२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१९

बीपी, जसले आख्यानमा स्त्रीत्व जगाए

बीपीका आख्यान पुरुष मनोविज्ञानबाट समालोचना भए । उनले जीवन्त आवाजसहित ब्युँताएका महिला पात्रमाथि सही समालोचना र व्याख्या नहुँदा तिनका आत्मा भड्किइरहेको छ ।
सीमा आभास

महिलालाई पूर्ण नागरिकको दर्जा नदिने राज्यव्यवस्था छ । व्यावहारिक रूपमा नागरिक भनेको पुरुष बुझियो । त्यही आमधारणालाई मध्यनजर गर्दै बीपी कोइरालाले अधिकांश आख्यानमा महिला पात्र उभ्याएका हुन सक्छन् । ती पात्र छन्– विभिन्न ग्रामीण समुदायका, फरक जाति, धर्म र संस्कारका, तर आफूलाई न्याय गर्न सक्ने खालका ।

बीपी, जसले आख्यानमा स्त्रीत्व जगाए

बीपीमाथि आलोचना–समालोचना लेख्नेहरूले मनोविज्ञानमा आधारित आख्यान भन्ने भाष्य तयार पारे । तर, बीपीले जिउँदाजाग्दा बनाएर उभ्याएका महिला पात्रहरूको ज्ञान, आँट, सामर्थ्य, व्यक्तिगत अहम्बारे समालोचक मौन प्रायः देखिन्छन् । किनकि वधूशिक्षाकालीन समयमा बीपीले उभ्याएका महिला पात्रलाई बुझ्ने चेत र समालोचना लेख्ने आँट कुनै समालोचकमा आएको देखिँदैन । अहिले पनि महिलाले बोले, लाए, खाए, हिँडे, डुलेकोमा समाज भाँडिने भयो भनेर चिन्ता व्यक्त गर्ने वधूशिक्षाकालीन विद्वान्हरूको जगजगी जुर्मुराइरहेको छ । त्यस समयको कुरा अर्कै थियो होला ।

समाजको चेतना र मनोविज्ञान बुझेर समाजले इन्कार गरिरहेको, तर स्थापित गर्नैपर्ने स्त्रीका मुद्दा आख्यानमा ल्याएपछि बीपीले आफूलाई अराजक हुँ भनेका हुन सक्छन् । नारी पात्रमाथिको यौन स्वतन्त्रता र आफ्नो शरीरमाथिको अधिकारलाई मुखर गराएका छन् उनले । त्यसका उदाहरणीय पात्रको रूपमा ‘मधेश’ कथाकी विधवा, जसलाई घरजम गरेर सन्तान जन्माउन मन लाग्छ । आजको राज्य व्यवस्थाले त श्रीमान् नभएकी श्रीमतीलाई ‘एकल महिला’ सम्बोधन गर्छ जब कि उसका सन्तान, नातागोता, आफन्त हुन्छन् । लोग्ने नहुनु भनेको विधवा हुनु हो, तर एकल हुनु होइन । ऊ एकल हुन्न । विधवाले घरजम गर्ने कल्पना सितिमति गर्दैनन् । तर, बीपीले ती विधवा पात्रभित्रको स्त्रीत्व जगाएका छन् ।

‘कर्नेलको घोडा’ की पात्र कर्नेल्नी, जसको बिहे बूढो कर्णेलसँग भयो । स्त्री यौनतृप्तिको सांकेतिक भाब घोडालाई बन्दुक हानेपछि बगेको रगतबाट दिएका छन् बीपीले । ‘श्वेतभैरवी’ कथामा घरायसी काम गर्ने फगुनीलाई घर मालिकको अगाडि परेपछि श्वेतभैरवी जागृत हुन्छ । सान्दाजु पात्रलाई दाउराको खलियोमा लडाएपछि खुट्टाको औंलामा चोट लगाइदिन्छे ऊ । घाउबाट रगत बग्छ । फगुनीभित्र चढेको भैरवी रूपलाई चरम अवस्थामा पुर्‍याएको देखाएका छन् बीपीले । फगुनीको यो कदम समाज र संस्कारले महिलालाई तोकेको दायराबाट फाँडेर भैरवी ब्युँताउनु हो ।

