२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

‘संक्रमणकालीन न्यायको टुंगो नै नेम्वाङलाई सच्चा श्रद्धाञ्जली’

काठमाडौँ — पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको पछिल्लो समय एउटै हुटहुटी थियो, संक्रमणकालीन न्यायलाई टुंगो लगाउने । उनका वृत्तका नजिक राजनीतिज्ञ र संविधानविद्हरूका अनुसार नेम्वाङ शीर्ष नेताहरूलाई मनाएर संक्रमणकालीन न्यायको विधेयक संसद्बाट सर्वसम्मत पारित गराउने कसरतको अन्तिम बिन्दुमा पुगेका थिए ।

‘संक्रमणकालीन न्यायको टुंगो नै नेम्वाङलाई सच्चा श्रद्धाञ्जली’

‘त्यसैका लागि उहाँले मलाई भेट्न बोलाउनु पनि भएको थियो,’ कांग्रेस नेता मीनेन्द्र रिजाल भन्छन्, ‘म डडेलधुरा जाँदै थिएँ, उहाँ धरान जाँदै हुनुहुँदो रहेछ, फर्केपछि एसो हेलो गर्नुस् है, विधेयकका बारेमा कुरा गर्नुछ भन्नुभएको थियो, म फर्केर फोन गर्छु भनेर सोचेको बिहानै उहाँ बितेको खबरले मर्माहत बनायो ।’

शान्ति प्रक्रियाका मुख्य तीन जिम्मेवारी सेना समायोजन, संविधान निर्माण र संक्रमणकालीन न्यायको टुंगोमध्ये दुई काम पूरा भए पनि पीडितहरूको माग भने जस्ताको तस्तै रहेकामा नेम्वाङलाई चित्त नबुझेको उनी निकटस्थहरू बताउँछन् । ‘उहाँको निधनले संविधान र न्यायका क्षेत्रमा अपूरणीय क्षति भएको छ,’ नेम्वाङको सम्झनामा सोमबार अपराह्न उनका हितैषी र शुभेच्छुकहरूले गरेको श्रद्धाञ्जली सभामा बोल्दै पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले भने, ‘संक्रमणकालीन न्यायलाई जसरी भए पनि टुंगो लगाउन पाए हुन्थ्यो भन्ने उहाँको ठूलो हुटहुटी थियो, अकस्मात् उहाँको महाप्रस्थानले एउटा रिक्तता खडा गरेको छ, जो पूरा गर्न त्यति सजिलो छैन ।’

संविधानको निर्माण र कार्यान्वयनमा मात्रै नभएर मुलुकी ऐनलाई प्रतिस्थापन गर्न बनेको फौजदारी तथा देवानी संहितालाई संसद्बाट पारित गराउन पनि उनले उत्तिकै सक्रीय भूमिका निर्बाह गरेका थिए । नेम्वाङले संक्रमणकालीन न्यायका लागि लिएको अडान र देखाएको भूमिका सिर्जनात्मक र समन्वयकारी भएको भन्दै त्यसलाई (संक्रमणकालीन न्यायलाई) छिटोभन्दा छिटो टुंगोमा पुर्‍याउनु उनीप्रतिको सच्चा श्रद्धाञ्जली हुनेसमेत उनले बताए ।

हितैषी तथा शुभेच्छुकहरू सबैको सम्झनामा नेम्वाङको व्यक्तित्व एउटै थियो– सधैं शान्त, मृदुभाषी र नम्र । संसद्को मानवअधिकार समितिमा रोकिएको संक्रमणकालीन न्यायसम्बन्धी संशोधन विधेयकको प्रतिवेदन तयार पार्न गठित ११ सदस्यीय उपसमितिमा सक्रीय रही नेम्वाङ सबैलाई चित्तबुझ्ने गरी विधेयकको संशोधन गर्ने काममा सक्रिय थिए । त्यसका लागि उनी द्वन्द्वको अध्ययन गर्न केहीअघि कोलम्बियासमेत पुगेर आएका थिए ।

