कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

मुहान सुकेपछि बर्दिवासमा पानीको हाहाकार

नेपाल राष्ट्रिय नारायणी मावि चल्की, वडा कार्यालय र स्थानीयको खेतमा रहेका ३ वटा डिप बोरिङबाट वडाभरि खानेपानीको माग धानिँदै
सुनिता बराल

महोत्तरी — पाँच वर्षअघिसम्म पानी प्रशस्त पाइने बर्दिवास–१२ स्थित जुरी बजार क्षेत्रमा अहिले खानेपानीको हाहाकार छ । पानीका मुहानहरू सुक्दै गएपछि उक्त क्षेत्रका नदी, पोखरी, इनार र कल सुकेका हुन् । अहिले स्थानीय पानीको जोहो गरिदिन सरोकारवालासँग माग गरिरहेका छन् । 

मुहान सुकेपछि बर्दिवासमा पानीको हाहाकार

बर्दिवास–१२ का अकवानटोल, चल्की, जुरीबजार, देवनगर, अभिमानटोल, इस्लाम टोलका करिब १ हजार परिवारले पानीको हाहाकार भोगिरहेको वडाध्यक्ष रामकिशोर साहले बताए । तीन वर्षयता पानीको समस्या निकै जटिल बन्दै गइरहेको उनले बताए । पछिल्लो समय विद्यालय र वडा कार्यालयमा रहेका डिप बोरिङमा लाइन लागेर स्थानीयले खानेपानीको जोहो गर्दै आएका छन् ।

वडा कार्यालयबाट २० मिनेटको दूरीमा घर भएकी विनीता साह पानी ओसार्न पर्ने दैनिकीका कारण बिहान ४ नबज्दै उठिसक्छिन् । बिहान २० पटकसम्म पानीको स्रोत भएको ठाउँबाट धाएर पानी ओसार्दा बिहानको ८ बज्ने उनले बताइन् । ६ बजेसम्म घरको धन्दा सक्ने र ६ बजेबाट वडाको डिप बोरिङबाट वितरण हुने पानी बाल्टिन र गाग्रीमा झण्डै २० खेप ओसार्ने गरेको उनले सुनाइन् ।

पाँच महिनादेखि आधा घन्टा लगाएर विद्यालयको डिप बोरिङबाट पानी बोकेर खाइरहेको बताउने चल्की टोलकी रहिमान खातुनले अहिले पानीको धेरै समस्या भएको बताइन् । ‘अरू काम छाडेर खानेपानीकै लागि अहिले लाइन बस्नु परेको छ,’ उनले भनिन्, ‘२० मिनेट लाइन बसेपछि एक बाल्टिन पानी थाप्न पाइन्छ ।’ २ वर्षअघि घरनजिकैको अंकुशे पोखरीमा पानी सुकेदेखि बिस्तारै घरको कलमा पनि पानी आउन छाडेको उनले सुनाइन् ।

सागपात लगाउन, सरसफाइ र चौपायालाई खुवाउन पानीको हाहाकार भएको जुरीटोलका सूर्यनारायण मण्डल बताउँछन् । पाँच वर्षअघिसम्म हरेक खेतमा पानी रसाउने ठाउँमा अहिले बाली लगाउँदा सबै सुकेर उब्जनी घट्दै जाँदा किसान उत्पादन नहुने चिन्ताले छट्पटिएको मण्डलले बताए ।

वडा १२ को खानेपानी समस्या समाधानका लागि आर्थिक वर्ष २०७२/०७३ मा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयबाट सुरु भएका ३ वटा योजना सञ्चालनमा नआउँदा स्थानीय समस्यामा छन् । योजनाअन्तर्गत चालु आर्थिक वर्षमा समेत मगरटोलमा खानेपानी बोरिङमा १५ लाख, रामजानकी टोलमा १५ लाख र डाँडाटोल बजार छेउको डिप बोरिङ योजनाको काम सम्पन्न गर्न ५० लाख बजेट परेको थियो । तर, आर्थिक वर्षको अन्त्यतिर आइसक्दा समेत ५ वर्षअघि नै सञ्चालनमा आउनुपर्ने योजनाको काम अझै पूरा नहुनु दुःखद भएको स्थानीय बताउँछन् ।

डीपीआर अनुसार बजेट नआउँदा योजना समयमै पूरा गर्न समस्या हुने गरेको खानेपानी डिभिजन कार्यालयका सव–इन्जिनियर बृजेश यादवले बताए । बर्दिवास–१२ का ३ वटै योजनाको काम ढिला हुनुमा संघले अधुरो बजेट पठाउने र उपभोक्ता समितिले पनि आर्थिक वर्षको अन्त्यमा वैशाखबाट असारसम्म मात्रै चासो दिनुले योजना सञ्चालनमा आउन नसकेको उनले बताए ।

