कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

सम्पदा पुनर्स्थापनाको लागि राष्ट्रिय सम्मेलन

अहिलेसम्म ४०९ हराएका सम्पदाको लागि निवेदन परेकोमा १४९ सम्पदा विभिन्न देशबाट फिर्ता ल्याइएको

काठमाडौँ — देश तथा विदेशमा हराएका सम्पदा पुनर्स्थापनाको लागि आइतबारबाट दुई दिने राष्ट्रिय सम्मेलन सुरु भएको छ । नेपाल सम्पदा पुनर्स्थापना अभियान र पुरातत्त्व विभागको संयुक्त आयोजनामा भएको सम्मेलन आइतबारबाट सुरु भएको हो ।

सम्पदा पुनर्स्थापनाको लागि राष्ट्रिय सम्मेलन

नेपाल सम्पदा पुनर्स्थापना अभियानकी अध्यक्ष तथा पुरातत्त्व विभागकी पूर्वमहानिर्देशक रिद्धिबाबा प्रधानले नेपालको गौरव भनेकै सांस्कृतिक सम्पदा रहेको बताइन् । ‘सम्पदाले हाम्रो मनलाई शान्ति र ऊर्जा दिन्छ । हजारौं वर्षदेखि सम्पदाले चिनाउँछ । विदेशीलाई आकर्षति गर्छ । मूर्त र अमूर्त सम्पदा महत्त्वपूर्ण छन् । २० औं शताब्दीपछि विदेशीको नजरमा मूर्ति सम्पदा चोरको नजरमा पर्‍यो,’ उनले बताइन् ।

उनले समुन्द्र पार बिचौलियाले किनबेच गर्न थालेको र सन् १९५० पछि ३० वर्ष सम्म नेपाली संस्कृति सम्पदा बढी चोरी भएको बताइन् । ‘नेपालबाट कति सम्पदा चोरी भएको भन्ने यकिन तथ्यांक छैन । नेपाल सम्पदा पुनर्स्थापना अभियान गठन गरि पुरातत्त्व विभागलाई सहयोग गरेको छ,’ उनले भनिन् ।

यस्तै पुरातत्त्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग नेपालमा सम्पदासम्बन्धी धेरै ऐन र कानुन हुँदा हुँदै पनि सम्पदाहरू बाहिरिएको बताइन् । ‘सम्पदा र कलालाई विभागले संरक्षण गर्नु पर्छ । नेपालमा विदेशबाट सम्पदा फिर्ता भएका मूतिहरू वर्तमान अवस्थामा फिता ल्याउने प्रक्रियामा चुनौती रहेका छन्,’ उनले भनिन् ।

सम्मेलनको उद्घाटन सत्रमा पुरातत्त्व विभागकी पुरातत्त्व अधिकृत सरिता सुवेदीले विभागमा सम्पदालाई फिर्ता ल्याउन गरिरहेको बारेमा प्रकाश पारेकी थिइन् । उनले अहिलेसम्म ४०९ हराएका सम्पदाको लागि निवेदन परेकोमा १४९ सम्पदा विभिन्न देशबाट फिर्ता ल्याइएको जानकारी दिइन् ।

उनले ७७ सम्पदाहरू मुलुक भित्रैबाट खोजेर ल्याएको बताइन् । यस्तै ९७ सम्पदाहरू विदेशमा कहाँ रहेको नेपाललाई थाहा भएको र नेपालले दिनको लागि आग्रह गरेको तर सम्बन्धित मुलुक र निकायबाट नेपाललाई फिर्ता नदिइएको उनले जानकारी दिइन् । उनले दुई वटा सम्पदा भने प्रमाण संकलन र माग दाबी गरिएको पनि बताइन् ।

अभियानका उपाध्यक्ष कनकमणि दीक्षितले धेरैले आ–आफ्नो तर्फबाट सम्पदा भित्र्याउनको लागि पहल गरिरहेकोमा लक्ष्मी नारायणको मूर्ति फिर्ता ल्याएपछि सबै मिलेर संयुक्त पहल गर्ने भन्दै नेपाल सम्पदा पुनर्स्थापना अभियान गठन गरिएको उल्लेख गरे ।

प्रकाशित : जेष्ठ १४, २०८१ ११:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एघार महिनामा ४६ हजार ऋणी कालोसूचीमा पर्नुको मुख्य कारण के होला ?

×