मुटुरोग विशेषज्ञ डाक्टर अनिलको विश्व रेकर्ड

मुटुरोग रोकथामसम्बन्धी कार्यक्रममार्फत ‘गिनिज वर्ल्ड रेकर्डस्’ र ‘वर्ल्ड बुक अफ रेकर्डस् लन्डन’ बाट दुई रेकर्ड कायम
कान्तिपुर संवाददाता

काठमाडौँ — वरिष्ठ मुटुरोग विशेषज्ञ तथा लेखक डा. ओममूर्ति अनिलले मुटुरोग रोकथामसम्बन्धी जनचेतनामूलक सामग्री प्रस्तुति गरेर दुई प्रतिष्ठित विश्व रेकर्ड कायम गरेका छन् । शुक्रबार पत्रकार सम्मेलन गरेर ‘गिनिज वर्ल्ड रेकर्डस्’ र ‘वर्ल्ड बुक अफ रेकर्डस् लन्डन’ मा दुई विश्व रेकर्ड कायम गरेको उनले जानकारी गराए ।

मुटुरोग विशेषज्ञ डाक्टर अनिलको विश्व रेकर्ड

फेसबुक लाइभमा ‘कार्डियोभास्कुलर स्वास्थ्य सचेतनाका लागि सबैभन्दा बढी दर्शक’ विधाअन्तर्गत ‘गिनिज वर्ल्ड रेकर्ड’ कायम गरेको अनिलको भनाइ छ ।

उनले गत सेप्टेम्बर २९ मा विश्व मुटु दिवसका अवसर पारेर आफ्नो फेसबुक पेजबाट मुटुरोग रोकथामसम्बन्धी जनचेतनामूलक लाइभ प्रस्तुति गरेका थिए । साँझ ७ बजेर १५ मिनेटदेखि सुरु भएको आधा घण्टा लामो उक्त वैज्ञानिक प्रस्तुतिमा एकै पटक ११ हजार २ सय १२ जनाले लाइभ हेरेका थिए । उक्त प्रस्तुतिलाई ९ हजार जनाले सेयर गरेका थिए । त्यस क्रममा २० हजार लाइक र १८ हजार कमेन्ट आएका थिए । फेसबुक लाइभ सकिँदासम्म १ लाख ५० जनाले हेरेका थिए ।

‘आधा घण्टा लामो वैज्ञानिक प्रस्तुतिलाई त्यति ठूलो संख्यामा नेपाली नागरिकले अन्त्यसम्म हेरेर विश्व रेकर्ड कायम गर्न साथ दिएका थिए,’ पत्रकार सम्मेलनमा उनले भने, ‘व्यक्तिगत क्षमता, सीप र पहिचानभन्दा भिन्न उद्देश्य बोकेको यस रेकर्डले संसारभरका मानिसका लागि प्रेरणाको स्रोत सावित हुनेछ, सामाजिक उत्थान र समाजप्रतिको जिम्मेवारीबोध गराउने यस्तो कार्यले आममानिसलाई मार्गदर्शनसमेत हुने विश्वास छ ।’

अनिलले मुटुरोग रोकथामका विषयमा लामो समयदेखि फेसबुकमार्फत जनचेतनामूलक अभियान सञ्चालन गर्दै आएका छन् । अतिथि वक्ता भएर लगातार ४४ हप्ताको एपिसोडमा मुटुरोग रोकथामसम्बन्धी अन्तर्वार्ता दिएबापत उनले गत मार्चमा दोस्रो विश्व रेकर्ड कायम गरेका थिए । उनले सन् २०१३/१४ मा इमेज एफएममा अतिथि वक्ता भएर मुटुरोग रोकथामसम्बन्धी अन्तर्वार्ता दिएबापत ‘वर्ल्ड बुक अफ रेकर्ड लन्डन’ कायम गरेका हुन् ।

अनिल सामाजिक सञ्जाललाई सदुपयोग गर्न सके सकारात्मक परिवर्तन ल्याउन सकिन्छ भन्ने उदाहरण बनेका छन् । ‘मेरो विचार र सन्देश प्रवाहका निम्ति सामाजिक सञ्जाल प्रभावकारी भएको छ,’ उनी भन्छन्, ‘यसले स्वास्थ्य चेतनाका क्षेत्रमा नयाँ आयाम पनि थपेको छ ।’ स्वस्थ जीवनशैली र मुटुरोगसम्बन्धी उनका प्रस्तुतिहरूलाई सामाजिक सञ्जालमा अत्यधिक रुचाइन्छन् । यसबारे उनले सन् २०१७/१८ मा हरेक शनिबार एक वर्षसम्म लगातार ‘फेसबुक लाइभ’ सञ्चालन गरेका थिए । उक्त अवधिमा हजारौं मानिसका विभिन्न समस्या, जिज्ञासालाई प्रत्यक्ष प्रसारणमै सम्बोधन गरेको उनको भनाइ छ ।