त्यस्तै ‘राइटरबाजे’ कथाका भोटेनी दिदीबहिनीहरूको यौनप्रतिको उदार भावलाई आर्यसमाजमा ल्याएर राखिदिएका छन् बीपीले । राइटरबाजेसँग आएर बसेकी कान्छी बहिनीलाई जेठी दिदीले खबर पठाउँछे– मेरा चारवटा लोग्ने र तीनवटा छोरा छन्, अरू देवरहरू पनि छन्, एउटा राइटरबाजे कुरेर नबस आइज । माइली दिदीले दरबारबाट खबर पठाउँछे– यहाँ थुप्रै राजकुमारहरू भेटिन्छन्, एउटा मात्र कुरेर नबस आइज । त्यसै गरी बौद्धबाट साहिँली दिदीले खबर गर्छे– त्यस्ता राइटरबाजेहरू त कति भेटिन्छन् कति ! कर्नेल–जर्नेल सबै हुन्छन्, एउटै मात्र रुँघेर के बस्छेस् ? तीनै जना दिदीबहिनीले त्यो खबर आर्य ब्राह्मणका घरमा पठाएका हुन्छन् । आर्यका छोरीबुहारीहरूले यौनबारे बोल्नु, सुन्नु नै हुँदैन भनेर उनीहरूमाथि गरिने शोषणको विरुद्धमा यो कथा छ ।

‘एक रात’ कथाका महिला पात्रहरू माथि चर्चा गरेको खासै सुनिँदैन । किशोरको विचारमार्फत महिलालाई अनिवार्य शिक्षा जरुरी छ भन्ने देखाएका छन् बीपीले । किशोरकी बहिनीले पढेकी छे । श्रीमतीलाई पनि पढाउनुपर्छ भन्ने सोचेर बहिनीसँग पढ्न सिक्नु भन्छ किशोर । अहिले त आफूभन्दा बढी पढेकी, बढी जानेकी श्रीमती भई भने हेप्छे भन्ने भाष्यमै हुर्किरहेको पुरुष समाजमा त्यसरी श्रीमतीलाई पढाउनु, आधुनिक शिक्षामा नारीपात्रलाई प्रवेश गराउनु विशेष मुद्दा हो ।

बीपीका आख्यान पढेपछि भन्न सकिन्छ, उनी मनोवैज्ञानिक आख्यानकार मात्रै नभई महिलाका मुद्दा उठाउने लेखक हुन् । समाजले स्त्रीको प्राकृतिक भाव र संवेगलाई चरित्रको कसीमा साँघुर्‍याएर शासन गर्छ । स्त्री होस् या पुरुष, प्राकृतिक गुणलाई सम्मान गर्नु समाजवादको एउटा गुण हो ।

यौनमाथि पुरुषको अधिनायकत्वलाई बीपीले महिला पात्रमार्फत धावा बोलेका छन् । समाजमा महिलामाथि शासन गर्न सजिलो अस्त्र नै उसको यौनिकता हो । यौनिकतालाई लिएर उसको निर्णय गर्ने अधिकार छिन्नभिन्न पारिएको हुन्छ । उसको आत्मबल गिराइएको हुन्छ । यद्यपि महिलाको शरीरमाथि पुरुषले शासन गरिरहेको छ । जस्तै उसले के लाउने, नलाउने ? कहाँ जाने, नजाने ? के गर्ने, नगर्ने ? बच्चा जन्माउने, नजन्माउने ? कोसँग र कहाँ बोल्ने, नबोल्ने ? यस्ता विषयमा पुरुषले अधिनायकत्व जमाइरहेको छ । आख्यानका स्त्री पात्रहरू मार्फत महिलालाई आत्मनिर्णय र शरीरमाथिको निर्णयमा स्वअधिकार हुनुपर्ने मुद्दा उठेका छन् । बीपीले अर्को कुरा भनेका छन्– स्त्रीहरूलाई मर्यादापूर्ण मनोरञ्जनका रूपमा लिन्छन् र त्यसलाई संस्कारको लेपन दिन्छन् ।

