कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

माधवी ! ओ माधवी !

आफ्नो प्रिय उपन्यासको घटना र पात्रहरुबीच कुनै पाठकले प्रवेश गर्‍यो भने के होला ? मदनमणि दीक्षितको चर्चित उपन्यास 'माधवी' यी लेखक आफूखुशी प्रवेश गरेका हुन् ।
केशब दाहाल

दशैं भख्खर सकिएको थियो । सरद ऋतु । त्यसैले आकास सफा थियो । सुर्यास्तको समय । सारसहरु ययाती दरबारको बुर्जालाई दाया पारेर

माधवी ! ओ माधवी !
पश्चिम आकासतिर उड्दै थिए । सारस र सुर्यको सम्मिलन निकै रोमाञ्चक लाग्दथ्यो । दरबारको गजुर छोएर आउने हावा सन्ध्या गाउदै मेरो कानै छेउबाट अगाडि जान्थ्यो । ताराहरुको मेला सुरु हुदैथियो आकासमा । सम्राट ययाती दरवारमा घण्ट बजेको आवाज देवध्वनी झै सुनिन्थ्यो । उत्सव र उमंगले भरिएको त्यहि क्षण मैले घर छोड्ने निर्णय गरें ।
मैले योभन्दा अगाडि पनि घर छोड्ने विचार गरेको थिएँ । त्यो बेला सायद समय खराब थियो । खराब कसरी भने त्यो बेला आकासबाट कालो पानी पर्दै थियो । पुर्व क्षितिजमा सारसहरु उडेका थिएनन् र ययाति दरबार पनि सुनसान थियो । त्यो रात ओखरको रुखमा हुचिल करायो । विहान मन त्यसै भारि भएर आयो । त्यसैले त्यो दिन मैले घर छोडिन । तर आज मन वाईपन्खी घोडामा सवार छ । रहरहरु बेलगाम छन् । बस अब कसले रोक्नसक्छ मेरो वेगलाई ?
साँझ 'डिनर टेवलमा' मैले परिवारलाई सुनाएँ, म एक महिनाका लागि हराउँदै छु । परिवार, यसको मतलब मेरी रिसाहा श्रीमती, हुस्सु छोरो र गनगने छोरी । कता जाने ? छड्के आँखाले मैतिर हेर्दै छोराले सोध्यो ? उ निकै हुर्किसकेको छ । भने, जान्छु नि कतै । यतिठुलो संसारमा घुम्नका लागि मनग्गे ठाँउछन् । मलाई नखोज्नु । आवस्यक परे म आफंै सम्पर्क गरौंला । मेरा उडन्ते कुरा सुनेर उनीहरु हेरेको हेरेई भए । अरुबेला श्रीमती निकै सोधखोजमा लाग्थी तर आज उ पनि चुपचाप । सोचिहोला यो बौैलाहासँग के कुरागर्नु । मलाई कसैले नजाउ भनेनन् । भनेकै भए पनि म रोकिने थिईनँ । अघिल्लो साँझ पश्चिमतिर उडेका सारसहरु नफर्किदै म घरबाट निश्किएँ । म सारसजस्तै पश्चिमतिर उडंे ।
मैले घर छोड्नु कुनै गतिलो कुरा होईन । मुल कुरा अर्कै छ । म एक विवाहित मान्छे । उमेर चालिस कट्यो । यस्तो बेला मेरो प्रेम भयो । त्यो पनि माधवीसँग । प्रेम हुन समय, उमेर र परिवारले नछेक्ने रहेछ । मेरी हृदयकि रानी थिई अहिच्छत्र नरेश ययाती र अप्सरा विश्वाची पुत्री माधवी । माधवीको प्रतिभा, शालिनता, तेज र तपस्या विख्यात थियो । सबै कामुक बन्थे माधवीसँग । छुन चाहन्थे । मलाई थाहा थियो माधवीलाई छोएर पाईदैन । उसलाई पाउन त प्रेम गर्नुपर्छ । बस यसरी म प्रेममा परंे । आफ्नो प्रेमको उच्चता र समर्पणका लागि मैले माधवीसँगै हिड्ने निर्णय गरें । सायद प्रेममा सबैलाई यस्तै हुँदो हो ।  
......................
