कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९
म्यागेजिन

मेड इन नेपाल : १५ वटा होटल पुर्‍याउँदै सोल्टी

सुरज कुँवर

काठमाडौँ — अन्य मुलुकले १७ औं शताब्दीमै आफ्ना हिमचुचुरा आरोहण र पदयात्रा खुला गरिसक्दा पनि १९ औं शताब्दीको मध्यसम्म नेपालमा हिमाल आरोहण निषेध थियो । राजा त्रिभुवनको शासनकाल चलिरहेका बेला सन् १९५० जुनमा फ्रान्सेली आरोहीहरू मौरिस हर्जोग र लुइस लाचेनलले अन्नपूर्ण प्रथम आरोहण गरे । नेपालभित्रका हिमालमा नेपालभित्रैबाट भएको यो पहिलो सफल आरोहण थियो ।

मेड इन नेपाल : १५ वटा होटल पुर्‍याउँदै सोल्टी

अन्नपूर्णपछि १९५३ मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले खुम्बुबाट उक्लेर पहिलो पटक विश्वकै अग्लो शिखर सगरमाथा चुचुरोमा पाइला राखे । अन्नपूर्ण र सगरमाथाको आरोहणले नेपालको चर्चा विश्वभर चुलिँदै गयो । भारतसम्म आउने पश्चिमा पर्यटक सडक, होटललगायत आधारभूत पूर्वाधार नभएको नेपालमा हिमाल आरोहणका लागि छिर्न थाले ।

नेपालले १९५० मा पर्यटकका लागि ढोका खुला गर्‍यो । काठमाडौं नेपालका सबै भूभागतिर जाने प्रवेशद्वार बन्यो । त्यसैबेला रुसी नागरिक बोरिस लिसानेभिचले काठमाडौंलाई भारतको कोलकातासँग हिमालयन एभिएसनमार्फत हवाई यातायातबाट जोडे । कोलकातामा बोरिसले बेलायतको क्लब–४०० को नक्कल गर्दै प्रतिष्ठित तथा कुलीन ग्राहकका लागि स्थापना गरेको क्लब–३०० सञ्चालन गरेका थिए । जहाँ उनको राजा त्रिभुवनसँग चिनजान भएको थियो ।

१९५० को सुरुवाततिर उनै बोरिसलाई राणा तथा राजपरिवारले कान्तिपथमा हाल निर्वाचन आयोग र उपराष्ट्रपति कार्यालय राखिएको बहादुर भवनमा लक्जरी होटल (रोयल होटल) स्थापना गर्न दिए । यही कारणले बोरिसलाई नेपालको पर्यटन उद्योगले पर्यटन क्षेत्रमा पहिलो जग हाल्ने व्यक्तिका रूपमा आज पनि सम्मान गर्छ । त्यसताका दरबारले आयोजना गर्ने ठूला राजकीय भोज, राज्याभिषेक तथा पाहुनालाई सत्कार गर्न उनको एकल प्रयासले मात्रै सम्भव भएन । हिमाल हेर्न नेपाल आउने उच्च तथा मध्यम वर्गीय पश्चिमा पर्यटकको संख्या बढ्दै गए पनि तिनै बोरिस लगायतको सल्लाहमा राजपरिवारले विदेशी पाहुनाका लागि अन्तर्राष्ट्रियस्तरको ठूलो होटल सञ्चालन गर्ने निर्णय लियो ।

त्यसबेला राजा त्रिभुवनका माइला छोरा हिमालय वीरविक्रम शाह, उनका नातेदार प्रभाकर शमशेर राणा लगायतको स्वामित्वमा काठमाडौंको पश्चिमी गाउँ ताहाचल र छाउनीमा २०२२ सालमा होटल सोल्टी स्थापना भयो । सोल्टी होटल लिमिटेडद्वारा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा बुझाइएको विवरण अनुसार, यो लक्जरी होटल २०२३ मंसिर १० मा उद्घाटन गरिएको थियो ।