‘तीन घुम्ती’ उपन्यासमा उनले स्त्री पात्रमार्फत भनेका छन्– प्रेम, विवाह, यौन अलगअलग विषय हुन् । इन्द्रमायाले जेलमा रहेका पीताम्बरलाई लोग्ने मानिरहेकी छन् । तर, पीताम्बर जेलमा रहेकै बेला इन्द्रमायालाई गर्भवती हुन मन लाग्यो । पीताम्बरको साथी रमेश, जो राजनीतिमा छ र आकर्षक पनि, उहीसँग इन्द्रमायाले यौन सुखभोग मात्रै लिन्नन्, गर्भवती पनि हुन्छिन् । चलनचल्तीमा इन्द्रमाया रमेशलाई देवर भन्छिन् । ‘साली फकाउनै पर्दैन, आधा हकवाली’ भनेर भिनाजुले बोल्ने भाष्य स्थापित भएको समाजमा बीपी भाउजूले देवरसँग खुसीखुसीको सम्बन्ध राखेको देखाउँछन् । भिनाजु–सालीको जति नाता हो, देवर–भाउजूको नाता पनि त्यति नै हो भनेर खबर दिएका छन् ।

इतरको यौनसम्बन्ध राखेपछि गर्भवती भएकी केटी छोडेर भाग्ने गरेका समाजका ठिटाझैँ रमेश पनि इन्द्रमायादेखि भाग्छ । रमेश भागे पनि नेवारकन्या इन्द्रमायालाई आत्मविश्वास छ । लोग्ने नभएका बेला यौनइच्छा पूरा गर्नु र आमा हुन मन लागेको जागृति पूरा गर्नु आफैँमाथिको न्याय हो । महाभारतकी दरिली पात्र कुन्तीले पनि आफ्नो कोखबाट अलग–अलग पुरुषार्थी पुरुषको नियोगबाट चार सन्तान जन्माइन् । तर, पति पाण्डुलाई मानिन् । इन्द्रमायाले पनि आकर्षक युवक रमेशबाट छोरी जन्माइन्, तर पति पीताम्बरलाई नै मानिन् । पूर्वीय दर्शनमा स्थापित स्त्री यौन चेतनालाई जागृत गराएका छन् बीपीले ।

पीताम्बर जेलबाट छुटेपछि ऊ अस्पतालमा सुत्केरी भएकी इन्द्रमायालाई भेट्न जान्छ । इन्द्रमाया भन्छिन्– छोरीलाई हेर्नुहुन्न ? हेर्नुस् । पीताम्बर अस्पतालमा लागेको शुल्क तिरेर छोरी र श्रीमतीसँग घर आउँछ, इन्द्रमायालाई भन्छ– छोरीलाई अनाथालयमा राख या त्याग । पीताम्बरको कुराले इन्द्रमायालाई लाग्छ– सन्तान छोडेर बस्नुपर्‍यो भने प्राण नभएकी दासी हुनुपर्छ । त्यसैले पीताम्बरको कुरा मान्न इन्द्रमाया तयार छैनन् ।

इन्द्रमाया पीताम्बरलाई भन्छिन्– शारीरिक सम्बन्ध राखेकै भरमा कोही कसैका पति हुने भए धेरै लोग्नेमान्छे वेश्याका पति हुन्थे । प्रजातन्त्रका लागि जेल परेको पीताम्बरभन्दा दरबारको नजिक रहेकी इन्द्रमाया अधिक क्रान्तिकारी र समाजवादी छिन् । प्रजातन्त्र र समाजवादको विगुल फुकिएको समयमा पीताम्बरजस्ता मान्छेले ल्याएको शासन व्यवस्था महिलाहरूका लागि हुनेछैन भनेर बीपीले जानेका हुन्, त्यसैले इन्द्रमायाजस्ता समाजवादी पात्र उभ्याए । पीताम्बरले प्रश्न गर्दा ‘मेरो सतित्व तिम्रो खाँचोको विषय होइन’ जवाफ दिँदै इन्द्रमाया आफ्नो खुसी, स्वनिर्णय र स्वत्वको पक्षमा उभिएकी छन् । एउटी नेवार कन्या घरसँग विद्रोह गरेर

ब्राह्मण युवकसँग विवाह गर्छिन् । मन परेको आकर्षक युवकसँगको सहवासबाट सन्तान जन्माउँछिन् । पीताम्बरले छोड्दा पनि अडिग भएर छोरीसँग बस्छिन् । जति हन्डर–ठक्कर खाए पनि उनी विगतसँग कहिल्यै पछुताइनन् । परिवर्तनका लागि विगतमा गरिएका कामलाई लिएर नपछुताउनु असली विद्रोहीको सूचक हो । बीपीले परिकल्पना गरेको समाजवाद त्यस समाजका हरेक नागरिकले समान अवसर पाउनुपर्छ भन्ने नै हो । तर, पीताम्बरजस्ता पुरुषले समाजवादलाई पुरुषवाद ठान्छन् भन्ने जानेर नै बीपीले इन्द्रमाया जगाएको हुनुपर्छ ।

