१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६५

राम्रो कविता र राम्रो सडक

काठमाडौ — कवि रमेश क्षितिजले स्थानीय विकास अधिकारी भएर रोल्पा गएको दुई वर्षमा 'देश' देख्नुको अनुभव प्राप्त गरेका छन् । कविताका विम्बमा भुल्ने मनलाई सडक निर्माण र खानेपानी योजनाले पनि छुन थालेको छ ।

जीवनको करिब साढे दुई दशकको काठमाडांै बसाइपछि पहिलोपल्ट एउटा दुर्गम जिल्ला रोल्पामा स्थानीय विकास अधिकारीको जिम्मेवारीको पत्र सरकारले थमाएपछि कवि रमेश क्षितिजको मनभरि युद्धका अनेकौं तस्बिरहरू नाचिरहे । भत्किएका गाविस भवन, उजाडिएका बस्तीहरू, युद्धले आक्रान्त मानिस र सयौं दुःखान्त ।
द्वन्द्वबाट भर्खर फर्किएको रोल्पामा आइपुग्दा उनीसँग दुई प्रकारका सपना थिए । पुनर्निर्माण र पूर्वाधार विकासको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्ने र अर्कोचाहिँ रोल्पा छाडेर जाँदा द्वन्द्वको विषयमा लेखिएको उपन्यासको पाण्डुलिपि सँगै लैजाने । 'रोल्पा आएपछि मैले युद्धको भग्नावशेषमात्र होइन, नजिकबाट देशको तस्बिर र सम्भावना पनि देखें,' उनले भने । उनले लेखे, 'सुन्दर रोल्पा समृद्ध रोल्पा, पौरखी जनताको गतिशील रोल्पा' । उनको यो गीतलाई जिल्लाको समग्र विकासको दूरदृष्टिका रूपमा १४ औं जिल्ला परिषद्ले पारितसमेत गर्‍यो ।
राजधानी काठमाडौंमा उनलाई धेरैले कविका रूपमा चिन्छन् । त्यसपछि मात्र उनी सरकारी कर्मचारी हुन् भन्ने भेउ पाउँछन् । उनका 'अर्को साँझ पर्खेर साँझमा' कवितासंग्रह र 'आफै आफ्नो साथी भएँ' गीतसंग्रह प्रकाशित छन् । करिब एक सय गीतहरू रेकर्डेड र प्रसारित छन् । कथासंग्रहका लागि उनको पाण्डुलिपि पनि तयारी अवस्था छ ।
'आँखाभरि हिउँचुली छमछम बग्ने खोला, फेरियो कि मेरो गाउँ अझै उस्तै होला' उदितनारायणले गाएको उनको यो गीतलाई साक्षी राखेर रोल्पाका गाउँहरूलाई सम्झने हो भने गाउँको स्वरूप केही हदसम्म फेरिएको स्विकार्न कर लाग्छ । उनी रोल्पा आइसकेपछि स्थानीय विकास अधिकारीको रूपमा धेरै नयाँ कामको सुरुआत भयो । पश्चिमी रोल्पाको जिनाबाङ-सुखाओढार सडकको निर्माणपछि त्यहाँ पहिलोपल्ट गाडी पुग्यो । माडीचौर-घर्तीगाउँ सडकको सुरुआत, माडीचौर-दारबोट सडक स्तरोन्नति, जिविसभित्रको प्रशानिक सुधार, उपभोक्ता समितिलाई दण्ड र जरिवानाको थालनी, जिल्ला विकास नामक रेडियो कार्यक्रमको सञ्चालन, पत्रकारसहित सर्वदलीय अनुगमनको सुरुआत आदिले रोल्पाली जनतामा आशाको सञ्चार भयो । तर कवि र उपन्यासकारका रूपमा भने उनका योजनाहरू क्रमागत अवस्थामै छन् ।
