२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१५

घाइते अपांग लडाकुहरूको कष्टकर जीवन कथा

बल्झिरहन्छन् युद्धका घाउ
दुर्गालाल केसी

काठमाडौ — तलतिर संक्राम खोला बगिरहेको छ, माथितिर संक्राम डाँडा उभिएको छ। खोलाको ढिकमै छन्, डिलकुमारी मल्ल। उनको जीवन पनि खोलाजस्तै बगिरह्यो, रुकुमदेखि...

घाइते अपांग लडाकुहरूको कष्टकर जीवन कथा
तलतिर संक्राम खोला बगिरहेको छ, माथितिर संक्राम डाँडा उभिएको छ। खोलाको ढिकमै छन्, डिलकुमारी मल्ल। उनको जीवन पनि खोलाजस्तै बगिरह्यो, रुकुमदेखि जुम्ला, गुल्मी लगायत अनेक कठिन जंगल र लेकहरू हुँदै दाङसम्म। अनेक चुनौती पन्छाउँदै २९ बढी लडाइँ जितिसकेकी डिलकुमारीले जीवनका दुर्दशालाई भने पन्छाउनसकेकी छैनन्। सुन्न पनि निकै साहस बटुल्नुपर्ने उनको जीवन कहानी दसवर्षे सशस्त्र द्वन्द्वको एउटा प्रतिनिधिमूलक कथांश हो।
रुकुम पीपलकी यी पूर्वलडाकु परेड खेलेर बसेको संक्रामको जंगलतिर आजभोलि गाई, बाख्रा चराउन जान्छिन्। चाहेर पनि उनी युद्धका घाउहरू भुल्न सक्दिनन्। ६ कक्षा पढ्दा-पढ्दै २०५८ सालमा युद्धमा होमिएकी डिलकुमारीले भुल्नै नसकिने क्षणहरू बिताएकी छन्। पहिलो घरगृहस्थी युद्धमै गुमाएकी २८ वर्षीया मल्लले अहिले दोस्रो जीवन व्यवस्थित गर्ने प्रयास गरिरहेकी छन्।
२०५९ कात्तिक, जुम्ला सदरमुकाम खलंगा आक्रमण गर्न जाँदा रुकुम, जाजरकोटका उच्च लेक छिचोल्दै जानुपर्ने भयो। कति साथीहरू बाटोमा हिउँले पुरिएर मरे। भर्खर विवाह गरेर हिँडेका लडाकुहरू पनि हिउँमै पुरिए। यी सबै अवरोधबीच पनि डिलकुमारी राइफल बोकेर जुम्ला पुगिन्। दोस्रो एसल्ट ग्रुपमा रहेर लडिन्।
लडाइँमै भेट भएका रुकुम बाफिकोटका धनबहादुर पुनको युद्धकलाबाट आकषिर्त भएपछि र्फकने क्रममा उनले बाटोमै विवाह गरिन्। विवाहपछि श्रीमान पूर्वी क्षेत्रमा खटिए भने डिलकुमारी पश्चिम क्षेत्रमा। अढाई वर्षसम्म उनीहरूको भेटै भएन। 'मरे-बाँचेको केही थाहा भएन। हिँडेर ४६ दिनमा पुग्ने ठाउँमा चिठी पनि कसरी पठाउनु?' उनले भनिन्, 'आआफ्नै कार्यक्षेत्रमा लडाइँमा व्यस्त भयौं।'
२०६१ साउनमा गुल्मीमा खटिरहेका बेला पूर्वको लडाकु टोली आउँदैछ भन्ने खबर आयो। भेट हुने कुरा पनि थाहा थिएन। एक्कासी भेट भयो। श्रीमान-श्रीमतीले अढाई वर्षको माया साटासाट गर्न पाए। एक साताजति सँगै बसेपछि फेरि पूर्व-पश्चिम भए। २०६१ मा रोल्पा सेरममा भएको बिग्रेड भेलाले श्रीमान-श्रीमतीलाई एउटै समूहमा राख्ने व्यवस्था मिलायो। त्यसपछि डिलकुमारी श्रीमान कमाण्डर भएको प्लाटुनमा रहन पाइन्। २०६१ चैत २४ मा रुकुमको खारास्थित सैनिक व्यारेक आक्रमण गर्न सँगै गए। आक्रमण असफल भएपछि रुकुम र सल्यानको सीमा क्षेत्रमा पर्ने डल्सींको लेकमा आएर बसे।