‘सुम्निमा’ उपन्यासमा किरात–कन्या सुम्निमा र ब्राह्मण सोमदत्तलाई ल्याएका छन् बीपीले । स्त्रीहरू आध्यात्मिक हुन्छन् भन्ने भाष्य तयार गरी स्त्री यौनलाई अधिकारभित्र लिने आर्य समाजमा आएर सुम्निमा स्त्रीहरूलाई पनि भौतिक सुखको तृप्ति जरुरी छ भन्ने जानकारी दिन्छिन् । पहिलो भेटमा सुम्निमा सोमदत्तलाई भन्छिन्, ‘आफ्नो परिचय दिँदा बाबुको नाम किन भनेको ? आमाले बाउ हो भनेर देखाइदिएको मान्छे मात्रै लोग्ने हुन्छ । तिमीले त आमाको नाम पो भन्नुपर्ने हो त !’ यी हरफले पुष्टि गर्छन् झन्डै साठी वर्षअघि बीपीले सुम्निमामार्फत आमाको नाम स्थापित गर्न खोजेका छन् । तर, आज पनि नागरिकतामा भर्नुपर्ने सबै व्यहोरा भरिन्छ र आमाको नाममा इन्टु चिह्न लगाइन्छ । नानीहरूका लागि आफ्नो भविष्य बिसाएर बसेका आमाहरूलाई विद्यालयले, राज्यले, समाजले सम्झिँदैनन् । आमाको परिचयबाट उभिँदा बच्चालाई इन्कार गर्छन्, प्रश्न गर्छन् । हाम्रो शासन प्रणालीमा सोमदत्त चरित्रमाथि बीपीले सुम्निमालाई प्रश्न गर्न लगाएका थिए । आज पनि त्यो प्रश्न उत्तिकै मुखर छ । आमाको नाम किन भनिँदैन ? आमाले देखाइदिएको मान्छे बाउ हो भनेर कहिले बुझ्छ समाज ?

आदर्शका कुरा गरेर शरीरले माग्ने प्राकृतिक सुखबाट भाग्न खोज्ने सोमदत्तलाई सुम्निमा सम्झाउँछिन्– शरीर क्षणिक छ र त यसलाई छिट्टै खुसी पार्नुपर्छ त ! यसले जेजे मागेको हुन्छ, त्यसलाई परितृप्त गराउनुपर्छ । स्त्रीले शरीरको चाहना मारेर अरूका लागि बाँच्नुपर्छ भनी सिकाउने आर्य समाजलाई सुम्निमाको सन्देश छ– यौनसुख अध्यात्मभन्दा पनि माथिको पवित्र कर्म हो ।

पुलोमाको सोमदत्तसँग दिनहुँ पूजापाठपछिको चरम शारीरिक र मानसिक थकानपछि हुने असफल नियोगको प्रयासभन्दा उच्च छ– भिल्लसँग अलौकिक यौनतृप्तिपछिको गर्भाधान । स्त्रीको यौनतृप्ति होस् या गर्भाधान, कुनै पनि वैदिक पूजा र मन्त्रपाठभन्दा उच्च र शक्तिशाली छ । यस कर्मका लागि अयोग्य लोग्ने नै कुरेर खुम्चिनुपर्ने बाध्यात्मक परिस्थिति स्त्रीलाई छैन भन्ने शास्त्रज्ञान जानेकी पुलोमा र किरातकन्या सुम्निमालाई समाजका स्थापित मान्यताविपरीत उभ्याएर बीपीले मुद्दा खडा गरेका छन् ।