सुरुमा १ सय ४ कोठाबाट थालनी भएको सोल्टीले ५९ वर्षको यात्रा पूरा गरिसकेको छ । यो अवधिमा सोल्टीले हजारौं विदेशी पाहुनाको ‘परदेशको न्यानो घर’ को भूमिका निर्वाह गरिसकेको छ । जतिबेला सोल्टी स्थापना भएको थियो, त्यसबेला पर्यटन विभाग, पर्यटन मन्त्रालय, पर्यटन बोर्डजस्ता पर्यटन क्षेत्रसँग सरोकार राख्ने निकाय स्थापना भइसकेका थिएनन् । ‘२०५४ सालयता पाचतारे होटलको वर्गीकरण पर्यटन विभागले गर्छ । तर सोल्टी स्थापना हुँदा उद्योग विभागमा दर्ता भएको थियो,’ कम्पनीका एक वरिष्ठ कर्मचारीले भने, ‘नेपाल होटल संघलगायत संस्थाको स्थापना सोल्टीपछि भएको हो ।’

नेपालगन्ज

९५ रोपनीमा फैलिएको यो पाँचतारे डिलक्स होटलसँग २ सय ८२ वटा कोठा, ७ वटा भीभीआईपी सुइट, ८ सय सिट क्षमताको मेघामल्हर, १ सय २५ सिट क्षमताको सुरसुधा, ८० सिट क्षमताको सरगम बैंक्वेट तथा मिटिङ हल छन् । सोल्टी अहिले देशबाहिर पनि विस्तार हुनेक्रममा छ ।

भर्खरै कतारका अमिर (राजा) शेख तमिम बिन हमाद थानीलाई न्यानो स्वागत गरेको यो नेपाली आतिथ्य सत्कार ब्रान्डले बेलायतकी महारानी एलिजाबेथ द्वितीय, राजकुमारी डायना, चिनियाँ राष्ट्रपति सी चिनफिङ, दक्षिण एसियाली राष्ट्र प्रमुखहरूलाई सत्कार गरिसकेको छ । सोल्टी आजका दिनमा नेपालका कूटनीतिक तथा उच्च स्तरका पर्यटक र हलिउड, बलिउड कलाकारको पहिलो बासस्थान गन्तव्य हो । एकैखाले स्वादलाई बदल्न चाहने स्वदेशी तथा विदेशी पाहुनाका लागि विभिन्न विशेषता भएका पाँच प्रकारका रेस्टुरेन्ट तथा क्याफे यहाँभित्र छन् । जस्तो परिवार साथीसहित राम्रो भोजनका लागि गार्डन टेरेस, चिनियाँ स्वादहरूका लागि बाओ जुआन, भारतीय खान्कीका लागि काकोरी, इटालियन पास्ता, पिज्जा पारखीहरूका लागि अलफ्रेस्को, कफी सपलगायत छन् । यहीभित्र रोधीबार, क्यासिनो, हेल्थक्लब, सैलुन आदि छन्, जसले अविस्मरणीय अनुभव दिलाउँछन् ।

‘सोल्टी स्थापना हुँदा र अहिलेको समय धेरै फेरिसक्यो,’ सोल्टीका भाइस–प्रेसिडेन्ट सुदर्शन चापागार्इंले भने, ‘पहिले नेपालीहरूमा पाचतारे होटल बिहे भोजका लागि मात्रै हो भन्ने मानसिकता थियो । तर अहिले बैंक्वेट हलमा विदेशी नभई नेपालीकै भोजको वर्चस्व देखिन्छ । पहिले त बिहेभोजमा मात्रै बैंक्वेट बुकिङ हुन्थ्यो । अहिले त बेबी सावर, पास्नी, वैवाहिक वर्षगाँठ, जन्मदिन समारोह सबै पाँचतारे होटलका बैंक्वेट हलमा आए ।’

सोल्टीको वार्षिक कुल कारोबारमा ६० प्रतिशत आम्दानी कोठाको आम्दानी र बाँकी ४० प्रतिशत बैंक्वेटको रहेको भाइस–प्रेसिडेन्ट चापागाईंले बताए । मुख्यगरी विदेशी वायुसेवा तथा पर्यटकमा निर्भर सोल्टीले कोभिडकालमा सञ्चालन घाटा बेहार्नुपर्‍यो । त्यसबेला यसअन्तर्गत रहेका थुप्रै विभागका कर्मचारीलाई व्यवस्थापनले बिदाइ गर्‍यो । ‘कोभिडमा झन्डै २ सय ५० कर्मचारीलाई बिदाइ गर्‍यौं,’ भाइस–प्रेसिडेन्ट चापागाईंले भने, ‘त्यसबेला उनीहरूको योगदानको कदर गर्दै गोल्डेन ह्यान्डसेक अफरमा करिब ३० करोड रुपैयाँ वितरण गर्‍यौं ।’

