२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८०

हल्ला मेलम्चीको, भर भूमिगत जलस्रोतको

मेलम्चीको पानी आउने अनिश्चितता भइरहेकैले काठमाडौं उपत्यकाका सन्दर्भमा भूमिगत जलस्रोत अभिभावकबिनाको बच्चाजस्तो बनेको छ, जसको उपयोग र दोहन गर्ने त सबै छन् तर व्यवस्थापन र संरक्षणको जिम्मा लिने कोही छैन ।
मोती रिजाल

संघीय राजधानी काठमाडौं देशको सबैभन्दा ठूलो सहर पनि हो, जहाँ पक्षी–आँखाबाट दृश्यावलोकन गर्दा कंक्रिटैकंक्रिट देखिन्छ । विश्वको जनसंख्या समीक्षा गर्ने एउटा संस्था अनुसार, काठमाडौंको जनसंख्या हाल लगभग २२ लाख छ, अस्थायी रूपमा बसोबास गर्नेहरू पनि धेरै नै छन् ।

हल्ला मेलम्चीको, भर भूमिगत जलस्रोतको

सो तथ्यांक अनुसार, काठमाडौं उपत्यकाको जनसंख्या २.६५ प्रतिशतले बढ्दै गएको छ । यसरी उच्च गतिमा सहरीकरणतर्फ उन्मुख संघीय राजधानी तथा प्रादेशिक राजधानीहरूमा बढ्दै गएको जनसंख्यालाई सफा तथा स्वच्छ खानेपानीको वितरण समयसँगै चुनौतीपूर्ण बन्दै गएको छ ।

काठमाडौं उपत्यकाको सतहमा बग्ने पानी यतिसम्म दुर्गन्धित र प्रदूषित छ, कतै प्रयोग गर्न सकिन्न । काठमाडौंमा कुनै घर निर्माण गर्नुपरे सुरुमै भूमिगत जलस्रोतको उपयोग हुन्छ, इनार खनी पम्प जोडेर सतहनजिकको भूमिगत जलस्रोत निकाल्ने गरिन्छ । काठमाडौंमा ठाउँ हेरी ३० देखि ५० मिटरसम्म खनेर जमिनमुनिको पानी तान्ने गरिन्छ । कालीमाटीको बाक्लो तह भएका कतिपय ठाउँमा पानी आउन समस्या छ, आए पनि त्यसमा फलाम र अक्सिजनको यौगिक मिसिएको हुन्छ । यस्तो सतहनजिकैको क्षेत्रबाट लिएको पानी घरायसी प्रयोगका लागि त्यति उपयुक्त मानिँदैन । यही सन्दर्भमा यस आलेखमा काठमाडौंको खानेपानीको स्रोतको पहिचान र उपलब्धताबारे चर्चा गर्न खोजिएको छ ।

काठमाडौं उपत्यकामा खानेपानीको मुख्य दायित्व लिएर काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) बसेको छ । यसले दैनिक ४७ करोड लिटरभन्दा बढी पानीको माग भएकामा केवल २६ करोड लिटर अर्थात् जम्मा मागको एकतिहाइ मात्र वितरण गर्न सकेको छ । गएको फागुनकै कुरा गर्दा, खानेपानी वितरण प्रणालीमा मेलम्चीको पानीबाहेक केवल ११ करोड लिटरजति दैनिक रूपमा गएको छ, सतहको पानीको स्रोतबाट ५.६ करोड लिटर र भूमिगत जलस्रोतबाट ५.४ करोड लिटर । यो वितरण प्रणालीको महत्त्वपूर्ण अंश र केयूकेएलले वितरण गर्न नसकेको भागको लगभग सम्पूर्ण हिस्सा भूमिगत जलस्रोतमै भर परेको छ, दीर्घकालीन रूपमा ।

