कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६५
एमाले वाग्मती प्रदेश अधिवेशन

अध्यक्षका लागि केन्द्रीय सदस्य नै प्रतिस्पर्धामा

प्रदेश कमिटी अध्यक्ष पदेन पोलिटब्युरो सदस्य हुने भएकाले केन्द्रीय नेता नै आकांक्षी
करिब १३ सय प्रतिनिधिको सहभागितामा सोमबारदेखि सुरु हुने अधिवेशनमा अध्यक्षका लागि आधा दर्जन आकांक्षी देखिएका छन्
मणि दाहाल

काठमाडौँ — वाग्मती प्रदेश अधिवेशनका लागि एमालेका विभिन्न कमिटीबाट प्रतिनिधि छनोट अन्तिम चरणमा पुग्दा अध्यक्षका आकांक्षीको संख्या थपिन थालेको छ । सोमबारबाट सुरु हुने अधिवेशनमा अध्यक्षका लागि आधा दर्जन आकांक्षी देखिएका छन् ।

अध्यक्षका लागि केन्द्रीय सदस्य नै प्रतिस्पर्धामा

करिब १३ सय प्रतिनिधि सहभागी हुने अधिवेशनमा अध्यक्षका लागि केशव पाण्डे, सानु श्रेष्ठ, कैलाश ढुंगेल, कृष्णप्रसाद दाहाल, रचना खड्कासहितका नेताले चाहना व्यक्त गरेका छन् । पाण्डे प्रदेश कमिटीका वर्तमान अध्यक्ष हुन् भने सुवेदी सचिव हुन् । श्रेष्ठ वाग्मती प्रदेशसभाका पूर्वसभामुख र दाहाल, ढुंगेल र खड्का केन्द्रीय सदस्य हुन् । ढुंगेल र दाहाल आ–आफ्नो स्थानीय तहबाट प्रतिनिधि छनोटसमेत भइसकेका छन् ।

आकांक्षीहरूले पार्टी शीर्ष नेता र प्रतिनिधिसँगको भेटघाटलाई तीव्र बनाएका छन् । प्रदेश कमिटी अध्यक्ष पदेन पोलिटब्युरो सदस्य र कार्यकारी पद हुने भएकाले केन्द्रीय नेता नै पदको आकांक्षी देखिएका हुन् । स्थानीय तहको चुनावमा उम्मेदवार छान्ने र प्रतिनिधि तथा प्रदेशसभामा सिफारिस गर्ने अधिकार हुने भएकाले धेरैलाई यो पदले आकर्षित गरेको छ । ‘अहिलेसम्मको अवस्था हेर्दा वाग्मतीको नेतृत्व छनोट पनि प्रतिस्पर्धाबाटै हुने देखिन्छ,’ एक नेताले भने, ‘अहिलेका अध्यक्षमा मैले किन छाड्ने भन्ने छ, ढुंगेल पार्टीले उठ भन्यो भन्दै हिँड्नुभएको छ, खड्का युवाले अवसर पाउनुपर्छ भन्नुहुन्छ, श्रेष्ठमा पुरानो भएकाले जिम्मेवारीको चाहना देखिन्छ ।’

प्रदेश अध्यक्ष पाण्डेले पूर्ण कार्यकालका लागि अध्यक्षमा दाबी रहने बताए । ‘प्रतिनिधि छनोट अन्तिम चरणमा छ । अधिवेशनको हलमा पुगेपछि मात्रै उम्मेदवारी घोषणा गरौं भनेर साथीहरूलाई भन्दै आएको छु । कतिपयले सार्वजनिक गरिसक्नुभएको छ,’ उनले भने, ‘अहिलेको कमिटीको अध्यक्ष छु, अधिवेशनबाट निर्वाचित कमिटीको अध्यक्षका लागि मेरो दाबी रहनेछ ।’ पाण्डेले अधिवेशनका लागि ९९ प्रतिनिधि सर्वसम्मतमा रूपमा छनोट भएकाले नेतृत्वको चयन पनि त्यही पद्धतिका लागि जोड हुने बताए । वाग्मती प्रदेशमा एमालेका करिब १ लाख १० हजार संगठित सदस्य छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनका बाबजुद भदौ तेस्रो साता लुम्बिनीमा प्रतिस्पर्धाबाट नेतृत्व छानिएको थियो । लुम्बिनीमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको प्रतिस्पर्धाका रूपमा हेरिएको थियो । जसमा पौडेलको समर्थन रहेका राधाकृष्ण कँडेलले हरि रिजाललाई पराजित गरे । महासचिव पोखरेलको समर्थन रहेका रिजाल दुई मतको झिनो अन्तरले पराजित भएका हुन् ।

वाग्मतीको अध्यक्ष कसलाई बनाउने भन्ने विषयमा केन्द्रका नेताहरू खुलिनसकेको भए पनि आफ्नो प्रभाव विस्तारमा लागेका गोकुल बाँस्कोटा र महेश बस्नेत क्रमशः दाहाल र ढुंगेलको पक्षमा खुलेका छन् । ढुंगेललाई अध्यक्ष ओली र महासचिव पोखरेलको समर्थन गरेको भन्दै बस्नेतले प्रचार सुरु गरेका छन् ।

०७८ मंसिरमा भएको दसौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा चुनिएका दाहालले लामो समय मकवानपुरमा एमालेको नेतृत्व गरेका थिए । उनी ०४८, ०५६ र ०७४ मा सांसद निर्वाचित भएका थिए । उनी अर्थ समितिका पूर्वसभापति हुन् । ‘केन्द्रीय सदस्य हुँ, प्रतिनिधि बनेर आएपछि अध्यक्षको स्वाभाविक दाबेदार हुँ,’ दाहालले भने, ‘वाग्मतीमा एमाले तेस्रो स्थानमा छ । आगामी चुनावमा पहिलो नम्बरमा ल्याउनुपर्छ भनेर उम्मेदवारी दिन लागेको हो ।’ प्रतिनिधिसभाको ३३ सिट रहेको वाग्मतीमा एमालेले ४ स्थानमा मात्रै जित हासिल गरेको छ । कांग्रेसले १३, राष्ट्रिय स्वतन्त्र पार्टीले ७ र माओवादीले ५ ले जितेका छन् । प्रदेशसभाको ६६ स्थानमा एमालेले १३ स्थान मात्रै जितेको छ । कांग्रेसले २५ र माओवादीले १४ स्थानमा जित हासिल गरेका छन् ।

केन्द्रीय सदस्य रचना खड्काले युवा उम्मेदवारलाई नेतृत्वमा ल्याउने हो भने त्यसका लागि आफू उपयुक्त पात्र भएको बताइन् । गृह जिल्ला दोलखाबाट प्रतिनिधि नछानिए पनि उनको आकांक्षा अध्यक्षमा देखिएको छ । ‘नेतृत्व कसरी छनोट गर्ने भन्ने विषय हो । निर्वाचन पार्टीकै योजनामा जाने हो । त्यस्तो अवस्थामा प्रतिनिधि आउन कुनै समस्या छैन,’ खड्काले भनिन्, ‘अध्यक्षकै प्रतिस्पर्धा गर्ने हो भने मनोनीत प्रतिनिधि भएर पनि आउन सकिन्छ । अध्यक्षका लागि योग्यता पुगेको ठान्छु । युवा पुस्तालाई भूगोलमा काम गर्न दिनुपर्छ ।’ खड्का वाग्मती प्रदेश सरकारको अर्थ तथा योजनामन्त्री थिइन् ।

केन्द्रीय सदस्य कैशाल ढुंगेल रामेछापबाट अधिवेशनको प्रतिनिधि छनोट भएका छन् । ‘प्रतिनिधि छनोट भएर आएपछि १३ जिल्लाका पार्टी कमिटीका साथीहरूको कुरा बुझ्दा अध्यक्षका लागि उपयुक्त हुँ कि भन्ने लागेको छ,’ उनले भने, ‘विचार, नेतृत्व र आन्दोलनको रक्षाको पक्षमा उभिन पनि मैले उम्मेदवारी दिनुपर्छ । वाग्मतीमा एमालेको अवस्थामा सुधार ल्याएर संघीय सरकार बनाउन सहयोग पुग्ने गरी मेरो भूमिका आवश्यक भएको छ ।’ लामो समय रामेछापको नेतृत्व गरेका ढुंगेल डोरमणि पौडेल नेतृत्वको सरकारमा प्रदेशको अर्थ तथा योजनामन्त्री थिए । उनी पनि सौराहामा भएको दसौं महाधिवेशनबाट केन्द्रीय सदस्य चुनिएका हुन् ।

वाग्मती प्रदेशसभाका पूर्वसभामुख सानु श्रेष्ठले पार्टीको कुनै पनि जिम्मेवारीमा नरहेकाले अध्यक्ष बन्न तयारी गरेको बताए । ‘एमालेको पाँचौं महाधिवेशनको केन्द्रीय सदस्य हुँ । सभामुख बन्नुअघि पोलिटब्युरो सदस्य थिएँ । सभामुखको कार्यकाल सकिएपछि कुनै जिम्मेवारीमा छैन,’ उनले भने, ‘पार्टी नेता र कार्यकर्तासँग भेटर आफू उम्मेदवार बन्ने बताइसकेको छु ।’ काठमाडौंको तत्कालीन जिल्ला विकास समितिका सभापति श्रेष्ठले भूमिगतकालदेखि नै काठमाडौंको पार्टी नेतृत्वमा काम गरेका थिए । श्रेष्ठले सर्वसम्मत र प्रतिस्पर्धा दुवैका लागि आफू तयार रहेको बताए ।

भृकुटीमण्डपमा सोमबार एमाले अध्यक्ष ओलीले उद्घाटन गर्ने अधिवेशनको बन्दसत्र कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा र निर्वाचन कार्यक्रम पार्टी मुख्यालय च्यासलमा गर्ने तयारी छ ।

प्रकाशित : आश्विन ३, २०८० ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?