शशांकको सनसनी

‘एकपल्ट किनिसकेपछि तत्काल फिर्ता गर्न नपाइने’ प्रावधानका कारण ‘भूलवश’ अनुबन्धित भए पनि छत्तीसगढका शशांक सिंह पञ्जाव किंग्सका लागि यसपल्टका विशेष खेलाडी बनेका छन् 
हिमेश

काठमाडौँ — यस सिजनमा शशांकले निकै राम्रो खेलेका छन् । उनी निकै भलादमी पनि छन् । उत्तिकै विशेष खेलाडी पनि हुन् । उनी जत्तिको खेलाडी हुनु ठूलै कुरा हो । उनले जसरी खेलिरहेका छन्, त्यो अविश्वसनीय छ ।’ इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा शुक्रबार राति पञ्जाव किंग्सले कीर्तिमानी जित निकालिसकेपछि जोनी बियरस्टोले यस्तो प्रतिक्रिया दिएका थिए ।

शशांकको सनसनी

कोलकाता नाइटराइडर्समाथि पञ्जावको जित आफैंमा अविश्वसनीय रह्यो । कोलकाताको इडेन गार्डेनमा भएको खेलमा कोलकाताले पहिले ब्याटिङ गर्दै ६ विकेटमा २ सय ६१ रन बनाएको थियो । लागिरहेको थियो, यत्तिको स्कोर भन्नु त ट्वान्टी/२० क्रिकेटमै पनि जितका लागि पर्याप्त छ ।

तर इंग्लिस ब्याटर बियरस्टो र शशांक सिंहले मनमा बेग्लै कथा बुनिरहेका थिए । पञ्जावले प्राप्त गरेको यो विजय, लक्ष्य पछ्याउने क्रममा कुनै टिमले पार गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो स्कोर हो । अझ पञ्जावले १८.४ ओभर मात्रै उपयोग गरेर दुई विकेटको नोक्सानीमा २ सय ६२ रन बनायो । यसअघि दोस्रो इनिङ्समा सफलतापूर्वक पछ्याएको कीर्तिमान दक्षिण अफ्रिकाका नाममा थियो ।

उसले सन् २०२३ मा वेस्ट इन्डिजविरुद्ध पाँच विकेटमा २ सय ५८ रन बनाएर जित निकालेको थियो । अहिलेको पञ्जावको जितमा बढी चर्चा त बियरस्टोकै भइरहेको छ । आखिर उनले त्यसमा १ सय ८ रन बनाएका थिए, त्यो पनि नटआउट । उनी नै ‘प्लयेर अफ द म्याच’ रहे । त्यही अवार्ड थाप्ने क्रममा उनले शशांकको प्रशंसा गरेका हुन् । साँच्चै यो जितमा यी भारतीय ब्याटरको पनि उत्तिकै योगदान रह्यो । उनले २८ बलमा ६८ रन बनाएर नटआउट रहे ।

यसपल्टको आईपीएल सुरु हुँदा सबैका लागि कौतूहल थियो, यी शशांकचाहिँ को हुन् त ? फेरि इडेन गार्डेनकै खेलमा फर्कने हो भने शशांकको योगदान उत्तिकै देखिन्छ । पञ्जावले दुई विकेट गुमाएपछि उनी क्रिजमा आएका थिए, खेल उनको पकडबाट धेरै टाढा थियो । उनलाई प्रमोट गरेर माथि खेल्न पठाइएको थियो । सुरुमा उनी केही संयमित देखिए । तर एकपल्ट के खुले, अन्त्यमा २४२.८५ को स्ट्राइकमा रन बनाए, जसमा २ चौका र ८ छक्का सामेल छन् ।

