आत्मीयहरूको मिलन–बिछोड

हाम्रा आत्मीय सम्बन्धमा कसरी खिया लागिरहेको छ ? त्यसलाई फेरि कसरी जोड्न सकिन्छ ? यी प्रश्नमाथि डा. ओम मूर्ति अनिलको किताब ‘जीवन्त सम्बन्ध’ ले विमर्श गरेको छ
निर्मल अर्याल

कुनै चिकित्सकले लेखेको पुस्तक भन्नासाथ सामान्यतया हामी त्यसमा कुनै रोग, लक्षण, उपचार, रोकथामका उपाय जस्ता पक्ष समेटिएको होला भन्ने पूर्वानुमान लगाउँछौं, जुन अस्वाभाविक होइन । मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलको पहिलो किताब ‘म पनि डाक्टर’ यही सेरेफेरोमा केन्द्रित थियो । तर, हालै सार्वजनिक भएको उनको दोस्रो पुस्तक ‘जीवन्त सम्बन्ध’ केही भिन्न छ ।

आत्मीयहरूको मिलन–बिछोड

ओम मूर्ति अनिलले ‘जीवन्त सम्बन्ध’ को सुरुमै लेखेका छन्, ‘हृदयको गहिराइबाट पुस्तक लेख्न विशेष परिस्थिति वा विशिष्ट साधना आवश्यकता पर्दोरहेछ ।’ लाग्छ, ओमले आफ्नै मुटुको चाल मापन गर्दै, कहिले हाँस्दै, कहिले रुँदै शब्दरूपी भाव बुनेर यो किताब लेखेका हुन् ।

किताब प्रोस्टेट क्यान्सरबाट पीडित पिताका जीवनका अन्तिम दिनहरू र त्यसपश्चात्का सामाजिक घटनाक्रमलाई केन्द्रमा राखेर लेखिएको छ । यो किताब आत्मीयहरूको गहिरो सम्बन्ध वर्णित महत्त्वपूर्ण दस्तावेज मात्रै होइन एउटा जीवन्त ‘दर्शन’ नै हो । लेखकले किताब लेख्नुको सम्पूर्ण श्रेय स्वर्गवासी पितालाई दिएका छन् । ओम भन्छन्, ‘पुजनीय बुबाको देहान्तबाट सिर्जित आँसुलाई मसी बनाएर यो पुस्तक लेखें ।’ बाल्यकालदेखि पछिल्लो समयसम्मको संस्मरणमार्फत उनले बुबा, आमा, छोराछोरी, दाजुभाइ, सासू, बुहारीलगायतको बहुआयामिक सम्बन्ध, देशमाथि टुट्दै गएको युवावर्गको विश्वास, असल अभिभावकको भूमिका, पारिवारिक वातावरण, जीवन–मृत्युजस्ता विविध पक्षबारे चित्रण गरेका छन् ।

भौतिकवादको सिकार हुँदा हाम्रा आत्मीय सम्बन्धमा क्रमशः कसरी खिया लागिरहेको छ ? र, त्यसलाई कसरी फेरि जोड्न सकिन्छ ? लेखकले केही उदाहरण पेस गरेका छन् । भविष्य समुन्नत बनाउने नाममा थाहै नपाई वर्तमान गुमाएकाहरूलाई सजग बनाउन पुस्तकले सहयोग गर्न सक्छ । अभिभावक सन्ततिका लागि कतिसम्म त्याग गर्न सक्छन् ? यो शाश्वत् पक्षलाई पनि पुस्तकले उजागर गरेको छ । अन्धाधुन्ध पश्चिमीकरणको नक्कल गर्दा त्यसले हाम्रो प्राचीन मूल्यमान्यतालाई धूलिसात् पारेकोतर्फ पुस्तकले संकेत गरेको छ । यसबाहेक कुनै पनि व्यक्ति सफल हुन पारिवारिक–सामाजिक सम्बन्ध अत्यन्तै सन्तुलित हुनुपर्ने विषयमा पनि किताब बोल्छ । सायद चिकित्सक भएकाले हो– ओमले कतैकतै सोहीअनुरूपको व्याख्या र घटनाक्रम पनि उल्लेख गरेका छन्, जसले रोग विशेषबारे जान्न सघाउँछ । पुस्तकमा ५३ वटा विविध जीवन उपयोगी खण्डलाई लेखकले रोचक ढंगले प्रस्तुत गरेका छन् । यहाँ आत्मीयहरूको मिलन—बिछोडले कतै मन आनन्दित बनाउँछ त कतै भक्कानो फुट्ने गरी रुन बाध्य पार्छ । पाठकलाई यो हदसम्म लैजान सक्नु नै लेखकको सफलता हो । ठाउँठाउँमा अत्यन्तै सरल, तर उत्तिकै ओजनदार वाक्यहरू (जीवन दर्शनकै झल्को दिने) प्रयोग गरिएका छन्, जुन जोकोहीको दैनिकीसँग मेल खान्छ ।

अध्यात्मवादी आदर्श पिताको छत्रछायामा हुर्किएका लेखकले पुस्तकमा धेरै ठाउँमा श्रीमद्भागवत्, रामायण र नीतिशास्त्रका श्लोकहरू उद्धृत गर्दै त्यसको भावार्थ पनि उल्लेख गरेका छन्, जसले किताब अझै गहकिलो र सान्दर्भिक भएको छ । विषय प्रसंगमा कतै लक्ष्मीप्रसाद देवकोटाका कविता त कतै नारायणगोपालका गीत स्मरण गरी लेखकले आफूलाई ‘स्रष्टा प्रेमी’ का रूपमा उभ्याएका छन् । किताबका ५३ खण्डमध्ये सबैजसोबाट लेखकले विशेषगरी भावी पुस्ताका लागि अनुभवमा आधारित नैतिकसँगै व्यावहारिक शिक्षा दिने प्रयास गरेका छन्, जुन अनुकरणीय लाग्छ, केही हेरौं– ‘मैले के बुझें भने आफ्नो पेसा, व्यवसाय वा जिम्मेवारीलाई इमान्दारीपूर्वक हृदयदेखि नै समर्पित भएर पूरा गरियो भने त्यसबाट समाजले त लाभ प्राप्त गर्छ नै, कालान्तरमा गएर आफूलाई समेत लाभ हुन्छ (पृष्ठ ६) ।’

