वर्षेनी डढेलोले क्षति

भवानी भट्ट

कञ्चनपुर — एक साताअघि दोधारा चाँदनी नगरपालिका–७ बाबाथानको सचिव टोलमा आगलागी हुँदा करिब १० विघा भन्दा बढीको गहुँ खेतमै जलेर सखाप भयो ।

वर्षेनी डढेलोले क्षति

विद्युत् लाइन सर्ट भएर खेतमा सल्केको आगोले १९ परिवारको काटन तयार भएको गहुँ पुरै सखाप भयो । दोधारा चाँदनीपछि जिल्लाका अन्य स्थानमा पनि आगलागीका घटना भएका छन् । प्रहरीका अनुसार वैशाखयता मात्रै एक दर्जन बढी स्थानमा आगलागीका घटना भएका छन् । चालु आर्थिक वर्षमा विभिन्न स्थानमा ५७ वटा आगलागीका घटनामा १ कारोड ११ लाख बढीको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी उमेश जोशीले बताए ।

यतिबेला गहुँ काटेको खेतमा आगो लगाउने चलन छ । बढ्दो गर्मी र हावाहुरीका कारण आगोले विकराल रुप लिएर नियन्त्रण गर्नै मुस्किल हुन्छ । अहिले पश्चिम तराई दिनहुँ गर्मी बढ्दो छ । गर्मीसँगै दिउँसोको समयमा 'लू' पनि चल्ने गरेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र पनि गत साता डढेलोले ठूलै रुप लियो । गहुँ काटेको खेतबाट लागेको डढेलो नियन्त्रणमा लिन निकुञ्ज प्रशासनलाई निकै गाह्रो भयो । डढेलो निकुञ्ज कार्यालय सम्मै पुग्यो । ‘निकुञ्जसँगै जोडिएको खेतबाट डढेलो लागेको हो,’ निकुञ्जका संरक्षण अधिकृत मनोज ऐरले भने, ‘अहिले नियन्त्रणमा आइसकेको छ ।’ निकुञ्जको धेरै भागमा डढेलो लागेर नियन्त्रणमा आएको उनले बताए ।

उसो त निकुञ्जभित्र फागुनदेखि नै नियन्त्रित रुपमा आगो लगाइन्छ । सुरुमा घाँसे मैदानमा नियन्त्रित रुपमा आगो लगाइन्छ भने त्यसपछि फायर लाइन आदी निर्माण गरेर आगो लगाइन्छ ।

‘सुरुमा आगो लगाएको ठाउँमा घाँस बिरुवा पलाएर राम्रो भइसकेको छ,’ ऐरले भने, ‘फेरि डढेलो लागेर केही वन क्षेत्र प्रभावित भएको छ ।’ कञ्चनपुरको चुरे क्षेत्रमा पनि आधार दर्जन बढी स्थानमा डढेलो लागेको छ । पछिल्लो एक सातादेखि उक्त क्षेत्रमा डढेलो लागेको डिभिजन वन कार्यालयले जनाएको छ । डढेलो माथिल्लो भेगमा भएका कारण नियन्त्रणमा लिन पनि नसकिने डिभिजन वन कार्यालयका सूचना अधिकारी शिवराज अवस्थीले बताए । उनकाअनुसार डढेलोका कारण ३ सय हेक्टर वन क्षेत्र प्रभावित भएको छ ।

‘अहिले कञ्चनपुरका र डडेलधुराको सीमासम्म डढेलो पुगेको छ, उक्त क्षेत्रमा जान सकिने अवस्था छैन,’ अवस्थीले भने, ‘बस्ती भन्दा निकै टाढा र जान सकिने अवस्था पनि छैन ।’ उनका अनुसार ब्रम्हदेव, बेदकोट र कृष्णपुर नगरपालिकाको क्षेत्रमा डढेलो लागेको बताए । यसैगरी लालझाडी मोहना संरक्षित क्षेत्रको पिपरैया क्षेत्रमा पनि डढेलो लागेको उनले बताए । उक्त डढेलो भने स्थानीय र वनकर्मीले नियन्त्रणमा लिन सफल भएका छन् ।

डढेलोले चुरे क्षेत्रमा वर्षेनी ठूलो मात्रामा वन क्षेत्र प्रभावित हुने गरेको छ । केही ठाउँमा बटुवाले जथाभावी आगो फाल्दा डढेलो लाग्ने गरेको छ । कतिपय चोरी तस्करीका लागि पनि डढेलो लगाउने गरेको पाइन्छ । डढेलो लगाएर वन्यजन्तु तथा काठ तस्करी पनि हुने गरेको छ ।


प्रकाशित : वैशाख १६, २०८१ १८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले यस वर्ष ल्याउने वार्षिक नीति तथा कार्यक्रम मुख्य रुपमा कुन क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ ?