२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५३

डेढ वर्ष प्रधानमन्त्री बन्ने प्रस्तावमा सही नगरेपछि लामिछानेबारे कांग्रेस रिसर्च गर्न लाग्यो : ओली

काठमाडौँ — सत्तारुढ प्रमुख घटक एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष कांग्रेसले सरकार ढाल्ने खेल थालेको बताएका छन् । उनले उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका रवि लामिछानेले डेढ वर्ष प्रधानमन्त्री बन्ने प्रस्ताव नमानेपछि कांग्रेस अराजनीतिक तवरले लागेको बताएका हुन् । 

डेढ वर्ष प्रधानमन्त्री बन्ने प्रस्तावमा सही नगरेपछि लामिछानेबारे कांग्रेस रिसर्च गर्न लाग्यो : ओली

संसदीय दलको शुक्रबारको बैठकमा अध्यक्ष ओलीले कांग्रेसले सरकार ढाल्ने उद्देश्य राखेर लामिछानेको आलोचना गर्नतिर लागेको बताएका हुन् । अहिले सहरकारी अपचलनको छानबिन गर्नका लागि संसदीय समिति बनाउनुपर्ने भन्ने कांग्रेसले समिति बनेदेखि नै रवि लामिछानेलाई गृहमन्त्रीबाट हटाउनुपर्छ भनेर लाग्ने ओलीको भनाइ थियो । यसअघी सहकारीको अवस्थाको छानबिन गरौं भन्ने कांग्रेसले अहिले रवि लामिछानेमाथि छानबिन गरौं भन्दै आएको ओलीको भनाइ थियो ।

'योभन्दा अगाडि भन्नुभयो उहाँको नाममा छानबिन नगरौं, सहरकारीको अवस्थाको बारेमा छानबिन गरौं भन्नुभयो । हामीले रविजीको राजीनामा माग्या छैन भन्नुभयो । राजीनामा अहिले माग्या छैन । केही पनि नहुँदा समिति बनाउनेले समिति बनेपछि आफ्नै बारेमा छानबिन गर्न आफै उपस्थित भएको संसद्ले मन्त्रीको पदमा बस्न मिल्छ ? उपप्रधानमन्त्री गृहमन्त्री भएर झन्डा हल्लाउन मिल्छ ? छानबिनलाई प्रभावित गर्दैन ? पुलिसले गर्छ छानबिन ? गृहमन्त्री कसरी पदमा रहन सक्छ ? भन्ने त्यो छानबिन समिति बनाएपछि तत्काल उहाँहरूले सुरु गर्नुहुन्छ राजीनामाको खेल,' ओलीले भने ।

कांग्रेसको प्रस्ताव अस्वीकार गरेपछि रवि लामिछानेमाथि अनुसन्धान थालिएको ओलीको भनाइ थियो । 'एकातितर डेढ वर्ष प्रधानमन्त्री भइदिनुस्, यो समीकरण छोड्नुस्, हाम्रोतिर आइदिनुस्, डेढ वर्ष प्रधानमन्त्री खाइदिनुस् भन्ने,' ओलीले भने, 'त्यो हुन्न भनेर सम्झौतामा सही नगरेपछि विभिन्न फाइल बोकेर रिसर्च गरेर कुद्ने ! कांग्रेसको यस्तो तरिका फेयर छैन ।'

कांग्रेसले यो सरकार गठन भएदेखि छुद्र खेल थालेको पनि ओलीको भनाइ थियो । कांग्रेसले जसरी छानबिन समिति माग्दै जाने हो भने भविष्यमा अरुको पनि छानबिन हुने उनले बताए । 'राजनीतिमा यस प्रकारका छुद्र खेलहरू खेलिनु हुँदैन । कोही दोषी छ भने छानबिन र कारबाही गर्नु बेग्लै कुरा हो । दोषी छैन, कसैको उजुर छैन, केही छैन, फेरि दोषी करार गरेर कुनै पार्टीलाई सनक चल्यो भन्दैमा, कसैलाई धक्का पर्‍यो भन्दैमा त्यस प्रकारको छानबिन गर्ने ?,' ओलीले भने, 'अब फेरि कसैलाई उजुर हाल्न लाइदेला, उजुरीका आधारमा छानबिन गर्ने हो भने सबैका विरुद्ध उजुरी पर्छन्, सबैको छानबिन हुनुपर्छ किनकि आधार त केही पनि चाहिँदैन नि ! यस्तो खालको कुरो कमसेकम नेपाली कांग्रेसले गर्नु हुँदैनथ्यो ।'

कांग्रेस प्रतिशोध, निषेध र स्वार्थकेन्द्रित राजनीतिमा लागेको ओलीको भनाइ थियो । उनले राजनीतिक अस्थिरतालाई स्थिरता दिन गठन गरिएको सरकार उल्ट्याउन गत वर्षको जस्तै खेलमा कांग्रेस लागेको बताए ।

प्रकाशित : वैशाख २८, २०८१ १३:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?