२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३५१

तातियो चुनावी माहौल

जितेन्द्र साह

काठमाडौ — निर्वाचनको पूर्वसन्ध्यामा सोमबार कांग्रेस महाधिवेशनको चुनावी माहौल चरमोत्कर्षमा पुग्यो । उम्मेदवार, मतदाता, प्रचारक र समर्थक सबैलाई भ्याइनभ्याई भयो ।


कांग्रेसको झन्डावाल पजेरो, कार र जिपले टुँडिखेल पूरै ढाकियो । महाधिवेशनस्थल भृकुटीमण्डपद्वारमा उम्मेदवारका तस्बिरसहित प्रदर्शन भए । सडकै ढाकेर राष्ट्रिय सभागृहअगाडि भ्रातृ संगठन नेपाल सांस्कृतिक संघले कार्यक्रम गर्‍यो । वरिपरिका क्याम्पसहरूमा समेत उम्मेदवार र मतदाताको गुटबन्दीको तमासा देखियो । जताततै भिजिटिङ कार्ड र पर्चाको छेलोखेलो थियो  ।
महाधिवेशनस्थलदेखि प्रतिनिधि बसेका होटलसम्म चुनावी चहलपहल उस्तै रह्यो । 'आइतबार राति त ११ बजेसम्म मत माग्दै उम्मेदवारहरू आए, सोमबार त के सुत्ने देलान्,' धादिङ सल्यानटारका फणिकान्त छतकुलीले भने । उनी ३६ जना साथीसँग ठमेलको पिक माउन्टेन होटलमा बसेका छन् । उनले आफूसँग ५० प्रतिशत उम्मेदवारले मत मागिसकेको बताए । 'ठूलादेखि साना सबैले मत मागे,' छतकुलीले भने ।
सुशील दा, शेरबहादुर देउवा र भीमबहादुर तामाङजस्ता वरिष्ठ नेताको पक्षले शक्ति प्रदर्शन गर्दै मत माग्दा पार्टी एकीकरणमा असर पर्ने उनले बताए । महाधिवेशनस्थल वरिपरि ठूला नेताको पोस्टर, पम्प्लेट र ब्यानर टाँगेर 'कांग्रेस जिन्दावाद' को नारा लगाउँदै मत मागिरहेका थिए । 'नचिनिएका युवा पुस्ताले माग्नु स्वाभाविक हो,' छतकुलीले भने, 'स्वविवेकले तास फिटेझैं उम्मेदवार फिटेर मत दिने हो ।'
संघको सांस्कृतिक कार्यक्रम सडक अवरुद्ध हुने गरी दिउँसोदेखि रातिसम्म भयो । 'नेपालमा शान्तिको हावा सरर, कांग्रेसको चार तारे झन्डा फरर,' गीत तथा बीपीको समाजवाद र गिरिजाबाबुको 'अभियान, शान्ति र संविधान' को नारा एकसाथ गुन्जिरहेको थियो ।
चुनाव प्रभाव होटलमा बसेका महिला प्रतिनिधिसम्म उत्तिकै पुगेको थियो । 'मत कसरी दिने ? प्यानल कसरी छान्ने ? र पार्टीलाई मजबुत कसरी बनाउनेबारे मध्यरातिसम्म छलफल गरिरहेका छौं,' नुवाकोट बुङताङकी लालीमाया तामाङले भनिन् । उनी नयाँबजारको रिभर प्रालि होटलमा २९ जना साथीसँग बसेकी छन् । 'भेटेर त छँदैछ, बधाई दिँदै क्रान्तिकारी एसएमएस पठाएरसमेत मत मागिरहेका छन्,' उनले भनिन्, 'फोन आएर हैरान छु ।' लालीमायाले तीन जनालाई प्यानलबाटै मत दिने र अरूलाई स्वतन्त्र रूपले मत दिने बताइन् ।
ठमेल, गौशाला, सुन्धारा र बागबजार क्षेत्रका १ सय ३ होटलमा आइतबार रातिदेखि झन्डावाला गाडीसहित उम्मेदवार हिँडिरहेका
छन् । उम्मेदवारका अनुसार यतिबेला मतदाता रिसाउन्नन् । मत नदिए पनि मतदाताको भावना बुझ्नलाई भए पनि मत मागिरहेको उनीहरूले बताए । होहल्लामा बस्न नसकेका केही व्यक्तिको आइतबार राति होटल परिवर्तन गरेको आवास तथा भोजन व्यवस्थापन समितिले जनाएको छ ।
