रोहितको आक्रामक शतकमा नेपालको जित

वेस्ट इन्डिज ‘ए’ विरुद्ध शनिबारको खेलमा शतकीय पारी खेलेका कप्तान रोहितले आफ्नो उत्कृष्ट इनिङ्स आउन बाँकी रहेको बताए
विनोद पाण्डे

काठमाडौँ — नेपाल भ्रमणमा आएकामध्ये हालसम्मकै सबैभन्दा बलियो क्रिकेट टोलीमा पर्छ वेस्ट इन्डिज ‘ए’ । यही टिमबाट कम्तीमा दुई खेलाडी अर्को महिना हुने ट्वान्टी–२० विश्वकपमा वेस्ट इन्डिज टोलीमा स्थान बनाउन खोजिरहेका छन् । १० जना खेलाडीले त यसअघि नै राष्ट्रिय टिमबाट खेलिसकेका पनि हुन् । 

रोहितको आक्रामक शतकमा नेपालको जित

शनिबार घरेलु दर्शकले खचाखच कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ‘ए’ विरुद्ध आक्रामक शतक हाने । तीव्र गतिका बलर ओबेड म्याकोयलाई १८औं ओभरको सुरुवातमै लगातार चौका र दुई रन हान्दै उनले ४७ बलमा शतक पूरा गरेका हुन् । ओबेड तिनै बलर हुन्, जसले दुई वर्षअघि भारतविरुद्धको ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा १७ रन खर्चेर ६ विकेट लिएका थिए । शतकप्रेरित घरेलु टोली नेपालले ट्वान्टी–२० शृंखलाको पहिलो खेलमा ४ विकेटको स्मरणीय जित पनि हात पार्‍यो ।

रोहितकै शतकीय पारीमा नेपालले २ सय ५ रनको लक्ष्य दुई बल बाँकी छँदै पूरा गरेको थियो । ट्वान्टी–२० मा रोहितको यो पहिलो शतक हो । जुन स्थिति र प्रतिद्वन्द्वी थियो, त्यस हिसाबमा रोहितको यो उत्कृष्ट इनिङ्स थियो । आफूले नेपालको टिम सम्हालेयताको १५ महिनामा यो नै नेपाली खेलाडीको उत्कृष्ट इनिङ्स भएको भन्दै प्रशिक्षक मोन्टी देसाईले खुसी व्यक्त गरे । तर, रोहितले भने यसलाई नै आफ्नो उत्कृष्ट मान्न चाहेनन् । भने, ‘मेरो उत्कृष्ट इनिङ्स आउन अझै बाँकी छ ।’

२७ बलमा अर्धशतक पार गरेका उनले समग्रमा ५४ बलमा १ सय १२ रन बनाउँदा १० चौका र ६ छक्का प्रहार गरेका थिए । उनी १९औं ओभरको पाँचौं बलमा आउट भए । त्यसपछि आएका प्रतिश जिसीले पहिलो बलमै चौका प्रहार गरेपछि अन्तिम ओभरमा नेपाललाई जितका निम्ति ९ रन चाहिन्थ्यो । गुलसन झा र प्रतिशले पहिलो दुई बलमा १–१ रन लिएपछिको अर्को दुई बलमा गुलसनले लगातार चौका प्रहार गरे । गुलसन ४ बलमा ९ र प्रतिश २ बलमा ५ रन बनाई अविजित रहे ।

नेपालले यस जितसँगै ५ खेलको शृंखलामा अग्रता लिएको छ । अघिल्लो साता ओमानमा भएको एसीसी प्रिमियर कपमा नेपाल एसिया कपमा छनोट हुनबाट चुकेको थियो । निराशाजनक प्रदर्शनबाट दबाबमा रहेको नेपाली टिमको मनोबल शनिबारको उपलब्धिले एक महिनापछि हुने विश्वकपका लागि उच्च बनाउने प्रशिक्षक देसाईले बताए । नेपालले जुन ४ मा अमेरिकाको डालासमा नेदरल्यान्ड्सविरुद्ध खेलेर ट्वान्टी–२० विश्वकपको यात्रा सुरु गर्दै छ । जुन ११ मा फ्लोरिडामा श्रीलंकाविरुद्ध खेल्नेछ । त्यसपछि वेस्ट इन्डिज लाग्ने नेपालले सेन्ट भिन्सेन्टमा जुन १४ र १६ मा क्रमशः दक्षिण अफ्रिका र बंगलादेशसँग खेल्नेछ ।