कोभिडपछि भने सोल्टी पुरानै लयमा फर्किंदै गएको छ । चार्टर अकाउन्टेन्टसमेत रहेका चापागाईंले अहिले नोक्सान नभई नाफा वृद्धि हुँदै गएको बताए । २०७९/०८० को वार्षिक प्रतिवेदनअनुसार, सोल्टीले त्यस वर्ष कोठा, रेस्टुरेन्ट, बैंक्वेट, अन्य सेवा, विविध आय गरी २ अर्ब २५ करोड आम्दानी गरेको थियो । २०८० असार ३१ मा सार्वजनिक यो तथ्यांकअनुसार, त्यसअघिको आर्थिक वर्ष २०७८/०७९ को आम्दानीको दाँजोमा यो ६४ प्रतिशतले वृद्धि भएको थियो । त्यस वर्ष यसको खुद नाफा ५५ करोड ४९ लाख भएको थियो । सोल्टीको मुख्य लगानीकर्ता सोल्टी इन्टरप्राइजेज प्रालि हो । यसको सेयर हिस्सा ४९ प्रतिशत हाराहारी छ । यो कम्पनी पूर्वराजा ज्ञानेन्द्रकी छोरी प्रेरणा राज्यलक्ष्मी सिंहको स्वामित्वमा छ । यसबाहेक नेपाल वायुसेवा निगमको नाममा १२ प्रतिशत र उद्यमी रविभक्त श्रेष्ठको एनई समूहको नाममा ७ प्रतिशत छ । यसमा करिब ३१ प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गरिएको छ । यो कम्पनीमा कुल सेयरधनी १५ हजार २ सय २६ छन् । ६० वर्षअघि ४० लाख रुपैयाँ हाराहारीमा स्थापना भएको सोल्टीको मूल्य नेप्सेको बजार मूल्यअनुसार अहिले ४२ अर्ब ८२ करोड पुगेको छ ।

चितवन

राजा महेन्द्रद्वारा उद्घाटन गरिएको होटल स्थापना भएको तीन वर्षसम्म नेपाली नै सञ्चालन गरेका थिए । त्यसपछि सन् १९६९ मा यसको व्यवस्थापन भारतीय ओवेराय होटल्स प्रालिलाई दिइएको थियो । भाइस–प्रेसिडेन्ट चापागाईंका अनुसार, ओवेरायले २५ वर्षसम्म सोल्टीको व्यवस्थापन सम्हालेको थियो । त्यसपछि सन् १९९५ मा सोल्टीले व्यवस्थापनको जिम्मा बेलायतमा मुख्यालय भएको इन्टर कन्टिनेन्टल होटल्स ग्रुप (आईएचजी) लाई सुम्पियो । आईएचजीअन्तर्गत क्राउन प्लाजाले सोल्टीको व्यवस्थापन हेर्दै आएको थियो । कोभिड महामारीको असरका कारण सोल्टीले ४ वर्षअघि (सन् २०२०) मा आईएचजीसँगको सहकार्य तोड्दै नेपाली ब्रान्ड सोल्टीलाई बढावा दिइरहेको छ ।

यसका संस्थापक तथा लामो समय अध्यक्ष रहेका प्रभाकर राणाको ८४ वर्षको उमेरमा ०७६ जेठमा निधन भइसकेको छ । होटलको स्वर्ण जयन्तीका अवसरमा ०७३ कात्तिकमा कान्तिपुरसँगको कुराकानीका क्रममा राणाले आतिथ्य सत्कारमा सोल्टी होटल नै सेयरमा सूचीकृत हुने र ऋण लगानीबाट सञ्चालित पहिलो होटल उद्योग भएको बताएका थिए । उनले त्यसबेला सोल्टीको सेयर सर्वसाधारणलाई बिक्री गर्ने निर्णय लिनु धेरै चुनौतीपूर्ण रहेको स्मरण गरेका थिए ।

अमेरिकी सरकारको सहयोगमा स्थापना भएको औद्योगिक विकास केन्द्रको ऋण सहायतामा स्न १९६५ मा सोल्टी होटल स्थापना भएको थियो । राजपरिवारले सञ्चालन गरेको सोल्टी आज नेपाल धितोपत्र बोर्डमा सेयर दर्ता गराई नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत होटलअन्तर्गतको पहिलो पब्लिक लिमिटेड कम्पनी हो ।