मैले त्रीवेणीमा प्रातकालीन स्नान गरें । यो त्यही त्रीवेणी हो जहाँ बरुण उपासनाको भोलिपल्ट सुपर्ण र गालवले स्नान गरेका थिए । झरनाको उत्तर, कमलफुलले ढाकिएको तलाउ किनारमा एउटा बढेमानको चिप्लेटी ढुंगामाथि म झोला सिरानी हालेर बसें । म माधवीलाई पर्खदै थिए । मनमा हाम्रो भेट, प्रेम र रोमान्सका अनेकौ संझनाहरु आए ।
माधवी र म एउटै महाजनपदका हांै । तर मैले माधवीलाई त्योभन्दा अगाडि अनुभव गरेकै थिईन । त्यो दिनको कुरा अलग थियो । त्यो दिन अहिछत्रमा बरुण उपासना चल्दैथियो । उपासनाकी मुख्यकर्ता थिई माधवी । दिन असाध्यै गर्मी थियो । त्यसैले माधवीको निधारबाट मोतिका दाना चुहिदै थिए । विभिन्न भेषभुसा, रंग र भाषाका मान्छेहरुको भिडभाड थियो । तर माधवी अलग थिई । टम्म जिउ, मातिएका बक्षस्थल, पातलो कम्मर, लहराजस्ता हात, बादलजस्तो कपाल र देवीका जस्ता आँखा । 'टपलेस' थिई उ । अनुहारमा अलिकति मात चडेको थियो । जवानीको र सुरापानको । कसरी हो पहिलोचोटी हाम्रो आँखा जुध्यो, उ लजाई । त्यो दिन बरुणवलीका लागि एकजना दासी पुत्रलाई बलि दिईदै थियो । माधवीले नै हृवारहृवारति दन्किएको आगोमा बलि अर्पित गर्नुथियो । माधवी अग्नीकुण्डतर्फ जादैथिई । उनको हातमा दुधमुखे दासीपुत्र थियो । उ अग्नीकुण्डभन्दा पाँच गज जती वर हुदिहो, फेरि मसँग आँखा जुध्यो । उ त रुँदै पो रहिछ । गालाबाट आँशुका थोपाहरु झर्दा उ अझ राम्री, प्रेममय र कविताजस्ती देखिई । त्यही क्षण मलाई लाग्यो यो आईमाई मेरो प्रेमका लागि सबैभन्दा उपयुक्त पात्र हो । यसरी मैले उसलाई प्रेम गरे ।
अर्कोदिन हाम्रो पहिलो भेट भयो । त्यसपछि बगबगैचामा, नदिकिनारमा, राजसभामा जहाँतहि हामी भेट्थ्यौ । पहिलो भेटमा हाम्रो धेरै कुरा भएन । उसले भनी तिमी मेरो पहाड हौ । तिमी मेरो आकास हौ । तिमी मेरो जिवनकै सर्वक्षेष्ठ उपहार हौ । त्यो भन्दा अगाडि कसैले मलाई पहाड र आकास भनेकै थिएन । उसको कुराले म मोहित भए । बस मैले उसलाई चुम्वन गरिदिए । त्यसपछि मेरो होस रहेन । त्यहि वेहोसिको पहिलो रात मैले घर छोड्ने विचार गरेको थिए । तर त्यो वेला साईत मिलेन ।
