पाल्पाका दर्जन बढी स्थानमा भीषण डढेलो
पाल्पा — जिल्लाका दर्जन बढी स्थानमा आइतबार भीषण डढेलो लागेको छ । तानसेन श्रीनगरडाँडाको उत्तरतर्फको जंगलमा तीन दिनदेखि डढेलो नियन्त्रण आउन नसकेको स्थानीयले बताए । गोर्खेकोटतर्फबाट लागेको डढेलो कैलाशनगर क्षेत्रसम्म आएको छ ।
तानसेन श्रीनगरको उत्तरतर्फको तल्लो श्रीनगर वन, उकालेपिपल वन लगायत श्रीनगर पर्यापर्यटन सामुदायिक वनमा भीषण डढेलो नियन्त्रणमा लिए पनि हावाहुरीले पुनः फैलिएको डिभिजन वन कार्यालयले जनाएको छ ।
तानसेन नजिकै धरमपानी, बन्दीपोखरा लगायतका स्थानमा पनि तीन दिनयता डढेलो नियन्त्रणमा आउन सकेको छैन । रम्भा गाउँपालिकाको अगाहाखोला, रिब्दीकोटको जंगलमा पनि तीन दिनयता लागेको डढेलो नियन्त्रणमा आएको छैन । तिनाउका झुम्सा, दोभान, कोलडाँडा लगायतका स्थानमा पनि डढेलो नियन्त्रणमा नआएको डिभिजन वन कार्यालयले जनाएको छ ।
अहिलेसम्म ९५ स्थानमा लागेको डढेलोले २ हजार ३ सय ६८ हेक्टर क्षेत्रफल जंगल सखाप भएको डिभिजन वन कार्यालयका सूचना अधिकारी संयोग बस्नेतले जानकारी दिए । जिल्लाकै तिनाउ, रैनादेवी छहरा, माथागढी, निस्दी गाउँपालिकाका साथै रामपुर नगरपालिका, पूर्वखोला गाउँपालिकामा डढेलो लागिरहेको छ । जंगलमा लागेको डढेलो नियन्त्रणमा लिने प्रयास भइरहे पनि पुनः लाग्ने गरेको को डिभिजन वन कार्यालय पाल्पाका सूचना अधिकारी बस्नेतले जानकारी दिए ।
पाल्पामा पछिल्लो साता १४ घर तथा गोठ जलेर नष्ट भएको छ २० वटाभन्दा बढी पशु चौपायाको मृत्यु भएको छ । निस्दीमा ६० मिटर खानेपानी पाइप जलेको छ । माथागढीको झडेवा र रैनादेवी छहराको सिद्देश्वरमा गरी दुई जना डढेलो निभाउने क्रममा घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार घर, गोठ, चौपाया जल्दा जिल्लामा लाखौको क्षति भएको छ ।
खेतबारीका झाडी जलाउँदा, वन्यजन्तुको आक्रमण रोक्न, चुरोट, बिँडी खाएका ठूटा जंगलमा फ्याँक्दा, आगोको जथाभाबी प्रयोग गर्दा डढेलो नियन्त्रणमा नआएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले बताए ।
प्रकाशित : वैशाख १६, २०८१ १६:२७