‘म महसुस गरिरहेको हुन्छु, सबैभन्दा बढी माया गर्ने मान्छेले हामीलाई कहिल्यै छोडेर जाँदैनन् । सधैं साथमा रहन्छन् । भौतिक रूपमा आफूलाई उहाँको नजिक राख्न वा उहाँसँग सम्पर्क गर्न कुनै तस्बिर वा उपकरणको आवश्यकता हुँदैन । हामीले उहाँलाई खोज्न दिव्य चक्षुले हेर्न सक्नुपर्छ (पृष्ठ २४) ।’

‘गुनासो, कटुता, कुण्ठा, अशिष्टता वा अभद्रता प्रदर्शनका लागि सामाजिक सञ्जालको दुरुपयोग गर्नु हुँदैन (पृष्ठ २९) ।’ ‘मेरो विचारमा पूर्ण रूपमा घनिष्ठ हुनु भनेको दुई आत्माको मिलन हो । जब दुई आत्मा एक हुन्छन्, त्यसपछि मात्रै मन बाँड्न सकिन्छ, दुःख साट्न मिल्छ । तर, यस्तो सम्बन्ध सबैसँग हुँदैन (पृष्ठ ३४) ।’

‘साँचो प्रेम भनेको एकअर्काप्रतिको त्याग, कठिन समयमा एकअर्कालाई दिने साथ, समर्पणको भाव र मृत्युले समेत प्रभावित नहुने सम्बन्ध हो (पृष्ठ ५३) ।’

‘निको नहुने रोग लाग्दा चिकित्सकीय सहायताले हामीलाई जीवित राख्न नसकेमा तदअनुसार योजना बनाउनुपर्छ । घरमा प्रियजनका समीपमा शान्तिपूर्वक मृत्युवरण गर्नु धेरै व्यक्तिका लागि उत्तम विकल्प हुन सक्छ । आफ्ना अन्तिम दिन र इच्छाका बारेमा हामीले आफैं आफन्तसँग खुला र इमान्दार भएर कुरा गर्न सक्नुपर्छ । यसबाट हामी मृत्युलाई अर्थपूर्ण र शान्तिपूर्ण बनाउन सक्छौं (पृष्ठ ६३) ।’

‘कुलीनता कुनै धनी वा शक्तिशाली परिवारमा जन्मेर प्राप्त हुन्छ भन्ने सोच गलत हो । शिक्षा, संस्कार, सकारात्मक सोच, सहयोगी व्यवहार, शिष्टता अनि मिहिनेत गर्ने परम्पराबाट नै कुलको निर्माण हुन्छ (पृष्ठ १५७) ।’

‘कुनै पनि सम्बन्धलाई नबिगार्नु जीवनको महत्त्वपूर्ण पक्ष हो । कुन व्यक्ति कहाँ, कसरी काम लाग्छ, कसैलाई थाहा हुँदैन । जीवनमा माया, सहयोग, उपकार तथा अरूको उत्थानमा इँटा बन्न सक्नु नै जीवनको सार्थकता हो (पृष्ठ १९०) ।’

त्यसो त पुस्तकमा केही अभाव आभास हुन्छ नै । पितालाई आदर्श मानी किताब लेखनको सम्पूर्ण श्रेयसमेत दिने ओमले पिताकै तस्बिरसहित उनलाई पुस्तक समर्पण गर्नु श्रेयस्कर हुन्थ्यो । क्लिनिकमा समेत सबैले देख्ने गरी पिताजीको तस्बिर राखेका लेखकले पाठकको हातमा पुग्ने किताबमा किन उनको तस्बिर राख्न कञ्जुस्याइँ गरे ? प्रश्न जायज छ । त्यस्तै एकाध अध्याय अत्यन्तै छोटा छन् (निःस्वार्थ सल्लाह, पृष्ठ १६८), जहाँ लेखकको मनको बह मात्रै पोखिएझैं लाग्छ । अन्य खण्डझैं यसमा विषय, प्रसंग मिलाएर वा उदाहरणसहित अझ बढी व्याख्या गर्न लेखक चुकेका हुन् कि !

परिवार र समाजको जीवन्त सम्बन्धबाटै समृद्ध समाज र मुलुकको परिकल्पना गर्न सकिन्छ भन्ने पुस्तकको मुख्य भाव हो । ‘वसुधैव कुटुम्बकम’ को सिद्धान्तमा विश्वास गर्ने हाम्रो विशिष्ट शैलीको संस्कृतिमाथि धावा बोल्दै एकापसका सम्बन्ध तोड्ने/तोडाउने होडबाजी चलिरहेका बखत आएको यो किताबले आपसी सम्बन्धलाई एकाकार गर्न उत्प्रेरित गर्छ । किताब पठनीय, मननीय छ ।

प्रकाशित : आश्विन ६, २०८० ११:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्थानीय तहको २६ प्रतिशत वित्तीय अनुदान कटौती गर्ने सरकारको निर्णयबारे तपाईं के धारणा छ ?