केयूकेएलको वितरण प्रणालीको पहुँचमा नभएका क्षेत्र उपत्यकामा प्रशस्तै छन्, जहाँ सामुदायिक पानी उपभोक्ता समूह बनाएर खानेपानीको व्यवस्था गर्ने गरिएको छ । काठमाडौं उपत्यकाभित्र पानी उपभोक्ता समूह नै नभएको ठाउँमा पनि घरहरू बनेका छन् र मानिसहरूको बसोबास छ । यस्ता ठाउँमा घरायसी उपयोगका लागि कुवा बनाई त्यसबाट पानी निकाल्ने र खानेपानी जार ल्याएर वा ट्यांकरबाट किनेर उपयोग गर्ने गरिएको छ । काठमाडौं यस्तो सहर हो जहाँ घर बनाउनुअगाडि कुवा बनाउनुपर्छ । ठूलठूला होटल वा व्यावसायिक संस्था तथा सरकारी कार्यालयहरूले गहिरो भूमिगत जलप्राप्तिका लागि यान्त्रिक विधि प्रयोग गरेर शुद्ध पानीको स्रोतको उपलब्धता सुनिश्चित गरेका छन् । अहिले उपयोगकर्ता बढ्दै जाँदा र केयूकेएलले दिने पानीको सीमित मात्राले गर्दा घरैपिच्छे बोरिङ गरेर पानीको अभावपूर्ति गरिँदै आएको छ ।

अहिले काठमाडौं उपत्यकामा मात्र अनुमति लिएर मेसिनले खनेका र १०० देखि ४०० मिटरसम्म गहिराइ भएका, भूमिगत जलस्रोत निकाल्ने कुवाहरू १,५०० भन्दा बढी छन् । कुनैकुनै कुवा त सन् १९७० तिर खनिएका थिए र त्यस्ता कुवाहरूबाट त्यति बेलादेखि अहिलेसम्म लगातार रूपमा भूमिगत जलस्रोत निकालिरहिएको छ । यसरी आफ्नो स्रोतसाधन भएका व्यक्ति, होटल, उद्योग र कार्यालयहरूले प्रत्यक्ष लगानी गरी खानेपानी तथा अन्य प्रयोजनका लागि भूमिगत जलस्रोतको सोझै प्रयोग गर्ने गरेका छन् । यसै गरी प्रत्यक्ष रूपमा लगानी गर्न नसक्ने तर सहरमा स्थायी तथा अस्थायी रूपमा बसोबास गर्ने मानिसहरूले पनि पिउन तथा घरायसी प्रयोजनमा भूमिगत जलस्रोत उपयोग गर्छन् । भूमिगत जलस्रोतबाट पानी जार र ट्यांकर व्यवसायीले उपभोक्तासँग सिधै वा थोक तथा खुद्रा व्यवसायीसम्म पुर्‍याएका छन् । यसरी ट्यांकर व्यवसायी, जार व्यवसायी तथा आपूर्तिकर्ताले उपभोक्तामाझ पुर्‍याउने पानीको मुख्य स्रोत कतिपय ठाउँमा ५० मिटरभन्दा माथिका र कतिपय ठाउँमा १०० वा सोभन्दा बढी गहिरा कुवाहरूबाट प्राप्त भूमिगत जलस्रोत नै हो ।

काठमाडौं उपत्यकामा अनुमति लिएर खनिएकाभन्दा तीन गुणा बढी कुवा १०० मिटरभन्दा बढी गहिराइका छन्, अनुमतिको प्रावधान आउनुभन्दा अघिदेखि आफूखसी बनाइएका पनि चलिरहेकै छन् । त्यसैले उपत्यका पूर्ण रूपमा मानवनिर्मित कुवाहरूले भरिएको छ । यसरी केयूकेएलले सुक्खा याममा वितरण गर्ने पानीमध्ये सतहको पानीभन्दा भूमिगत जलस्रोतको मात्रा केही कम भए पनि यहाँ उल्लेख गरिएको भूमिगत जलस्रोतको परिमाण केयूकेएलको वितरण प्रणालीभित्रको मात्र हो । त्यसबाहिर जुन मात्रा केयूकेएलले पुर्‍याउन सकेको छैन, त्यसको भरपाईको शतप्रतिशत उपाय भूमिगत जलस्रोत मात्र हो ।