पाँच दिनपछि सेनाले जमिन र आकाशबाट आक्रमण गर्‍यो। डिलकुमारी श्रीमानसँगै एउटै एसल्टमा थिइन्। साथीहरू धमाधम घाइते भैरहेका थिए, कतिको मृत्यु भैरहेको थियो।
लड्दा-लड्दै उनी श्रीमानबाट केही टाढा भइन्। श्रीमानलाई के भयो भन्ने केही थाहा भएन। एकाएक कमाण्डर आएर उनलाई हतियार मागे र पछि हट्न भने। उनले एसएलआर फायर गरिरहेकी थिइन् र पछि हट्न मानिनन्। कमाण्डरले बिरामी हुनुहुन्छ तपाईं, व्याक हुनुहोस् भनेर कर गरे। उनी हटिन्। लडाइँबाट र्फकंदा उनले श्रीमानले बोकेको इन्सास रगतले भिजेको देखेकी थिइन्। तर कसैले केही भनेन। भोलिपल्ट मात्रै उनलाई थाहा दिइयो कि श्रीमानसहित चार लडाकुको मृत्यु भैसकेको रहेछ। उनले लास पनि देख्न पाइनन्।
लडाइँमा जे पनि सम्भव हुँदो रै'छ। उनले श्रीमानको मृत्युलाई बलिदानीको रूपमा लिइन्। 'लडाइँमा जो पनि मर्नु नै थियो। फरक यति हो कि उहाँ अघि जानुभयो, हामी अलि पछि मर्छौं होला जस्तो लाग्यो,' उनले भनिन्, 'मृत्युलाई शक्तिमा बदलेर बाँकी लडाइँमा सहभागी भइयो।' खारा आक्रमणको दुई दिनअघि कोचिङ चलिरहेका बेला उनको गर्भ खेर गएको थियो। तैपनि उनी दुइटै लडाइँमा सक्रियतापूर्वक लडिन्। 'महिला पनि पुरुषसरह लड्न सक्छन् भन्ने आत्मबल हुनुपथ्र्यो। मैले त्यो आत्मबल कायम राखेर लडेँ,' उनले भनिन्, 'त्यसैगरी २९ लडाइँमा निडरताका साथ सहभागी भएँ।'
युद्धकालको अन्तिम अभियान 'ढाडमा टेकेर टाउकोमा हान्ने' गण्डक अभियानमा समेत सक्रियतासाथ खटेकी यी आँटिली लडाकुको जीवनमा अहिले भने युद्धकालको जस्तो आत्मबल छैन। राजधानी कब्जा गर्ने भनेर गण्डक अभियानमा हिँंडिरहेका बेला पाल्पामा पुग्दा शान्तिपूर्ण आन्दोलन गर्ने खबर आयो र उनको टोली फर्कियो। त्यसबेलादेखि ओरालो लागेको आत्मबल अझै उठ्नसकेको छैन।
जीवनलाई फर्केर हेर्दा व्यर्थै युद्धमा होमिएको महसुस गर्छिन्। एल्बममा पुराना तस्वीर पल्टाउँछिन् र टोलाउँछिन्। शान्ति प्रक्रियापछि संक्राम शिविर बसाइका क्रममा २०६६ सालमा सल्यान काभ्राका घाइते लडाकु सुरजित बुढासँग उनको दोस्रो विवाह भयो। शिविरबाट निस्किएपछि उनीहरू शिविर नजिकै घरबास बनाएर बस्न थाले। अहिले दुई छोरीका साथ उनीहरू शिविर नजिकैको स्यानी दमार गाउँमा बसिरहेका छन्।