'उम्मेदवार भेट्नलाई कार्यकर्ता पठाउनुभन्दा आफैं जानुपर्छ भन्नेमा विश्वास राख्छु,' केन्द्रीय सदस्यकी उम्मेदवार उर्मिला -केसी) नेपालले भनिन्, 'यसले उनीहरूको आकांक्षा बुझ्न सहज हुन्छ ।' दुई सातायता बिहान सात बजेदेखि राति आठ बजेसम्म प्रचारमा खटिरहेकी उर्मिलाले १ हजार ५ सय मतदातासँग मत मागिसकेको बताइन् । महाधिवेशनमा ३ हजार ८८ प्रतिनिधि छन् । 'सोमबार रातिसम्म पनि सबै साथीको दैलोमा पुग्छु,' उनले भनिन् ।
भुकुटीमण्डपको चौर ढाक्ने गरी फालिएको पर्चा, भिजिटिङ कार्ड र पम्प्लेटमा उनको पटक-पटक ध्यान गइरहेको थियो ।
भृकुटीमण्डप छिर्न र निस्कन नपाउँदै प्रत्येक उम्मेदवारको प्रचारकले हातमा जबर्जस्ती थमाउने पर्चाले हैरान पारेको थियो । 'जताततै यस्तै छ, राति १२ बजेसम्म मत माग्न आइराखेका छन्,' गौशालाको एक होटलमा बसेका धनुषा तारापट्ट िसिर्सियाका रामवरण रजकले भने । उनले आफूसँग करिब २ सय ५० उम्मेदवारले मत मागिसकेको बताए ।
भृकुटीमण्डप वरिपरिको क्याम्पसमा गुटबन्दी र प्यानलबाजी भइरहेको देखिन्थ्यो । ठूला र साना सबै खालका नेताले मतदातालाई बाटो नबिराउन आग्रह गरिरहेको थिए । 'दलितबाट आएको हुनाले चरित्र हेरेर मत दिन्छु, नयाँ पुस्तामा कांग्रेस हस्तान्तरण होस्,' रजकले भने । तीनवटै खेमाको कार्यकर्ता समर्थक नाचगान गर्दै आ-आफ्नो पक्षमा मत मागिरहेका थिए । महाधिवेशनस्थलभित्र पनि भोट माग्दामाग्दै थाकेपछि उम्मेदवारहरू थचक्क चौरमा बस्थे । 'म त प्यानल जान्दिनँ,' केन्द्रीय सदस्यकी उम्मेदवार इलामकी निर्मला प्रसाईंले सुस्ताउँदै भनिन्, 'खाँटी कांग्रेसीलाई मत खसाल्नुपर्छ ।' उनले बिहान साढे पाँच बजेदेखि राति दस बजेसम्म मत मागिरहेको बताइन् । 'यो अन्तिम घडी हो, साथीहरूलाई फोन र एसएमएस पनि गर्दैछु,' उनले भनिन् ।
वरिपरि भइरहेको होहल्ला र हुटिङले उनी निकै तनावमा थिइन् । 'यो महाधिवेशनमा तडकभडक बढ्यो, उदेकलाग्ने गरी प्रचार गरेको देखियो,' इलामकी पूर्वजिल्ला सभापति निर्मलाले २०३१ सालदेखि कांग्रेसमा लागेको अनुभव सुनाउँदै भनिन्, 'यस्तै भयो भने दुःख गरेर आउने र विपन्नहरू योग्यता हुँदाहुँदै पनि आगामी दिनमा उम्मेदवारी दिन सक्दैनन् ।'
होटलहरूबाट प्राप्त जानकारीअनुसार सत्ता र शक्तिमा पहुँच भएका उम्मेदवारले जागिर लगाइदिने र भनेको काम गरिदिने भन्दै सोमबार रातिसम्म मत मागिरहेका छन् । 'मत माग्नेक्रम साँझपछि अझै तीव्र भएको छ, म पनि नसुती भोट माग्ने तयारीमा छु,' सिरहा इटाटार-६ का देवनाथ पासवानले भने । पशुपति गौशाला बस्दै आएका उनी दलितबाट केन्द्रीय सदस्यका उम्मेदवार हुन् । पासवानले बिहान आठ बजेदेखि रातिसम्म भोट मागिरहेको बताए । 'मसँग पैसै भएन, ९ सय मात्र भिजिटिङ कार्ड छपाएँ,' उनले भने, 'यसले खासै असर पर्दैन, मैले सबैसँग मत मागिसकेको छु ।'
नगद, सुरा र सुन्दरीको निर्वाचनमा व्यापक प्रयोग भएको बारेमा सोध्दा उनले भने, 'यो खुला गोप्य हो, यी सबको पछि नलागी मतदाताले हामी जस्तालाई मत दिएर जिताउने विश्वास लिएको छु ।' महाधिवेशनस्थल र होटलहरूमा सोमबार राति पर्वको झैं माहौल थियो ।    
 

प्रकाशित : आश्विन ५, २०६७ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लगानी सम्मेलन-२०२४ मा सरकारले 'सोकेस' मा राखेका परियोजनाहरूको सूची कस्तो लाग्यो ?