‘उताबाट फर्केपछि उहाँमा शान्ति प्रक्रियाको अवरुद्ध काम अब पूरा गर्न सकिन्छ भन्ने उत्साह आएको थियो, जसबाट म आशावादी भएको थिएँ,’ पाँच वर्षअघि पनि नेम्वाङले शान्ति प्रक्रिया टुंगो लगाउने काममा आफूलाई विधेयकको सर्वसम्मत मस्यौदा तयार पार्न खटाएको सम्झँदै सर्वोच्च अदालतका न्यायाधीश हरि फुयालले भने, ‘तर, उहाँको आशाले कुनै परिणाम दिनुअघि नै उहाँ हामीमाझबाट बिदा हुनुभयो, अब उहाँको जस्तो समन्वयकारी भूमिका निर्बाह गर्ने हामीमध्येको कसैको नेतृत्वमा बाँकी काम पूरा गर्नुपर्ने बेला आएको छ ।’

संक्रमणकालीन न्याय टुंग्याउन नेम्वाङ वर्षौंदेखि सक्रिय रहेको स्मरण गर्दै न्यायाधीश फुयालले थपे, ‘अब उहाँको प्रस्थानपछि छाएको यो रिक्ततालाई हामीले पुर्नैपर्छ, संक्रमणकालीन न्यायको टुंगो लगाउने कामको नेतृत्व लिइदिन म यहाँहरूलाई आग्रह गर्छु ।’

यति भनेर उनले पूर्वसांसद राधेश्याम अधिकारीलाई नेम्वाङले छाडेर गएको बाँकी काम पूरा गर्ने जिम्मा लिइदिन आग्रह गरे भने साथै बसेका पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई पनि यसमा हात बढाउन उनले अनुरोध गरे । ‘उहाँलाई हामीले साँचो मनले सम्झने भनेकै शान्ति प्रक्रियालाई टुंग्याएर हो,’ फुयालले भने, ‘त्यसका लागि हामी सबै सँगै उभिऊँ, उस्तै शान्त स्वभावको राधेश्याम दाइले नेतृत्व लिनुभयो भने यो काम अघि बढ्छ, यसमा ठूलो ज्ञान र अनुभव कल्याण श्रीमान्को छ, उहाँले पनि साथ दिनुभए शान्ति प्रक्रियाको बाँकी काम छिट्टै सकिन्छ ।’

नेम्वाङलाई सम्झँदै राधेश्याम अधिकारी भावुक भए र शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउनुपर्ने आवश्यकतालाई सबैले मनन गर्नुपर्ने बताए ।

‘तीर्थ कोइरालाजी टेलिभिजनमा संविधान दिवसका दिन बजाउने भन्दै संविधानका बारेमा कुराकानी गर्न केहीअघि आउनुभएको थियो, उहाँहरूले मलाई आज असोज ३ गते भनेर सुरु गरिदिन भन्नुभयो,’ राधेश्यामले भने, ‘तर, त्यतिबेलासम्म आफैं पो हुने हो कि नहुने हो भनेर आज असोज ३ गते भन्न मानिनँ, त्यसपछि उहाँहरू सुवासजीको अन्तर्वार्ता गर्न जानुभएको थियो, मैले आफूमाथि आशंका गरेको बज्रपात उता परेछ ।’

मृत्युको आखिरी क्षणसम्म पनि नेम्वाङले संविधानको परिपालना र संक्रमणकालीन न्यायको मुद्दा उठाउँदै आएको प्रसंग सम्झँदै अधिकारीले थपे, ‘हामीले उहाँको अभिप्रेरणालाई यथार्थमा बदल्न पनि संक्रमणकालीन न्याय टुंग्याउनैपर्छ ।’

प्रकाशित : आश्विन ३, २०८० ०६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?