सोमदत्त यौनकुण्ठित पुरुष हो । यौनकुण्ठितहरू सधैं धर्मका ठेकेदार र संस्कारी देखिने प्रयास गर्छन् । सुम्निमा र पुलोमामा यौनतुष्टि छ । त्यसैले उनीहरू कुनै धर्म या संस्कारको ठेक्का लिनुको साटो आफ्नो शरीर र मनलाई न्याय गरेर स्त्रीधर्ममा बाँचे । मोदिआइन अत्यन्तै शक्तिशाली र विद्वान् पात्र हुन्, जसले हटाहा तलाउ कसरी बन्यो भन्ने प्रसंग लिएर महाभारतको सारा कथालाई बाह्रतेह्र वर्षको किशोरले बुझ्ने भाषामा बताउँछिन् । महाभारत दर्शन र सामाजिक मुद्दा भएको कथा हो । किशोरलाई कथा सुनाउँदै द्रौपदीको चीरहरणको प्रसंगमा मोदिआइन भन्छिन्– चीरहरण नारीको अपमानको सूचक मात्र होइन, अपरिहार्य अनिष्टको सूचक हो । विसं २०२० मा लेखिएको ‘मोदिआइन’ उपन्यासकी मोदिआइनको उद्घोष सामान्य होइन । नारीलाई हकअधिकारबाट वञ्चित गराइनु, उनीहरूको शारीरिक बनोटलाई हियाउनु र महिलाहरूलाई राज्य–शासकले गरेको अपमानको घाउको मूल्य चुकाउन महँगो पर्छ भन्ने चेतावनी एक साधारण देखिने असाधारण मोदिआइनले किशोरलाई सुनाएकी छन् । त्यो किशोर भोलिको शासकको प्रतीक हो । मोदिआइन सारा स्त्रीकी आवाज हुन् ।

स्त्रीले गीता पढ्दा बौलाउँछन् भन्ने समयमा महाभारतको कथालाई पुनर्कथन गरेर मोदिआइनले सुनाएकी छिन् । कथामा एउटी क्षत्रिय कन्या छिन्, जसले एक पुरुषलाई बिहे गरेर ल्याउँछिन् । वि.सं २०२० मै कन्याले बिहे गरेर केटालाई ल्याएको पात्र परिकल्पना गर्ने लेखक हुन्– विश्वेश्वरप्रसाद कोइराला । राजनीतिक समाजवादका कुरा त थुप्रै भए । राजनीतिले किचेका स्त्रीहरूका लागि समाजवादको परिकल्पना साहित्यमार्फत बीपीले गरेका छन् । उनको प्रख्यात उद्गार छ– मानिस ठूलो हुनुभन्दा पनि असल बन्नुपर्छ । खासमा यो उद्गार मोदिआइनले कथा सुनाउँदा किशोरलाई भनेकी हुन् । भन्छिन्, ‘ठूला मान्छे थरीथरीका हुन्छन् । असल मान्छे एकै खालका हुन्छन् । त्यसैले ठूलो मान्छे बन्न कोसिस नगर्नु, असल मान्छे बन्नु ।’ दार्शनिक कुरा गर्न सक्ने मोदिआइन विशेष पात्र हुन् ।

मोदिआइन, सुम्निमा, पुलोमा, भोटेनी दिदीबहिनी, विधवा, मुनरिया, इन्द्रमायाजस्ता पात्रहरू जन्माएर समाजमा यस्ता महिला आउनुपर्छ भन्ने परिकल्पना बीपीले गरेका छन् ।

त्रिकोण सम्बन्ध भएको ‘बाबु आमा र छोरा’ उपन्यासमा छोराकी प्रेमीका जो गर्भवती छ, उनको नाम उमा हो । उमाको बिहे जबर्जस्ती प्रेमीको बाबुसँग गरिदिन्छन् । जन्मने बच्चाको बाबु को हो ? उसको परिचय कसका नामबाट बन्ला ? यो उपन्यास पढेपछि दिमागमा प्रश्न आइरहन्छ । त्यो जन्मिएर बालिग भएपछि नागरिकता बनाउन जाला । त्यसबेला बाबुको नाम सोध्लान् । आमाले के भन्दि हुन् ? आमाको परिचयलाई इन्कार गर्ने समाजमा यस्ता घटना पनि हुँदा हुन् । त्यसैले कतिपय अबस्थामा बाबुको नाम सोध्नु कति सान्दर्भिक हुँदो हो !

त्यागी, संस्कारी, बिनाप्रश्न कर्तव्यपरायण हुनु, केही नजान्ने हुनु, यौन अधिकार नखोज्नुलाई स्त्रीधर्म सम्झने समयमा बीपीले इन्द्रमाया, पुलोमा, सुम्निमा, मोदिआइनजस्ता पात्र उभ्याएर समाजमाथि गम्भीर प्रश्न छोडेका छन् । आजपर्यन्त बीपीलाई यस दृष्टिकोणबाट बुझ्न समाज तयार छ कि छैन ?

