कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९७

‘नक्कली छोरी’ बनेर सम्पत्ति हडप्ने प्रयास

‘नक्कली छोरी’ बनेर सम्पत्ति हडप्ने प्रयास

Highlights

  • वर्षौंदेखि न्यायका लागि भौतारिँदै मल्लाह परिवार

भैरहवा — दिवंगत निःसन्तान दम्पतीको सम्पत्ति कब्जा गर्न ‘नक्कली छोरी’ बनेर दुई महिला लागिपरेको रूपन्देहीको सिद्धार्थनगर–६, गल्लामण्डीस्थित एक परिवारले आरोप लगाएको छ । भारतीय नागरिकलाई ‘नक्कली छोरी’ कायम गर्न स्थानीय जनप्रतिनिधि, प्रशासक र कर्मचारीको मिलेमतो रहेको पीडित परिवारको दाबी छ ।

परिवारले बिहीबार भैरहवामा पत्रकार सम्मेलन आयोजना गरेर राज्यका कुनै निकायबाट न्याय प्राप्त नगरेको गुनासो पनि गरे । सिद्धार्थनगर–६, गल्लामण्डीका ४६ वर्षीय लालजीत र ४२ वर्षीय सन्त मल्लाहले ‘नक्कली छोरी’ बनेर अंश दाबी गर्ने महिला भारतीय नागरिक भएको बताए ।

वर्षौंदेखि न्यायको खोजीमा भौंतारिरहेका दाजुभाइका अनुसार २०७८ असार १७ मा मृत्यु भएका काका सुखु मल्लाहको छोरी भएको दाबी गरेर रिखीदेवी अग्रवाल र मालती मल्लाहले अंश दाबी गरेका हुन् । सन्तान नभएकाले सुखु र उनकी पत्नी कबुतरीलाई लालजीत र सन्तुले पालनपोषण गरेका थिए ।

सिद्धार्थनगर, ओमसतिया र सियारीमा गरेर मल्लाह दाजुभाइका नाममा १८ कठ्ठा जमिन रहेको छ । उक्त जमिन हडप्न चलखेल हुँदा समेत न्याय नपाएको दाजुभाइको गुनासो छ ।

काकाको सम्पत्ति प्राप्त गरेका मल्लाह दाजुभाइ एक्कासि दुई महिलाले आफूलाई सुखुको छोरी भएको दाबी गरेपछि छक्क परेको बताए । पीडित परिवारले अदालतमा पेस गरेका कागजात अनुसार ती महिला भारतको बस्ती जिल्ला मेहदावलका बासिन्दा बदल मल्लाहका छोरी हुन् ।

पत्रकार सम्मेलनमा जनाइएअनुसार सुरुमा ती महिलाले अंश माग गर्दै सन्त र लालजीतविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गराएका थिए । अदालतले सुखुको मृत्यु दर्ता मागेपछि दुवै महिला सिद्धार्थनगर–६ स्थित वडा कार्यालय पुगेका थिए । त्यहाँ वडाले मृत्युदर्ता प्रमाणपत्र दिएन । त्यसपछि वडा र नगरपालिकाविरुद्ध उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा मुद्दा दायर गरेका थिए ।

अदालतमा आफूहरू सुखु मल्लाहको छोरी भएको प्रमाण पेस गर्न नसकेपछि दाबी प्रमाण झूटा ठहर गर्दै अदालतले २०७८ माघ ५ मा रिट निवेदन खारेज गरिदिएको थियो । त्यसपछि ती महिलाले सिद्धार्थनगर–६ का वडासचिव विनोद कर्णसितको मिलेमतोमा सुखुको मृत्युदर्ता प्रमाण निकालेको पीडितले बताए । निःसन्तान सुखुलाई बाबु कायम गरेर वंशजको नागरिकता निकाल्न सफल भएको दाबी मल्लाह दाजुभाइको छ । ती महिलाको नागरिकतामा सुखुले नभइ उनीहरूका पतिले सनाखत गरेको पीडितले बताए ।

‘नागरिकता खारेजीका लागि जिल्ला प्रशासनमा निवेदन दिएपछि प्रशासनले महिलाको नागरिकता छानबिनका लागि मगाएर राख्यो,’ पीडित लालजीतले भने, ‘तर, २०८० साउन ५ मा सिद्धार्थनगरका नगर प्रमुख इस्तियाक अहमद खान र मायादेवी–३ का वडाध्यक्ष मोहम्मद रफिक खानको रोहबर र साक्षीमा छानबिनबिनै महिलालाई नागरिकता फिर्ता गरियो ।’

महिलाको नागरिकताबारे सिद्धार्थनगर–६ बाट सर्जमिन गरिनुपर्नेमा सिद्धार्थनगर–८ बाट गरिएको थियो । फरक स्थानबाट गरिएको सर्जमिनबारे परीक्षण र छानबिनबिनै जिल्ला अदालतले २०८० भदौ २६ मा ‘नक्क्ली छोरी’ बनेका रिखीदेवी र मालतीको पक्षमा फैसला गरेको मल्लाह दाजुभाइको आरोप छ । यसमा सिद्धार्थनगरका नगर प्रमुख खान, मायादेवी–३ का वडाध्यक्ष मोहम्मद रफिक, तत्कालीन प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे, सिद्धार्थनगर–८ का वडाध्यक्ष राजनजंग राणा र सिद्धार्थनगर–६ का वडासचिव विनोद कर्णलगायतको मिलोमतो रहेको आरोप मल्लाह दाजुभाइले लगाएका छन् । उनीहरूले मिलेमतोबारे छानबिन माग गरेका छन् ।

‘महिलाले प्राप्त गरेको नागरिकतामाथि कुनै छानबिन भएन । बाबु भनिएका सुखु र कान्छी छोरी बनेकी मालीको उमेरबीच ६ वर्षको मात्रै फरक छ र ६ वर्षमै सन्तान जन्मिएको कुरा अदालतले कसरी पत्यायो ? अंश हडप्ने खेलमा धेरै कुरा रहस्यमय छन्,’ पत्रकार सम्मेलनमा सन्त मल्लाहले भने, ‘नक्कली छोरी बनेका महिलाको नागरिकता छानबिन गरी कारबाही होस् र डीएनए परीक्षण गरेर भए पनि यथार्थ पत्ता लगाइयोस् भन्ने हाम्रो माग हो ।’

मल्लाह दाजुभाइ वर्षौंदेखि न्याय दिलाउन माग गर्दै स्थानीय तहअन्तर्गत वडा, नगरपालिका कार्यालय, जिल्ला प्रशासन, अदालत, राजनीतिक दलका प्रमुखकहाँ धाइरहेका छन् । रूपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले यसबारेमा पीडित पक्षले तथ्यगत प्रमाण उपलब्ध गराएको र नागरिकताका बारेमा यसअघि फरक ठाउँबाट गरिएको सर्जमिन तामेलीमा राखिएको अवस्थामा पीडितले पुनः निवेदन दिएपछि तामेली जगाएर फेरि सर्जमिन गराइएको र त्यसमा दुवै महिला सुखुको छोरी नभएको देखिएकाले थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।

प्रकाशित : भाद्र ६, २०८१ १७:३१
x
×