केहिदिन पछि अहिच्छत्र सभामा हामी उपस्थित थियौ । त्यो दिन सभाले खास निर्णय सुनाउदै थियो । सभामा महषिर् बिश्वामित्र ऋषीकुलका कौशीक मुनीकुमार गालव र उसको साथी नागजेय पनि थियो । त्यो सभामा गालवलाई सम्राट ययातीले भाउ दिएको मलाई धेरै मन परेन । गालव आफ्नै कुरा गर्दैथियो । महान चेलो बन्नका लागि ऋषी बिश्वामित्रलाई उसले चारवटा श्यामकर्ण घोडा गुरुदक्षीणा दिने वाचा गरेको रहेछ । तर ययातीसँग यस्तो घोडा थिएन । बदलामा ययाती आफ्नी पुत्री माधवी गालवलाई दान गर्न चाहन्थे । जसलाई विभिन्न राजाहरुबीच प्रस्तुत गरेर बदलामा गालवले श्यामकर्ण घोडा प्राप्तगर्न सक्थ्यो । एक पुत्रको वदला एउटा घोडा । कुरा सुन्दा नै मेरो मन भाउन्न भएर आयो । मलाई आषा थियो माधवीले यस्तो सर्तलाई ईन्कार गर्ने छ । तर माधवी त आदर्शवादी पो निश्किई । उसले सर्त स्विकार गरि । त्यसपछि अहिच्छत्र सभाले माधवी गालवमा अर्पितगर्ने निर्णय सुनायो ।
साँझको भेटमा माधवीलाई वेस्मारी हकारे । उ रुन थाली । आखिर मैले नै परिस्थितीलाई समाले । प्रस्ताव गरे म पनि उसँगै जान्छु । खुसीसाथ उसले मेरो प्रस्ताव स्विकार गरी । तर यसका लागि मैले उसको एउटा काम गरिदिनुपर्ने भयो । उसले मेरो हात सुमसुम्याउदै भनी त्यो हलिमकलाई मार । हलिमकले माधवीलाई पटक पटक बलत्कार गरेको रहेछ । म यस्ता पातकिहरुलाई घृणा गर्छु । त्यसैले मैले सर्त स्विकारगरे र सजिलै हलिमकलाई मारिदिए । यसरी म माधवीको अगाडि एक पुरुष र पक्का प्रेमीको रुपमा स्थापीत भए । गालव माधवीको यात्राको सारथी थियो तर असल पुरुष र पे्रमी म नै थिए ।
.....................
तलाउ किनारमा घामको पहिलो प्रकास खस्दैथियो माधवी र गालव आईपुगे । हामी अगाडि बढ्यौ । हाम्रो यात्रा थियो अयोध्या, काँशी, भोजनगर, राजर्षी बिश्वामित्र भुमी हुदै सम्वालासम्मको । गालवको स्वार्थ थियो श्यामकर्ण घोडा । त्यसैले उ माधवीलाई माया गर्दथ्यो । मलाई त्यो वाहुन केटो पटक्कै मन पर्दैनथ्यो । उ मेरी माधवीलाई माध्यम बनाएर बिश्वामित्रलाई जित्न चाहन्थ्यो । मलाई गालव निकै पतित, असभ्य र जंगली लाग्दथ्यो । उ महिलाहरुलाई मायागर्न जान्दैन भन्ने संझदा मनमनै हाँस उठ्थ्यो । म रिसले मुरमुरीन्थे ।
वनायु जनपदमा चौलामातासँग भेट भएको रात म माधवीसँगै बिताउन चाहन्थे । राजाहरुमा समर्पित हुनअगाडिनै म उसँग रातभर प्रेम गर्न चाहन्थे । तर कसैगरी उसले मेरो कुरा बुझीन । उ त चौलामातासँग सरयु नदितिर पौडि खेल्न पो गई । सुरुसुरुमा मलाई गालवसँग पनि शंका थियो । कतै आफ्नो भिक्षापात्रको दान संझीएर उसले गडवड गर्ने त होईन ? तर सरयु नदि तदर्ैैगर्दा गालव प्रतिको मेरो शंका सबै हट्यो ।
