१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६५

अलौकिक चेतनाका धनी

काठमाडौ — नेपाली कांग्रेसका संस्थापक नेता तथा नेपाली जनआन्दोलनका अग्रणी नायक कृष्णप्रसाद भट्टराई आज ८७ वर्षमा प्रवेश गर्दै हुनुहुन्छ ।

डाक्टरहरूले चिकित्सा विज्ञानअनुसार असहज देखिएको उहाँको वर्तमान स्वास्थ्यस्थिति चमत्कारिक हिसाबले सहज बन्दै गएकोमा स्वयम् डाक्टरहरू नै आश्चर्य व्यक्त गर्दैछन् । कसैप्रति कहिल्यै कुभलो नचिताउने अत्यन्त विनयशील शैलीमा सहज मुस्कुराहटका साथ सबैसँग प्रस्तुत हुने उहाँको अलौकिकपनले आज पनि उहाँसामु उपस्थित हुने जोकोही आकषिर्त हुने गर्छन् ।
उहाँले आफ्नो सम्पूर्ण राजनीतिक संघर्ष कसैबाट कहिल्यै प्रभावित नभई देशभित्रै रहेर राष्ट्र र जनताको पक्षमा अविचलित अडान लिनुभएको, १४ वर्षको कठोर कारावास झेल्नुभएको, जीवनका अनेक राजनीतिक घात, प्रतिघात, अन्तरघातलाई पनि अत्यन्त सहजतापूर्वक निष्कामभावले ग्रहण गर्दै आफ्नो नैतिक चरित्र, इमानदारिता र लोकतान्त्रिक आदर्शयुक्त मूल्य-मान्यतामा अडिग रहने विशिष्ट चरित्रका कारण नै उहाँप्रति निरन्तर आकषिर्त र प्रभावित रहेको छु ।
प्रजातन्त्र पुनर्बहालीको आन्दोलन ०४६ को सफलतापश्चात अन्तरिम प्रधानमन्त्रीका रूपमा निर्धारित समयसीमाभित्रै संविधान निर्माण र निर्वाचन सम्पन्न गर्नु, चुनावमा आफू हारेर पनि पार्टी र प्रजातन्त्रलाई जिताउनु उहाँको कालजयी योगदान हो । हुकुमी शासनमा चलेको ऐतिहासिक राजसंस्थालाई स्वेच्छाबाट संवैधानिक मर्यादाभित्र ल्याएर समयसीमा दुई वर्षभित्रै संविधान ल्याएर निर्वाचनसमेत सम्पन्न गर्नु लरतरो चुनौती थिएन । उहाँ लोकतान्त्रिक नैतिक मूल्य-मान्यताको एकमात्र जीवन्त प्रतिमूर्तिका रूपमा हाम्रामाझ हुनुहुन्छ । उहाँ प्रधानमन्त्री हुनुभएपछि एकदिनको कुरो हो, उहाँका सहोदर भतिजा विनोद भट्टराईलाई उनको योग्यता क्षमता हुँदाहुँदै पनि सरकारी निकायमा नियुक्ति हुँदा नातावादको अवगाल आउन सक्ने ठानेर अत्यन्त विनयपूर्वक कुनै पनि नियुक्तिमा प्रयास नगर भन्नुभयो र विनोदले पनि त्यस अनुरोधलाई सहर्ष स्वीकारे । त्यस्तै अर्काे एकदिनको कुरो किसुनजीले धेरै वर्षसम्म कुपन्डोलस्थित भान्जा ध्रुवको घरको छिडीमा बिताउनुभएको थियो । आफ्ना दिदीको अनुरोधमा स्व. शेखइदि्रश र मेरो रोहवरमा उद्योगमन्त्री ढुण्डीराज शास्त्रीलाई कुनै साधारण एउटा मोटरसम्म सुविधा पाउने र अरू केही गर्न नसक्नेगरी सम्भव भए भान्जा ध्रुवलाई कतै मिलाउन भन्नुभयो ।
नेपालको जननिर्वाचित प्रधानमन्त्रीलाई प|mान्सबाट प्राप्त ऐतिहासिक राजकीय भ्रमणको निम्तो मानेर र्फकेपछि राजिनामा गर्न पार्टीमा भएको सहमति विपरीत आफ्नै दलका सांसदहरूबाट प्रस्तुत भएको अविश्वासको प्रस्तावलाई व्यवस्थित गर्न सकिन्छ भन्दा ठाडो अस्वीकार गरी उहाँले आफ्नो विवेकले देखेको कुरा संसदमार्फत राष्ट्रलाई अविस्मरणीय जुन सम्बोधन गर्नुभयो र नेपालको वर्तमानमा देखिएको सत्ता र स्वार्थ राजनीतिबाट उहाँको जुन स्वैच्छिक बहिर्गमन भयो, भोलिका राजनीतिक कर्मी तथा विद्यार्थीका लागि एउटा अध्ययन- अनुसन्धानको विषय छ ।
राजनीतिक-सामाजिक जीवनभन्दा पर सबैले प्रत्यक्ष अनुभूत गर्न नसक्ने अलौकिक अाध्यात्मिक चेतनाका विशिष्ट साधक भएकै कारणले विशिष्ट साधकहरूसँग उहाँको आफ्नै किसिमको अनुराग एवं सामिप्यता रहेको पाइन्छ । आजको जन्मदिवसको कार्यक्रममा नेपालका महामहिम राष्ट्रपति, प्रधानमन्त्री, दलका नेताहरू, विशिष्ट समाजसेवी, बुद्धिजीवीहरूको उपस्थितिको साथै प्रख्यात आध्यात्मिक सन्त श्री पाइलटबाबा अमेरिकाबाट आफ्नो व्यस्त कार्यक्रम छोडेर किसुनजीलाई जन्मदिनको शुभकामना एवं आशिर्वाद प्रदान गर्न उहाँकै अतिथिको रूपमा नेपाल सरकारद्वारा निर्माणाधीन बाडेगाउँस्थित आश्रममा पुस १६ देखि १८ सम्म विश्राम गर्दै हुनुहुन्छ । यस्ता अरू धेरै साधुसन्तहरूको शुभकामना आशिर्वादका साथ कृष्णप्रसाद भट्टराई प्रतिष्ठानले आम इच्छुक महानुभावहरूलाई पनि आज अपराह्न १ बजेदेखि ४ बजेसम्म शुभकामना दिने अवसर प्रदान गरेकोमा स्वागतयोग्य छ । मेरो पनि किशुनजीको दीर्घायु र सुस्वास्थ्यका लागि मुरीमुरी शुभकामना ।

प्रकाशित : पुस १७, २०६७ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?