उनले कोभिड महामारीका बेला जनचेतनामूलक भिडियो तथा जानकारीहरू पोस्ट गरेर मानिसहरूलाई स्वास्थ्य सतर्कताबारे सुसूचित गरेका थिए । मुटुरोगसँगै उच्च रक्तचाप, मधुमेहलगायतका विभिन्न दीर्घरोगीका समस्यालाई प्रस्तुत गर्दै आएका छन् । लकडाउनको समयमा सर्वसाधारणको स्वास्थ्य सेवाको पहुँच खुम्चिएको थियो । उनले फेसबुकलगायत सामाजिक सञ्जालमा सचेतनामूलक सामग्री पस्केर लाखौं मानिससमक्ष सहायता पुर्‍याएका थिए । यसको अलावा उनले दूरदराजका मानिसलाई निःशुल्क टेलिमेडिसिन, फेसबुक, ह्वाट्सएप र भाइबरमार्फत निःशुल्क स्वास्थ्य परामर्श प्रदान गर्दै आएका छन् ।

मुटुरोग विशेषज्ञ भएर काम गर्दै जाँदा उनी मुटुरोगबारे चेतनाको अभावमा हृदयघात भई ज्यान गुमाइरहेका मानिसहरूको प्रत्यक्षदर्शी बने । यसपछि उनले सचेतना जगाउने उद्देश्यले सन् २०१३ मा ‘म पनि डाक्टर’ नामक पुस्तक पाठकमाझ ल्याए । यसमा हृदयघात, मुटुरोगका लक्षण, यसको रोकथामका उपाय तथा स्वस्थ जीवनशैलीलगायत विषयलाई प्रस्तुत गरिएको छ । समुदायमा चिकित्सा ज्ञान र स्वास्थ्य सेवा सुधार गर्ने प्रतिबद्धताअनुरूप उनले पाँच हजार प्रति उक्त पुस्तक स्वास्थ्यकर्मीलाई निःशुल्क रूपमा वितरणसमेत गरेका थिए । हालै उनले ‘जीवन्त सम्बन्ध’ नामक पुस्तक ल्याएका छन् । सामाजिक रूपान्तरणका विषयमा लेखिएको पुस्तकलाई छोटो समयमै पाठकहरूबाट रुचाइएको उनको भनाइ छ । अनिलको नेतृत्वमा सन् २०१४ मा काठमाडौंमा मुटुरोगसम्बन्धी स्वास्थ्य शिविर भएको थियो । उक्त शिविर दुई सय जना स्वयंसेवकको सहयोगमा ११ दिनसम्म सञ्चालन भएको थियो ।

५ हजार ६ सय जनाभन्दा बढी व्यक्ति प्रत्यक्ष लाभान्वित भएका थिए । करिब ५० लाख रुपैयाँ खर्च भएको उक्त शिविरको अधिकांश खर्च अनिलले व्यक्तिगत रूपमा व्यहोरेका थिए । शिविरमा सहरी क्षेत्रमा बसोबास गर्ने वयस्क मानिसमा मुटुरोगको जोखिमका बारेमा अध्ययन गर्ने उद्देश्य राखिएको थियो । यसबाट सहरी युवाहरूमा मुटुरोगको जोखिमका बारेमा स्पष्ट खाका तयार भएको थियो । यसबापत उनी सन् २०१८ मा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्बाट प्रतिष्ठित ‘उत्कृष्ट अनुसन्धान पत्र’ पुरस्कारबाट पुरस्कृत भएका थिए । स्वास्थ्य सचेतनाका विषयमा उनले लेख, तस्बिर, भिडियो, रेडियो/टेलिभिजन अन्तर्वार्ताको माध्यमबाट योगदान दिन थालेको १२ वर्ष भइसकेको छ ।

उनले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जबाट एमडीमा स्वर्णपदक जितेका छन् । एसियाको प्रतिष्ठित स्वास्थ्य शिक्षण संस्था अखिल भारतीय चिकित्सा विज्ञान संस्थान (एम्स) बाट डीएम कार्डियोलोजी तथा अमेरिकन कलेज अफ कार्डियोलोजीबाट (एफएसीसी) र विश्वस्तरको सोसाइटी फर कार्डियोभास्कुलर एन्जियोग्राफी एन्ड इन्टरभेन्सन (एफएससीएआई) बाट फेलोसिप प्राप्त गरिसकेका छन् ।

सन् २०११ देखि २०१५ सम्म उनले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा डीएम कार्डियोलोजी प्रोग्राम तथा क्याथ ल्याब सेवा स्थापना र व्यवस्थापन गर्नका लागि महत्त्वपूर्ण भूमिका खेलेका थिए । यसबाट मुटुरोगसम्बन्धी उच्च शिक्षा अध्ययन तथा स्वास्थ्य सेवाको पूर्वाधार र शैक्षिक अवसरलाई सुदृढ गर्न योगदान पुगेको उनको दाबी छ ।

प्रकाशित : कार्तिक २५, २०८० ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्थानीय तहको २६ प्रतिशत वित्तीय अनुदान कटौती गर्ने सरकारको निर्णयबारे तपाईं के धारणा छ ?