हामी अयोध्या नजीक आईपुग्यौ । माधवीले संृगार गरी । गालव आफ्नै भावमा सरयुको पानीसँग खेल्दैथियो । तर मेरो मुटुमा भने हजारौ गाँठाहरु थिए । यो आईमाई जसलाई म असाध्यै माया गर्छु उ किन यतिधेरै सुन्दर छ ? माधवी कुरुप भए कतिजाती हुन्थ्यो होला । राजाहरुले माधवीको सौन्दर्यलाई तिरस्कार गरिदिए सायद म धेरै खुसी हुनेथिए । मेरा आँखा माधवीमा अडिएका थिए । तर उ भावसुन्य थिई । गालवले भन्यो, 'सम्राट पुत्री महामाया तिम्रो तपस्या निश्फल हुनेछैन ।' म भन्न चाहन्थे- मेरी प्रीय माधवी तिम्रो प्रेम असफल हुनेछैन । त्यहिबेला नाउ थोरै डगमगायो । मेरो कल्पनाको तन्द्रा टुट्यो । सरयुको अयोध्यातटमा सम्राट हर्यश्व, उनको रथ र लावालस्करहरु देखीए । मेरो ढुकढुकि तिब्र हुदैगयो । मैले माधवीको आँखामा आँखा जुधाउन सकिन । तर मलाई लाग्छ उसको ओठमा कसैप्रति ब्यंङ्ग्य र आँखामा आशु हुनपर्ने हो । केवटहरुले नाउलाई स्थिर गरे । राजा हर्यश्वले नाउ नजीकै आएर माधवीलाई हात दिदै भन्यो- सम्राट ययातीपुत्री माधवीलाई राजा हर्यश्वको स्वागत छ । माधवीले उसको हात समाई । त्यसपछि मैले थप केहिपनि देखीन ।
................................
पाँचबर्ष वितेजस्तो लाग्छ । यो बीचमा मैले एकैपटक पनि घरमा खवर गरिन । दिनहरु यसरी बिते कि म कहिल्यै होशमा रहिनँ । अयोध्या, काँशी र भोजनगरका मेरा दिनहरु साँच्चै कष्टपुर्ण थिए । भौतिक असुविधा केहि थिएन । तर आफ्नै प्रेमीका रहेकदिन राजाहरुमा समर्पित हुनु र उनिहरुको लागी पुत्र पाउनु मेरा लागि असहृय थियो । गालव हर्सित थियो उसले तिनवटा श्यामकर्ण घोडा प्राप्त गरिसकेको थियो । माधवी परिपक्क हुदैथिई । उ अव पुर्ण आईमाई जस्ति देखिन्थी । राजाहरुसंगको उठवसले राजकाज, सभ्यता र संस्कृतिका अनेकौं कर्महरुमा उ निपुर्ण थिई । उ दासहरुका पिडा, महिलाहरुको मनोभाव, माता धोषाको दर्शन र नरमांसभक्षी निशाचरहरुको भावना बुझ्न सक्थि । उ मान्छेको मुक्ति र स्वतन्त्रताको महत्व अनुभव गर्थी ।  
मलाई अयोध्यामा भेटभएकी घोषा र दाषशालाको त्यो बिद्रोहि दासको खुव संझना आउछ । कसरी त्यो दाषले राजालाई तँ भनेर सम्वोधन गर्यो ? त्यो विद्रोहीले मलाई कृत कृत बनायो । मजा आयो । दासलाई मार्न आदेश दिईरहदा राजा सबैभन्दा कातर र नामर्द देखीएको थियो । दास त मारियो । तर उसको मृत्युसंगै दाषहरुको मुक्ति अनवार्य बन्दैगयो । दाषहरुले जिते र सम्राटहरुले हार्दैगए । मैले माधवीलाई दाष विद्रोहको कुरा सुनाउदा उ मरीमरी हाँसी । उसको हाँसोमा राजाहरु प्रति घृणाभाव थियो । मलाई खुसी लाग्यो । माधवीले मलाई बाहेक सबै पुरुषलाई घृणा गरोस् म यहि चाहन्थे ।
