२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५३

संस्कृतिको संरक्षण र नैतिक ज्ञानको लागि गुरुकुल शिक्षा : पर्यटनमन्त्री तामाङ

रासस

त्रिशूली — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले संस्कृतिको संरक्षण र नैतिक ज्ञानको प्रवाह गर्न गुरुकुल शिक्षाको आवश्यकता रहेको बताएका छन् ।

संस्कृतिको संरक्षण र नैतिक ज्ञानको लागि गुरुकुल शिक्षा : पर्यटनमन्त्री तामाङ

नुवाकोटको शिवपुरी गाउँपालिका–६ त्रिवेणीधाममा शुक्रबार श्रीकृष्ण तीर्थस्थल वेद विद्याश्रम (गुरुकुल) को शुभारम्भ गर्दै उनले संस्कृति, संस्कार र जीवनको ज्ञान दिन गुरुकुल शिक्षालाई सरकारले प्राथमिकतामा राखेको बताए ।

'समग्र शिक्षामा गुरुकुल शिक्षाको विशेष महत्व छ', उनले भने, 'साधारणधारका शिक्षासहित नैतिक मूल्य, चरित्र विकास, नैतिकता, अनुशासन र आध्यात्मिकता सिकाउन गुरुकुल शिक्षाको महत्व पृथक् रहेको महसुस गरेका छौं ।'

विगतको तुलनामा अहिले शिक्षाको महत्व र जीवनको उपयोगी सीपमा अपेक्षाअनुसार प्रयोग नभएको भन्दै उनले रोजगारको लागी प्राविधिक शिक्षा जस्तै संस्कृतिको संरक्षण र नैतिकवान बनाउन गुरुकुल शिक्षा अत्यावश्यक रहेको उनको भनाइ छ ।

शिवपुरी गाउँपालिका वडा नं ६ र ७ तथा पञ्चकन्या गाउँपालिका वडा नं ५ को संगममा अवस्थित त्रिवेणीधाममा सञ्चालनमा ल्याइएको श्रीकृष्ण तीर्थस्थल वेद विद्याश्रममा हाल तीन जना गुरुबाट अध्यापन गराउन छ विद्यार्थीबाट गुरुकुल अध्ययन सुरु गरिएको छ ।

लिखु, खहरे (कन्यावती) र स्यालपिङ (सत्यावती) खोलाको संगममा रहेको त्रिवेणीधामको पवित्र भूमिमा गुरुकुल अध्ययनका लागि उत्कृष्टस्थल भएको ‘त्रिवेणीधाम सुधार तथा संरक्षण संस्था’ का संस्थापक अध्यक्ष रामकृष्ण थापाले बताए । उनको अनुसार गुरुकुल पाठ्यक्रमले वेद, दर्शन, कला, विज्ञान, गणित, खगोल विज्ञान, संगीतसहित शिक्षाबाट दक्ष पण्डित उत्पादनमा टेवा पुर्‍याउने लक्ष्य छ ।

'परम्परागत ज्ञान, सांस्कृतिक प्रचलन र स्वदेशी ज्ञानको संरक्षणमा गुरुकुल शिक्षाको महत्व अत्यधिक रहन्छ,' उनले भने, 'जन्मले होइन, कर्मले विद्या सिकाउन स्थानीयको योगदानबाट गुरुकुल अध्ययन केन्द्र सञ्चालन गरिएको हो ।'

शिवपुरी गाउँपालिकाको पूर्वअध्यक्षसमेत रहेका थापा परिवारबाट गुरुकुल अध्ययन गराउने विद्याश्रमसहित उक्त स्थानमा त्रिवेणीधाम र ज्येष्ठ नागरिक आश्रम निर्माणको लागि डेढ रोपनी जग्गा निःशुल्क उपलब्ध गराइएको छ । सोही स्थानमा नै सुविधासम्पन्न आवश्यक संरचना निर्माण भएसगैँ विद्याश्रम सञ्चालनमा ल्याइएको हो । सोही स्थानमा ज्येष्ठ नागरिक आश्रम, विभिन्न देवीदेवताको मन्दिर, ध्यान केन्द्र सञ्चालनमा रहेको छ ।

प्रकाशित : वैशाख २८, २०८१ २२:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?