द्वन्द्वबाट शान्ति र निर्माणतिर उन्मुख रोल्पाको स्थानीय विकास अधिकारीको भूमिका निर्वाह गर्दा उनी थुप्रै द्वन्द्वग्रस्त पात्रहरूलाई दिनहुँजसो भेटिरहन्छन् र तिनलाई आफ्नो उपन्यासमा उभ्याउने कल्पना गरिहन्छन् । सर्वदलीय संयन्त्रमै भाग लिने राजनीतिक नेताहरू नै युद्धबाट कुनै न कुनै रूपमा प्रभावित भएको देख्दा र पुराना कथाहरू सुन्दासमेत क्षितिजलाई उपन्यासको आधारभूमि तयार भएको जस्तो लाग्छ ।
उनले निर्वाह गरेको स्थानीय विकास अधिकारीको भूमिकाप्रति संयन्त्रमा रही विगत दुई वर्षदेखि सँगै काम गर्दै आएका नेपाली कांग्रेस रोल्पाका सभापति कृष्णबहादुर घर्तीमगर भन्छन्, 'हामीले तीन चारवटा एलडीओहरूसँग काम गर्‍यौं । अहिलेका एलडीओ विकास गरौं भन्ने भावनाले काम गर्छन् । कानुन र प्रक्रियाबमोजिम मात्र काम गरौं भन्छन् । उनले गरेको विकास प्रयास समग्रमा राम्रो छ ।' यस्तै रोल्पा क्षेत्र नं १ की निर्वाचित सांसद जयपुरी घर्तीमगर भन्छिन्, 'अहिलेका एलडीओले सबैसँग सहकार्य र समन्वय गरेरै काम गरिरहनुभएको छ । विकासप्रति पनि उहाँको लगाव राम्रो छ ।'
'मानिसलाई सदरमुकाम आइपुग्नै दुई-तीन दिन लाग्ने रैछ,' उनले दुर्गमको अर्थ बताए । कवि हृदयले बनाएको देशको समग्र चित्रमा बिस्तारै 'टाढाका बस्ती' ले चिहाउँदै छन् । 'हामी गाउँमा जान्छौं । शिक्षा, स्वास्थ्य र विकासका कुरा गर्छौ तर मान्छेलाई हरेक दिन बाँच्ने पिरलो छ । स्कुल जाने छोराछोरीलाई काममा लगाए वर्षभरिको छाक टार्न मद्दत हुन्छ कि भन्ने छ,' दुई वर्ष रोल्पामा बिताएपछि उनले देश बुभ\mन थालेको अनुभूति गरेका छन् । साथै चेतनाको लहर पनि उनले देखेका छन् । 'अलि वर्ष पहिलासम्म मान्छेहरू सीडीओ र एलडीओ भनेपछि डराउँथे तर अहिले गाउँका मान्छे जिविसमा आएर हाम्रो गाउँमा योजना किन परेन भनेर थर्काउँछन्,' यस्ता अनुभवले चाहिँ उनलाई आनन्द दिन्छन् ।
कुनै बेला अधिकांश समय कविता, गीत, विम्ब र प्रतीकहरूको कुरा गर्दै बित्थ्यो । तर अहिले प्रायः उनको दिन बाटो, खानेपानी, सडक, सडकको ग्रेड, नीति निर्देशन, बैठक र भाषणमा बित्छ । उनी भन्छन्, 'एउटा राम्रो सडक बनाउनु र एउटा राम्रो कवितासंग्रह प्रकाशन गर्नु उस्तै-उस्तै हो । एउटा सुन्दर गीत लेखेर श्रोतालाई सन्तुष्ट पार्नु र एउटा खानेपानीको योजना सम्पन्न गरेर गृहिणीहरूको अनुहारमा खुसी देख्नु उस्तै हो ।'
यसरी फरक भूमिका निर्वाह गर्दा उनलाई कस्तो लाग्छ ? रमेश क्षितिज भन्छन्, 'जीवन सुन्दर र रमाइलो छ । मानिस जहाँ र जसरी बाँचे पनि जीवनलाई अर्थपूर्ण बनाउनुपर्छ । रोल्पा मेरा लागि जागिर र लेखन दुवै अर्थमा एउटा विशाल पुस्तक भएको छ ।' उनी थप्छन्, 'यहाँको अनुभव र अनुभूतिले मेरो लेखनलाई पनि थप ऊर्जा दिनेछ । देशलाई यति नजिकबाट चिन्ने अवसर पाउनु मेरा लागि आपै+mमा एउटा अवसर हो ।'

प्रकाशित : पुस १७, २०६७ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?