काठमाडौं उपत्यकामा पर्न सक्ने काकाकुल अवस्था र बढ्दो सहरीकरणका कारण खानेपानीको आवश्यकता पूर्ति गर्न मेलम्ची खोलाबाट पानी ल्याउने योजना बनेको थियो । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची खोलाको १७ करोड लिटर पानी २६.५ किलोमिटर लामो सुरुङ बनाएर काठमाडौंको सुन्दरीजलमा ल्याउने लक्ष्य भएको आयोजना सन् २००१ मा सुरु भएको थियो । विभिन्न ठाउँमा वितरण स्थलहरू निर्माण गरी उपत्यकावासीलाई पानी उपलब्ध गराइने हल्ला सुन्न थालेको दुई दशकभन्दा बढी भइसक्यो । यो आयोजनाको अवधि र लागत पनि बढेर कहाँ पुगिसक्यो, तर मेलम्चीको पानी अझै वितरण हुन सकेको छैन । मेलम्ची खोलाको पानी पहिलो पटक काठमाडौंको सुन्दरीजलमा २०७७ चैतमा खसालिएको त थियो तर २०७८ असार १ गते ठूलो वर्षापछि आएको बाढीले आयोजनाको माथिल्लो स्थानमा क्षति पुर्‍याइदिनाले त्यो रोकियो । यसले आयोजनाको सुरक्षा र काठमाडौं उपत्यकावासीको शुद्ध खानेपानीको आशामा प्रश्नचिह्न खडा गरिदिएको छ ।

खोलामा आउने बाढीले सुरुङमार्गमा क्षति पुर्‍याउने हुँदा निर्माणाधिन मेलम्ची खानेपानी आयोजनाबाट काठमाडौंमा पानी आउन थाले पनि हरेक वर्षायामको महिनामा त्यो बन्द नै हुने देखिन्छ । वर्तमान अवस्थामा जलवायु परिवर्तनको असर, ठूलठूला पहिराहरू, हिमताल फुटेर आउने बाढीहरू तथा पहिरोले नदी थुनिनाले गर्दा मेलम्ची र त्यसको दिगोपनसँग थुप्रै प्रश्न जोडिएका छन् । यस्तो अवस्थाको मेलम्ची खानेपानी आयोजनाले उपत्यकावासीलाई पानीभन्दा बढी धूलो खुवाइरहने देखिन्छ ।

मेलम्ची खानेपानी आयोजनाको उद्घाटन सम्बन्धित मन्त्रालयका सचिव र मन्त्रीदेखि प्रधानमन्त्री एवं राष्ट्रप्रमुखसम्मले सिन्धुपाल्चोक र काठमाडौंमा पटकपटक गरे । मेलम्चीको पानी उपभोक्ताहरूका धारामा भन्दा बढी त्यस सम्बन्धी समाचार पत्रिकाहरूमा आएको छ । मेलम्चीको भर नभएकैले काठमाडौं उपत्यकावासीका लागि गहिरागहिरा कुवाबाट पम्प गरी तान्ने भूमिगत जलस्रोत एक मात्र भरोसा भइरहेको छ । मनसुनमा आएको बदलाव, जलवायु परिवर्तनको असर र बढ्दै गएको सुक्खा मौसमले भूमिगत जलभण्डारको निर्भरता अझै बढ्दै जानेछ । अतः उपत्यकावासी र सम्बन्धित निकायले के बुझ्नुपर्छ भने, यो असीमित प्राकृतिक स्रोत होइन, यसको आफ्नै चक्र छ र यसको उपलब्धता पानी पुनर्भरणसँग सम्बन्धित छ, जसबारे न कुनै निकायले बुझ्न खोजेको छ न त यस्तो बुझ्ने कार्यक्षेत्र भएको निकाय नै छ । उपयोग सबैले गर्ने तर व्यवस्थापनको दायित्व कसैको नभएजस्तो देखिन्छ । त्यसैले नेपालका सन्दर्भमा, अझ काठमाडौं उपत्यकाको प्रसंगमा, भूमिगत जलस्रोत अभिभावकबिनाको बच्चाजस्तो बनेको छ, उपयोग र दोहन गर्ने सबै छन् तर व्यवस्थापन र संरक्षणको जिम्मा लिने कोही छैन । हामीले भूमिगत जलस्रोतको बहुउपयोग र व्यवस्थापनका लागि संस्थागत तथा व्यक्तिगत रूपमा पहल थालिहाल्नु अत्यावश्यक भइसकेको छ ।

त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक रिजाल भूमिगत जलस्रोतविज्ञ हुन् ।

प्रकाशित : वैशाख ३, २०८० ०७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?