१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

फुटबल भर्सेज भ्रष्टाचार

राजु घिसिङ

स्वीस सेप ब्लाटर र कतारका मोहम्मद बीन हमाम कुनैबेला यति नजिक थिए कि यी दुई एउटै कार्यक्रममा भएको बखत एउटै टेबलको वरिपरि हुन्थे ।

यी दुई एक-अर्काको जुठो खानेसम्मका घनिष्ठ साथी थिए । अन्तर्राष्ट्रिय फुटबल महासंघ -फिफा)को सन्् २०११ को निर्वाचन यस्तो मोड बन्यो जसले यी दुईको सम्बन्धमा सँधैका निम्ति पूर्णविराम लगाइदियो । त्यसयता यी दुईवीच भेटघाट त के बोलचाल पनि छैन । एकले अर्कोको नामै लिन चाहदैनन् ।
फिफा अध्यक्ष ब्लाटर र एसियाली फुटबल महासंघ -एएफसी) का पूर्वअध्यक्ष हमामबीच तीक्तता सुरु भएसँगै २०११ यता फुटबल साह्रै बदनाम भएको छ । मैदानी खेलभन्दा मैदानबाहिर बन्द कोठामा हुने सम्झौता र टेबलमुनिको लेनदेनले फुटबललाई बद्नाम बनाएको हो । साढे तीन बर्षअघिको फिफा निर्वाचनमा खास के भएको थियो त ?
फिफाको १ सय १० बर्षे इतिहासका आठौं अध्यक्ष हुन्, ब्लाटर । उनी पहिलोपल्ट १९९८ मा अध्यक्ष भएका थिए । टेक्निकल डिरेक्टरको रुपमा १९७५ मा फिफामा प्रवेश गरेका उनी त्यसको ६ बर्षपछि महासचिव बने । ब्राजिलियन जाओ हाभेलान्जको २४ बर्षे नेतृत्वमा उनका दाहिने हात मानिएका ब्लाटरलाई पहिलोपल्ट फिफा अध्यक्ष बनाउनुमा हमामको ठूलै हात छ । १९९८ र २००२ को निर्वाचनमा ब्लाटरलाई जिताउन हमामले आफ्नै जेटमा डलर बोकेर विश्व यात्रा गरेका थिए ।
हमाम १९९६ मा फिफा कार्यसमितिको सदस्य बने । उनी २००२ मा एएफसी अध्यक्षको शक्तिशाली पदमा पुगे । उनको कतारमा विश्वकप २०२२ अयाोजना गर्ने अभियानलाई गर्मीको कारण खेलाडीको स्वास्थ्यमा असर पर्ने भन्दै चर्कै विरोध भएपनि फिफाले २०१० डिसेम्बरमा लालमोहर लगायो । कतारमा विश्वकप आयोजना गर्ने निर्णयलाई ब्लाटरले फेरि फिफा अध्यक्ष बन्नको लागि हमामलाई खुशी पार्न दिएको उपहार मानिन्छ । तर, हमाम चुप लागेनन् ।
हमामले फिफालाई 'बढी पारदर्शी' बनाउने योजनासहित २०११ मार्चमा फिफा अध्यक्षमा मित्र ब्लाटरविरुद्ध लड्ने घोषणा गरे । यी दुईको दुश्मनी त्यहीबाट सुरु भयो । जानकारहरुका अनुसार विगतजस्तै डलरले भोट किनेर ब्लाटरले हमामलाई जित्ने स्थिति थिएन । त्यसैले ब्लाटर उपयुक्त मौका पर्खीरहेका थिए । मे, २०११ मा मा निर्वाचन थियो । भोट खरिद गर्न पैसा खर्चेको आरोप लागेपछि हमामले चुनावको तीन दिनअघि मात्र उम्मेदवारी फिर्ता लिए । र, ब्लाटर थप चार बर्षको लागि फिफा अध्यक्ष भए ।
क्यारेबियन फुटबल युनियनको भेलामा फिफाका तत्कालीन उपाध्यक्ष ज्याक वार्नरले सहभागिलाई जनही ४० हजार डलर बाँडेका थिए । त्यो रकम आफ्नो पक्षमा भोट हाल्न हमामले दिएको आरोप लाग्यो र उनलाई फिफाको इथिक्स कमिटिले फुटबल गतिविधिबाटै निलम्बन गर्‍यो । हमामले घुस दिएको अस्वीकार गर्दै आएका छन् । उनलाई जुलाई, २०१२ मा तटस्थ अदालत 'कोर्ट अफ आर्बिटेसन फर स्पोर्ट'ले निर्दोष भएको फैसला गर्‍यो । उनले डिसेम्बर, २०१२ मा एएफसी अध्यक्षबाट राजीनामा नै दिए । लगत्तै उनलाई इथिक्स कमिटिले आजीवन निलम्बन गर्‍यो ।
जब हमाम फुटबलबाट बाहिरिए तब क्यारेबियन, एसिया, अपि|mकालगात अरुतिर पनि हमामको आप\mनै कम्पनी र उनीनजिकका अधिकारीबाट भोट किन्न घुस दिएको मिडियाले खुलासा गरे । कतारले विश्वकप आयोजक बन्न फिफा अधिकारीलाई घुस दिएको सन्डे टाईम्सको रिपोर्टले पनि सनसनी फैलायो । फिफा नेतृत्वको निर्वाचनमा उसका २ सय ९ सदस्यले भोट दिन पाउँछन् । विश्वकप आयोजक छानोट गर्ने अधिकार फिफाको कार्यसमितिलाई छ । यी दुईमा मत आफ्नो पक्षमा पार्न हमामले घुस दिएको आरोप छ ।