सम्भवतः शशांक को हुन्, सबैले यो उत्तर त पाइसकेका छन् । त्यही इडेन गार्डेनमा खेल सुरु हुनुअगाडिसम्म पनि एउटा कथा सुन्दै सुनाउँदै आइएको थियो । त्यस अनुसार अक्सनमा पञ्जावले शशांकलाई गल्तीले किनेको हो । त्यस अक्सनमा शशांक सिंह नामका दुई खेलाडी थिए । एक थिए ३२ वर्षीय शशांक र अर्का १९ वर्षीय शशांक । सुरुमा किशोर शशांकको नाम आयो, उनमा कसैले रुचि देखाएनन् ।

बंगालका यी खेलाडीले अहिलेसम्म प्रथम श्रेणीको क्रिकेट पनि खेलेका छैनन् । पछि लगत्तै यी शशांकको नाम आयो, पञ्जावले २० लाख भारतीय रुपैयाँमा उनलाई किनिहाल्यो । उनले पछिल्लो सिजन सनराइज हैदरावादका लागि खेलेका थिए । नाटकीय मोड त्यतिबेला आयो, जतिबेला पञ्जावका मालिक नेस वाडिया र प्रीति जिन्टाले हात उठाएर आफूले शशांकबारे गरेको निर्णय फेर्न चाहेको सुनाए । तर निर्णय सुनाइयो, ‘एकपल्ट किनिसकेपछि फिर्ता गर्न पाइन्न ।’

अहिले यिनै छत्तीसगढका शशांक पञ्जावका लागि यसपल्टका विशेष खेलाडी बनेका छन् । उनले अहिलेसम्म आफूले खेलेका ९ खेलमा ६५.७५ को सानदार औसतमा रन बनाएका छन् । उनको स्ट्राइक रेट १८२.६४ रहेको छ अनि २ सय ६३ रन बनाएका छन् । यस क्रममा उनले दुई अर्धशतक पनि बनाएका छन् । यसबीच भारतीय मिडियाले खुबै लेखेका छन्, पञ्जावले अक्सनका बेला गरेको गल्ती अहिले काम लागिरहेको छ । यो गल्ती त थियो, तर यसबाट पञ्जावलाई साँच्चै फाइदा भएको छ ।

सायद यस्तै कुरा सुन्दासुन्दा पञ्जावलाई दिक्क लागेको छ र उसले आधिकारिक रूपमै भनेको पनि छ, ‘हामी आधिकारिक रूपमै भन्न चाहन्छौं, शशांक सिंह किन्ने हाम्रो लक्ष्य नै थियो । उस्तै नाम भएका दुई खेलाडी भएकाले द्विविधा भने भएको हो । उनलाई आफ्नो खेलाडी बनाउन पाएकामा हामी खुसी छौं र टिमको सफलतामा उनको योगदान अझ बढी हुने विश्वास पनि गर्छौं ।’ भनेपछि पञ्जावले तिनै शशांकलाई किन्न खोजेको थियो, जसले अहिले खेलिरहेका छन् ।

शशांक पनि के कम, त्यसमा प्रतिक्रिया दिएका छन्, ‘ठीक छ नि ! मलाई विश्वास गरेकामा ।’ तर पनि उनीबारे पुरानै कथा सुन्ने सुनाउने काम रोकिएको छैन । सायद, यो रोकिने पनि छैन । खास कुरा के भने उनको प्रदर्शन कमजोर भएको भए, उनीबारे चर्चा नै हुने थिएन । तर उनले राम्रो खेले, त्यसैले त सबैले उनीमाथि रुचि देखाए । अहिलेसम्म उनको प्रदर्शन हेर्दा भन्न करै लाग्छ, पञ्जावले ढुंगा खोज्दा देवता भट्टाएकै हो, त्यसपछाडि कारण जे–जस्ता भए पनि ।

प्रकाशित : वैशाख १६, २०८१ ०६:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्थानीय तहको २६ प्रतिशत वित्तीय अनुदान कटौती गर्ने सरकारको निर्णयबारे तपाईं के धारणा छ ?