जब माधवी दरवारसभामा प्रवेश गर्थी र श्यामकर्ण घोडाको बदलामा आफुसँग सुखभोग गर्न राजाहरुलाई स्विकृति दिन्थी म त्यहिक्षण आधा मर्दथे । राजाहरुको माधवी प्रतिको कामुक नेत्र र रसिला ओठ मलाई कहिल्यै मन परेन । मेरै अगाडि मेरी माधवी राजाहरुसंग रात विताउदैछ भन्ने अनुभुतिले मलाई गलाउथ्यो । म चाहान्थे माधवीले हरेक राजाहरुसंग सयनकक्षमा विद्रोह गरोस् । तर न उसले राजाको बाहुपासबाट उन्मुक्ति खोजी न त मैले नै राजाका विरुद्ध खड्ग उठाए । प्रेमगर्नेहरुको लाचार रात कति पीडादायी हुन्छ मैले यी वितेका बर्षहरुमा अनुभव गरे । एकदिन माधवीले राजा दिवोदाषलाई भनी मलाई ईच्छापुर्ण भोग गर । मलाई यो कुराले अझ जलायो । माधवीले किन भोग गर मात्र भनिन ? किन ईच्छापुर्ण भोग गर भनि । ईच्छापुर्ण शब्दप्रति मेरो असन्तोष थियो । खासमा राजाहरुसंग माधवी समर्पित भएको मलाई सहृय थिएन । म रहेक रात निदाउन सक्दिनथे । त्यसैले म गल्दैथिए । मलाई चौन थिएन । ति मेरो नर्कका रातहरु थिए ।
भोजनगरमा माधवीले तेश्रो पुत्र प्राप्तगरी । राजा शिवी असाध्यै हषिर्त भयो । गालव र सुपर्ण कुनै गोप्य मन्त्रणमा थिए । गालव चौथो पुत्रका लागि बिश्वामीत्रलाई नै माधवी समर्पित गर्ने विचारमा पुगेको थियो । मलाई यो कुरा कसैगरी चित्त बुझेको थिएन । त्यो बुढो, जिर्ण र विर्यहिन पुरुषमा म माधवी कसैगरी समर्पित भएको देख्न असमर्थ थिए । एकदिन विहानै माधवी धारामा नुहाउदै थिईन् । म पुगे । उनको अनुहार लाजले अलिक रातो भयो । तर यो एकान्तमा उसले मलाई समाती र हजारौ चुम्वनहरुको बषर्ा गरी । यस्तो कहिल्यै भएको थिएन । सायद उ पनि दिक्क थिई । बिश्वामित्रसँग कसैगरी सम्पर्कगर्न उसलाई चाहना थिएन । उसले दिनभावमा मलाई भनी 'म वेश्या हैन । आईमाईलाई तिमी पुरुषहरु वेश्या नबनाउ ।' ठीक यही मौका मैले उसलाई बिद्रोह गर्न उचाले । मैले भने अब म आफैं चौथो श्यामकर्ण घोडा खोज्नेछु । म युद्ध गर्छु कुनै राजासँग र चौथो श्यामकर्ण घोडा जित्नेछु । त्यो घोडा गालवलाई दिउला । त्यसपछि तिमी पनि गालवको ऋणबाट मुक्त हुनेछौ । म तिमीबाट प्रेम र पुत्र प्राप्तगर्न चाहान्छु । माधवी मसँग राजीभई । हामीले यो कुरा गालवलाई भन्यौ र अर्को विहान, सुर्योदय अगाडि नै चौथो श्यामकर्ण घोडा खोज्न माधवी र म हिड्यौ ।  
.................................