महिलाका आवाज पूर्वीय दर्शनको जगमा उभिएर निर्माण गरिएको छ । उनका कुनै पनि स्त्रीपात्र सहानुभूति दिनुपर्ने र कमजोर छैनन् । दर्शनकै जगमा उभिएको समाजको विपरीत ध्रुवमा उभिएर, त्यही दर्शन बोकेर स्त्रीपात्रहरूले आफ्ना आवाज दिइरहेका छन् । लेखकको धरातल पनि पूर्वीय दर्शन हो । उनी ‘हिटलर र यहुदी’ उपन्यासमा भन्छन्, ‘म ब्राह्मण कुलमा जन्मिएको हुँ । तर, आफूलाई त्यसबाट अलग राखेको छु ।’ यस उपन्यासका पात्र नारायण र रेवाबीच महिलाका पहिरनको चर्चा गर्नु व्यर्थ हो भन्ने भावको संवाद हुन्छ । जबकि अहिले पनि महिलाका पहिरनको चर्चा गर्दै संस्कार भत्कियो, भत्किएन भनेर चिन्ता गर्नेहरू छन् ।

अर्को महत्त्वपूर्ण मुद्दा– महिला पात्रमार्फत सामाजिक अन्तरघुलनका विषय छन् । ती महिला पात्र परिवर्तनकारी छन्, पुरुषले गरेको यौनको शासनलाई तोड्न सक्ने जुझारु छन् । नेवार कन्या इन्द्रमाया ब्राह्मणकोमा आउनु, किरातकन्या सुम्निमाले सोमदत्तलाई मानवदहमा लगेर नुहाइदिनु, भोटेनीकेटी राइटरबाजेकोमा प्रवेश गर्नु, पुलोमाले भिल्ललाई परिकल्पना गर्नुजस्ता घटनाहरू सामाजिक अन्तरघुलनका मुद्दा हुन् । आख्यानका पात्रहरूले जहिल्यै समयसापेक्ष व्याख्या बोकेको हुन्छ । बीपीलाई साहित्यमा अराजक भनिए पनि उनी समाज सुधारक हुन् । अहिले पनि महिलाले हक, अधिकार र दमनविरुद्ध आवाज उठाउँदा डलरे, उग्रनारीवादीको बिल्ला भिराइन्छ । त्यस्तो समाजमा बीपीले महिलाको आवाज थुन्ने यन्त्र नै ‘पुरुषले महिलामाथि गर्ने यौनशासन प्रमुख हो’ भनेर देखाइदिएका छन् । बीपीका आख्यानहरू पुरुष मनोविज्ञानबाट समालोचना भए । उनले जीवन्त बनाएर आवाजसहित ब्युँताएका महिला पात्रमाथि सही समालोचना र व्याख्या नपाएर ती पात्रहरूको आत्मा भड्किरहेको छ ।

राज्य व्यावस्थाले अनागरिक ठान्ने पात्रहरूलाई साहित्यको मूलधारमा ल्याएर किनारीकृतका आवाज उठाएका छन् उनले । लेखनको धर्म सीमान्तीकृतको आवाज मुखर गराउनु हो । सदैव किनारामा रहेका स्त्रीजातिमाथि जुन अस्त्रले बन्धनमा पारियो, त्यही अस्त्र भाँचिदिने काम बीपीले गरेका छन् ।

साहित्यले बीपीलाई मनोवैज्ञानिक लेखक भनेर स्थापित गर्‍यो । यदि बीपी महिला लेखक थिए भने उनको आख्यानलाई समालोचकहरू के भनेर समालोचना लेख्थे होलान् ?

जो बीपीका अनुयायी छन्, जसले बीपीलाई महामानव भनेर पुकार्छन्, के तिनीहरू उनले उभ्याएजस्ता स्त्री पात्रलाई समाजमा स्थापित गर्न तयार छन् ? परिवर्तित समाज स्थापनार्थ बीपीको समाजवादभित्र आख्यानका पात्रलाई जिउँदाजाग्दा बनाएर समाज निर्माण गर्न तयार छन् ?

प्रकाशित : भाद्र ३०, २०८० ११:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?