‘फ्लोरिडाको विकेट यहाँको जस्तै छ । त्यो पृष्ठभूमिलाई हेर्ने हो भने निश्चय पनि आजको जितले ठूलो आत्मविश्वास दिन्छ,’ नेपाल भ्रमणमा आइदिएकोमा वेस्ट इन्डिजलाई विशेष धन्यवाद दिँदै प्रशिक्षक देसाईले भने, ‘वेस्ट इन्डिज आफैंले पनि यस शृंखलालाई विश्वकप तयारीका रूपमा लिएको छ ।’

ओपनरद्वय अनिल साह ९ बलमा ५ रन तथा कुशल भुर्तेल १२ बलमा १६ रनमात्र बनाई आउट भएपछि दबाबमा परेको घरेलु टिमबाट कप्तानी इनिङ्स खेल्न रोहित क्रिजमा आएका थिए । पछिल्ला तीन खेलमा शून्यमै आउट भएका भुर्तेलले ३ चौका प्रहार गरे । कुशल मल्ल पनि १५ बलमा १६ रन बनाई सस्तैमा आउट भए । उनले रनआउट हुनुअघि १ चौका र १ छक्का प्रहार गरेका थिए । विशाल लक्ष्यसहित मैदानमा उत्रेको नेपालले १० ओभरमा ८२ रन बनाउँदा ३ विकेट गुमाइसकेको थियो ।

धर्मराएको नेपाललाई कप्तान रोहित र दीपेन्द्रसिंह ऐरीले चौथो विकेटका लागि ३३ बलमै ६४ रनको आक्रामक साझेदारी गर्दै उकासेका थिए । दीपेन्द्रले १८ बल खेल्दै २ चौका र १ छक्कासहित २४ रन बनाए । विवेक यादव ६ बलमा ७ रन बनाई आउट भए । वेस्ट इन्डिजका म्याकोयले ४ ओभरमा ३४ र म्याथ्यु फोर्डेले ४ ओभरमा ४९ रन खर्चेर समान २–२ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको क्यारेबियन टोलीले ५ विकेट गुमाई २ सय ४ रन बनाएको थियो । पहिलो ४ ओभरमा ५० र पावर प्लेको पहिलो ६ ओभरमा ७७ रन जोडेर वेस्ट इन्डिजले आफ्नो आक्रामक शैली पेस गरेको थियो । एलिक एथान्जे र कप्तान रोस्टन चेजले इनिङ्स तानेपछि वेस्ट इन्डिज ‘ए’ ले विशाल स्कोर बनाएको हो । चेजले ७४ रन बनाए ।

अन्तिम ओभरमा दीपेन्द्रको बलमा आउट हुनुअघि उनले ४६ बल सामना गर्दै ९ चौका र २ छक्का प्रहार गरे । चेज अर्धशतक बनाएपछि मात्र खुलेर खेल्न लागेका थिए । अर्धशतक बनाएलगत्तै उनले कमलसिंह ऐरीको एकै ओभरमा ४ चौका र १ छक्का प्रहार गरे ।

ओपनर एथान्जेले २५ बलमा ५ चौका र ३ छक्का प्रहार गरी ४७ रन बनाए । पहिलो ओभरमै कमलले जोहन्सन चार्ल्सलाई शून्यमा बोल्ड गरे पनि एथान्जेले आफ्नो आक्रामक इनिङ्स कायमै राखेका थिए । चार्ल्सको स्थानमा आएका एन्ड्र्यु फ्लेचरले दीपेन्द्रलाई लगातार बलमा छक्का प्रहार गरे पनि अर्को ओभरमा रोहितको चुस्त थ्रोमा रनआउट हुन पुगे । एथान्जे र चेजले तेस्रो विकेटका लागि ४३ रनको साझेदारी गरे । चेज र किएसी कार्टीले चौथो विकेटमा ६० रनको साझेदारी बनाए । कार्टीले २६ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै ३८ रन बनाएका थिए ।

अनुभवी तीव्र गतिका बलरद्वय सोमपाल कामी र करण केसीबिना नै खेलिरहेको नेपालबाट अविनाश, रोहित, दीपेन्द्र र कमलले १–१ विकेट लिए । अविनाशले ४ ओभरमा २८ रनमात्र खर्चे भने दीपेन्द्रले ३ ओभरमा ३० रन दिए । रोहितले आफ्नो एकमात्र ओभरमा १० रन दिए । कमलले ३ ओभरमा ५३ रन खर्चे । ललित राजवंशीले ४ ओभरमा ३४ रन खर्चे । दुवै टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने ट्वान्टी–२० विश्वकपको तयारीका लागि यो शृंखला खेलिरहेका हुन् । शृंखलाको दोस्रो खेल आइतबार हुनेछ ।




प्रकाशित : वैशाख १६, २०८१ ०६:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्थानीय तहको २६ प्रतिशत वित्तीय अनुदान कटौती गर्ने सरकारको निर्णयबारे तपाईं के धारणा छ ?