आजभन्दा झन्डै ६० वर्षअघि त्यसबेलाको कालिमाटी, ताहाचल र छाउनी गाउँको मध्यभागमा सेतो रङको सोल्टी होटल स्थापना हुँदा धेरै आकर्षक मानिन्थ्यो । हिप्पी युगमा त्यहाँबाट छाउनी, सुन्धारा, बसन्तपुर प्रस्टै देखिन्थ्यो । तर, अहिले सोल्टीले काठमाडौंमा मात्रै १० वटा पाँचतारे होटलसँग प्रतिस्पर्धा गर्नुपर्छ । नेपालभर अहिले पाँचतारे होटलको संख्या १६ पुगिसकेको छ । आज सोल्टी नेपालको आतिथ्य सत्कारको पर्यायवाची भएको छ । चापागार्इंका अनुसार उच्चस्तरका विदेशीका लागि सोल्टी ‘टाढाको न्यानो तथा सुरक्षित घर’ भएको छ । ‘विदेशी पाहुनाको पहिलो रोजाइ सोल्टी हुने गरेको छ,’ चापागाईंले भने, ‘यदि यहाँ रुम वा बैंक्वेट हल पूरा बुक भइसकेको भए मात्रै विदेशी पाहुना अरू पाँचतारे होटल पुग्छन् ।’

सोल्टी अहिले काठमाडौं बाहिर पनि विस्तार भइसकेको छ । मानसरोवर जाने भारतीय तीर्थयात्रीले पश्चिम नेपाल गुल्जार हुँदै गएपछि सोल्टीले त्यहाँ ‘सोल्टी वेस्टइन्ड प्रिमियर’ सञ्चालनमा ल्याएको छ । नेपालगन्जपछि भरतपुर, जनकपुर, इटहरी, नगरकोट र ठमेलमा पनि सोल्टी विस्तार भइसकेको छ । ‘अब मनकामना र लुम्बिनीमा खोल्ने तयारीमा छौं । दुई वर्षमा सोल्टीको स्वामित्व र रणनीतिक व्यवस्थापनमा गरी १५ वटा होटल पुर्‍याउने लक्ष्य कम्पनीले लिएको छ,’ चापागाईंले भने, ‘झन्डै ६ दशक लामो अनुभवका आधारमा हामी नेपालबाहिर पनि जाने योजनामा छौं ।’

सोल्टीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी वायुसेवाका बिजनेस क्लासका यात्रुहरूको सेवाका लागि होराइजन लाउन्ज सञ्चालन गरिरहेको छ । वायुसेवाका यात्रुहरूका लागि क्याटरिङ सेवा गेट गुरमेट नेपालमा सञ्चालन गर्ने यो नै पहिलो र एक्लो कम्पनी हो । यसले अतिथिहरू भित्र्याउन भारतको दिल्ली लगायतका सहरमा सम्पर्क कार्यालय राखेको छ ।

सोल्टीको विस्तारसँगै योसँग करिब १ हजार प्रत्यक्ष कर्मचारी जोडिएका छन् । सुरुवाती दिनमा फ्रन्ट अफिस डेस्कदेखि जनरल म्यानेजरसम्म विदेशी हुन्थे । तर, अहिले सोल्टीको राजधानी बाहिरका चेन होटल नेपाली जनशक्तिको नेतृत्वमा सञ्चालित छन् ।

सोल्टीले कोभिडको सामना गर्दा नेपाली शैलीको आतिथ्य सत्कार, नेपाली कला र सम्पदा झल्किने बुटिक शैलीको लक्जरी होटल आंशिक बन्द भए । तर नेपाल भ्रमणमा आउने पर्यटकदेखि विश्वका चर्चित नेता, उद्यमी, व्यापारी, कलाकारहरूको स्वागतमा यो ६ दशकयता निरन्तर खुला छ । लकडाउन, भूकम्प, नाकाबन्दी, आर्थिक मन्दी, बाह्य मुलुकका युद्ध वा अरू जेसुकै चलोस् यता पाहुनाको स्वागतमा सोल्टीको ढोका सधैं खुला छ ।

प्रकाशित : वैशाख ३०, २०८१ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आर्थिक वर्ष २०८१/०८२ को वार्षिक बजेट ल्याउने समय एक साता मात्र बाँकी रहँदापनि संघीय संसद्को गतिरोध खुलाउन सरकारले किन तदारुकता नदेखाएको होला ?