विहानै सहरको फाटक खुलेकै थिएन हामी वाईपंखी घोडामा निश्कियौ । हाम्रो घोडा सिधा उत्तरपश्चिम हानियो । घरबाट निश्किएको ५ बर्षपछि त्यो दिन माधवी र म एउटै घोडामा थियौ । म खुसिले पागल जस्तै थिए । अव हामी दुईमात्र हुनेछौ । यो संझनाले पनि मलाई रोमाञ्चित बनायो । त्यो रात मैले माधवीसँग एक पुत्र मागे । यस्तो पुत्र देउ जो चक्रवर्ती होस् । बिश्वविजयी होस् र माहासम्राट बनोस् । प्रेममा आलींगनवद्ध हुदै माधवीले भनी त्यस्तो राजाको के काम ? माधवीले भनी म राजा हैन असल पुत्र चाहन्छु । मेरो पुत्र बिश्वविजयी हुनेछैन बरु बिश्व कल्याणकारी हुने छ । मैले तीनजना राजालाई पुत्रदान गरे । मलाई थाहा छ राजा के हो ? त्यसैले म माहासम्राट हैन मेरो छोरो चाहान्छु जो मसँगै बसोस् । मलाई र तिमीलाई माया गरोस् । जसले एक जनताको रुपमा सबैभन्दा सफल र अर्थपुर्ण जिवन बिताओस् ।
मेरी माधवी । मैले उसको हात समाते र त्यो रात अघाउजी उसका आँखाहरुमा हेरे । उसको मन भित्र पौडिन थाले । माधवी साधारण नारी थिईन । त्यो दिन उ त असाधारण, सरल र सान्त मनकि स्वामिनी पो देखिई । यतिधेरै स्वार्थहरुबाट मुक्त आईमाई मैले देखेकै थिईन । मैले त्यसपछिका रातहरुमा श्यामकर्ण घोडा, गालव, महर्षी बिश्वामित्र र मेरा छोराछोरीहरु सबै बिर्सिए । म आफु भख्खर पुर्ण पुरुष र एक असल प्रेमीभएको खुसीमा झुमे । जिवन बिजय उत्सवमा थियो ।
सम्वालागण तिरको बाटो अलिक हिलो र अप्ठेरो थियो । बाटोमा भेटिएका स्वतन्त्र दाषदाषीहरुले हामीलाई आफैसंग हिड्न प्रेरीत गर्दैथिए । एक हुल बैष्णवी धर्म मान्नेहरुको ताती दक्षीणतिर जाँदैथियो । तर हामी आफैमा निर्लिप्त थियौ । हामी आफ्नै प्रेमको घर बसाउन चाहान्थ्यौ । हामी अर्कै संसारको रचनागर्न चाहान्थ्यौ । यस्तो संसार जाँहा प्रेम, मानवता र सुखबाहेक केहि नहोस् । मैले मेरो संसारको चित्र बनाउदै थिए र माधवी त्यसमा रंगहरु भर्दैथिई ।
त्यहि साँझ हाम्रो वाईपंखीघोडा वेलगाम भयो । घोडा माथिमाथि आकाशतिर उड्नथाल्यो । तल मेरो गाँउ थियो । सायद यो बर्ष पनि भख्खर दशै सकिएको थियो र मान्छेहरु तिहारको तयारीमा थिए । मैले आकासबाट देखे तल मेरो घर थियो । बगैचा थियो । मेरा केटाकेटिहरु थिए । ठीक त्यही बेला हाम्रो वाईपंखी घोडा आकाशबाट झर्‍यो । म सपनाबाट झसंग हुँदै ब्युझीएँ । मेरो सिरानमा उही मनदमणी माड्सावको उपन्यास 'माधवी' थियो । उपन्यासको कुनै पन्नाबाट माधवी मलाई नै हेरेर मुस्कुराउदै थिई !
 

प्रकाशित : आश्विन २५, २०७१ ११:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?