दुईवटा योजनामा ट्यांकी निर्माण, डिपबोरिङ र पाइपलाइनको काम भइरहेकाले अन्तिम चरणमा काम पुगेका २ योजनाबाट आंशिक रूपमा यसै वर्ष पानी विरतण गरिने यादवले बताए । यता उपभोक्ता समिति भने खानेपानी संस्थालाई देखाएर काम ढिला भएको बताउँछ । मगरटोलको डिप बोरिङ योजना उपभोक्ता समितिका अध्यक्ष आफू र अर्को डाँडाटोल बजारको योजनामा श्रीमती पम्फा आलेलाई उपभोक्ता समितिको अध्यक्ष बनाएर काम गरिरहेका श्याम आले खानेपानी डिभिजनले बजेट समयमा नदिएर काममा ढिलाइ भएको बताउँछन् । आफ्ना तर्फबाट द्रुत गतिमा काम भएको उनले दाबी गरे । यस वर्ष पानी खुवाउने योजना अनुसार काम गरिरहेको उनले बताए ।

वडाअध्यक्ष साह भने उपभोक्ता समिति र खानेपानी कार्यालयको चरम लापरबाही योजनामा देखिएको भन्दै आफूले पटक–पटक खानेपानी कार्यालयमै गएर दबाब दिए पनि काममा प्रगति नभएको बताउँछन् । वडामा तीनवटा खानेपानीका योजना सञ्चालन हुने हो भने करिब १ हजारदेखि २५ सय परिवारले सहजै पानी खान पाउने उनले बताए ।

अहिले वडामा पानीको अभाव भएपछि वडा, विद्यालय र व्यक्तिको खेतमा रहेका ३ वटा डिप बोरिङबाट बिहान–बेलुका विभिन्न टोलबस्तीमा पाइपबाट पानी पठाउने गरेको साहले बताए । विहान ६ बजेदेखि ८ बजेसम्म र दिउँसो ३ बजेबाट राति ८ बजेसम्म डिप बोरिङबाट पानी वितरण गरेको र स्थानीयले पानी थापेर सञ्चित गर्दै दैनिकी चलाइरहेको साहले बताए ।

नेपाल राष्ट्रिय नारायणी मावि चल्की, वडा कार्यालय र स्थानीयको खेतमा रहेका ३ वटा डिप बोरिङले खानेपानीको माग धान्नुपर्दा निकै समस्या भएको वडाध्यक्ष साहले बताए । खानेपानीका सबै स्रोत सुकेकाले अब कसरी पानी खाने भन्ने चिन्ता स्थानीयलाई भएको उनी बताउँछन् । बिजलपुरामा रहेको १० बिघा क्षेत्रमा रहेका अंकुशे पोखरी, जुरी खोला, इनार, कललगायत पानीका मुहान सुक्नुमा चुरे विनाश मुख्य कारण भएको विज्ञ बताउँछन् ।

२ वर्षदेखि लामो खडेरी भइरहेको र चुरे विनासले पानीका स्रोत सुक्दै गएको चुरेविज्ञ विजय सिंह बताउँछन् । पानी सञ्चित गर्ने चुरेको विनाश हुँदै जानु, जलवायु परिवर्तनको असर खडेरी लामो समय रहनु, पानीका मुहान रिचार्ज गर्ने बाटो खल्बल्याउने गरी क्रसर उद्योगले जथाभावी २५/३० फिटका खाल्डा बनाउनु मुहान सुक्ने कारक तत्त्व रहेको सिंहले बताए । स्रोत संरक्षणका लागि चुरेक्षेत्रमा सयौं पोखरी बनाएर वर्षाको पानीलाई सञ्चित गर्नु, रिचार्ज गर्ने बाटोहरू संरक्षण गर्नु, चुरेको विनाश कम गर्नु, वन जङ्गलमा आगो लाग्न नदिनु, खोला खोल्सी थुनेर पानी बगेर जान नदिनु जस्ता कार्य गरे पानीका मुहानमा पानी फर्कने आशा गर्न सकिने सिंहले बताए ।

एकैपटक मधेशमा पानीका मुहान सुकेका नभई लामो खडेरी र चुरे र प्रकृतिको विनाश बढेपछि यस्ता समस्या बढ्दै गएको सिंहले बताए । जुरी बजारमा रहेको जुरीमाई देवीको पूजा गर्दा पानीको मुहानमा पानी आउने विश्वासले स्थानीय अहिले मन्दिर निर्माणमा लागेका छन् । नगरपालिकाको ५ लाख बजेटमा मन्दिर निर्माणको काम अघि बढाइएको वडा कार्यालयले जनाएको छ ।

पानीको हाहाकार बढ्दो अवस्थामा रहेकाले स्थानीयको अनुरोधमा मन्दिर निर्माणमा बजेट राखेर काम अघि बढाएको अध्यक्ष साहले बताए । ‘१० वर्षअघि बर्दिवासका अन्य वडाले समेत जुरीटोलबाट पानी लगेर खाने अवस्था थियो,’ स्थानीय राजकरण महतोले भने, ‘अहिले यसरी पानीका लागि मर्नुपर्ने अवस्था किन आयो हामी छक्क परेका छौं ।’ मन्दिर बनाउन समेत पानीको चरम समस्या रहेको स्थानीयले बताएका छन् । वडा कार्यालयमा रहेको डिप बोरिङबाट ट्याङ्करमा पानी ल्याएर मन्दिर निर्माण गरिरहेको वडाअध्यक्ष साहले बताए ।

प्रकाशित : जेष्ठ २९, २०८१ २१:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चालु आर्थिक वर्ष सकिन लाग्दा पनि दर्जनभन्दा बढी मन्त्रालयको पुँजीगत खर्च ४० प्रतिशतभन्दा कम हुनुको प्रमुख कारण के होला ?

×