश्चात्तापको कुनै अर्थ रहनेछैन ।

रिजाल भूमिगत जलस्रोत विज्ञ हुन् ।

प्रकाशित : भाद्र ८, २०८० ०६:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?