विश्वकप आयोजनाबारे अमेरिकी वकिल माइकल गार्सियाले १८ महिना अनुसन्धान गरेर ४ सय ३० पृष्ठको प्रतिवेदन फिफलाई बुझाइसकेका छन् । उनले राजीनामा पनि दिइसके । युनियन अफ युरोपियन फुटबल एसोसिएसन्स -युईएफपए) का अध्यक्ष मिसेल प्लाटिनीलगायतको चर्को दबाबमा त्यो रिपोर्ट सार्वजनिक गर्ने फिफाले गएको साता निर्णय त गर्‍यो तर त्यसलाई 'उपयुक्त समय'मा मात्र सार्वजनिक गर्ने ब्लाटरले बताएका छन् । विश्वकप आयोजना अधिकार इङल्यान्डले नपाएपछि बेलायती मिडिया र नेता फिफाविरुद्ध आक्रमक बनेका छन् । त्यसले पनि फिफाको अनियमितता बाहिर ल्याउन मलजल गर्‍यो ।
हमामबाट घुस लिएकोबारे इथिक्स कमिटिले सोधपुछ गरेपछि फिफाका उपाध्यक्ष वार्नर र सदस्य चक ब्लेजर फुटबलबाटै टाढिए । मंगोलिया फुटबल संघका अध्यक्ष गन्बोल्ड बुयनेमेखलाई ५ बर्ष निलम्बन गर्‍यो । अखिल नेपाल फुटबल संघ -एन्फा) का अध्यक्ष गणेश थापा पनि हमामकै समूहका हुन् । एएफसीका उपाध्यक्षसमेत रहेका उनले पनि हमामको कम्पनी 'केम्चो'बाट १ लाख १५ हजार पाउन्ड लिएको 'सन्डे टाईम्स'ले खुलासा गरेको थियो ।
हाल पदीय जिम्मेवारीबाट अलग रहेका थापाले संसद्को सार्वजनिक लेखा समितिमा भनेका थिए, 'पाउन्ड होइन, डलर हो त्यो हाम्रो बिजनेस हो ।' तर, के बिजनेस हो, उनले अहिलेसम्म प्रष्ट पारेका छैनन् । उनको छोरा गौरवले हमामको व्यक्तिगत खाताबाट १ लाख डलर लिएको ३ बर्षअघि सार्वजनिक हुँदा नेपाली फुटबलको अन्तर्राष्ट्रिय जगतमा नकारात्मक चर्चा भएको थियो ।
झण्डै दुई दशकयता थापाले नेतृत्व गरेको एन्फाको हिसाब लेखापरीक्षणमा प्रष्ट छैन । न त फिफा र एएफसीबाट प्राप्त अनुनदानको हिसाब नै प्रष्ट छ । त्यसैले एन्फामा ५८ करोड रुपियाँभन्दा धेरै अनियमितता भएको भन्दै लेखा समितिले युवा तथा खेलकुद मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई निर्देशन दिएको थियो । तर, अनुसन्धानको गति निक्कै सुस्त छ ।
यसबीच फिफाको इथिक्स कमिटिले पनि थापालाई १ सय २० दिन -मार्च ३ सम्म) लाई फुटबलसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गतिविधिबाट अलग गरेको छ । ३० अपि्रल, २०१५ मा एएफसीको निर्वाचन हँुदैछ । त्यसको ६० दिनअघि नै उम्मेदवारी दर्ता गर्नुपर्ने प्रावधान छ । यसमा सहभागि हुन नपाउने भएपछि थापाको अन्तर्राष्ट्रिय फुटबल राजनीतिमाथि प्रश्न खडा भएको छ ।
फिफाको चुनाव पनि २०१५ मै हँुदैछ । अघिल्लो कार्यकाललाई नै अन्तिम भनेका ब्लाटरले 'फुटबललाई अर्को ग्रहमा लाने' भन्दै पाँचौपल्ट अध्यक्षको उम्मेदवारी घोषणा गरिसकेका छन् । त्यसको विरोधमा युरोपेली मात्र छ । तर, युईएफए अध्यक्ष प्लाटिनीले फिफा नेतृत्वको लडाइमा आफू नभएको प्रष्ट पारेका छन् । फिफाकै पूर्वअधिकारी जेरोमे स्याम्पेनले फुटबललाई पुनर्सरचना गर्ने योजनासहित अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । विश्व फुटबलमा उनको पकड बलियो छैन ।
त्यसैले फेरि ब्लाटरकै सिन्डिकेट हावी हुने लगभग निश्चित छ । यही सिन्डिकेट तोड्न नसकेकोले नै फुटबलमा भ्रष्टाचार गर्नेहरु दण्डबाट बच्दै आएका छन् । विश्वकप २०१४ को नाफाबाट फिफाले प्रत्येक सदस्यलाई १० लाख ५० हजार डलर दिने निर्णय गरेको छ । त्यसलाई ब्लाटरको चुनावी योजनाको रुपमा लिइएको छ । सर्बाधिक लोकपि्रय खेलको नेतृत्वकर्ताले प्राय सदस्यहरुलाई एक भोटको रुपमा लिने गर्छ ।
ठूलो लेनदेन, बजार र भ्रष्टाचारका कारण फुटबललाई माफियाले चलाएको भन्नेहरु धेरै छन् । फिफालगायत अन्तर्राष्ट्रिय फुटबल महासंघहरुका अधिकांश पदाधिकारीहरु कन्स्ट्रक्सन र म्यानपावरको बिजनेस गर्छन् । यसलाई विश्वमै दादागिरीको बिजेनस मानिन्छ ।
 
twitter: @rghising

 

प्रकाशित : पुस १२, २०७१ १३:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?