उनी बाख्रा चराउन संक्रामतिर पुग्दा सुनसान जंगल देख्छिन् र नरमाइलो महसुस गर्छिन्। विगत सम्झिन्छिन् र निकै भावुक हुन्छिन्। 'त्यतिबेला यसरी किसान बनेर बसौंला भन्ने कहिल्यै सोचिएको थिएन,' उनले भनिन्, 'नेताहरूले पछि हाम्रो राज्य आउँछ, सबै गरिबहरू धनीका घरजग्गा बाँडेर बसौंला भन्थे। सबै कुरा झुट रहेछन्। अहिले त पार्टीको नाम लिन पनि लाज लाग्छ।'
उनलाई अहिले जीविका चलाउन साह्रै कठिन भएको छ। शिविरबाट बाहिरिंँदा ल्याएको ५ लाख रुपैयाँ घरको ऋण तिरेर सकियो। श्रीमान अशक्त भएकाले घरधन्दा गरिदिने कोही छैन। २०६२ सालमा पाल्पाको तानसेन आक्रमणका क्रममा श्रीमान घाइते भए। उनको खुट्टा नै सुकेको छ। काम गर्न सक्दैनन्। शिविरभित्र पढेर एसएलसी उत्तीर्ण गरे पनि घर छोड्न नसकिने भएकाले उनले उच्चशिक्षा लिनसकेकी छैनन्। आफूसँगै पढेका साथीहरू जागिरे भएको देख्दा उनी साह्रै चित्त दुखाउँछिन्। दाइ हर्कबहादुर माओवादी नेता भएकाले उनलाई सुरक्षाकर्मीले सधैं यातना दिइरहन्थ्यो। असुरक्षा बढै गएपछि उनी बदलाको भावका साथ युद्धमा होमिइन्। 'युद्धमा हुँदा लड्ने भन्दा खुसी लाग्थ्यो। हतियार चलाउन, फायरिङ गर्न रमाइलो लाग्थ्यो,' उनले भनिन्, 'यसपछि अर्को जीवन पनि छ भन्ने कहिल्यै लागेन। आज फेरि पहिलेकै ठाउँमा फर्कनुपर्‍यो। जीवन बर्बाद भयो।'
रुकुम साँखकी कमला ओलीलाई पनि घरको मोह छाडेर युद्धमा होमिएको मान्छे फर्केर फेरि पुरानै चुलोचौको, भाँडाकुँडा खोज्दै हिंँडा निकै नरमाइलो लाग्यो। 'पहिले नेताहरू व्यक्तिगत सम्पत्ति हुँदैन भन्थे,' उनले भनिन्, 'अहिले त सबै कमाउन लागेका छन्। आखिर पुरानै जीवनमा र्फकनुपर्दो रै'छ।' १२ वर्षको हुँदा आमाको मृत्यु भयो। बुबा कृषक, ठूलो दाइ माओवादी नेता, उनलाई घरमा बस्ने अवस्था थिएन। निरन्तर केरकार हुनथालेपछि उनी पनि १८ वर्षको हुँदा युद्धमा होमिइन्। युद्धमै हुँदा २०६१ सालमा माइला दाइ खिमबहादुरलाई बारीमा काम गरेर र्फकंदा सेनाले मार्‍यो। परिवार तहसनहस भए पनि उनी लडिरहिन्।
उनी पहिलोपटक सेनामाथि आक्रमण गरिएको दाङको घोराही हमलामा सहभागी भइन्। अर्जुन खोलामा रहेको ३३ जनाको ब्लक टोलीमा सहभागी भइन्। आक्रमण सफल भएपछि गाडीमा घोराहीबाट रोल्पाको होलेरी पुगेर विजयोत्वस मनाइन्। २०५९ असोजमा रोल्पा भाबाङमा सेनासँग जम्काभेट भएपछि भिडन्त भयो। उनी फ्रन्ट लाइनमै थिइन्। दायाँ हात र बायाँ खुट्टामा गोली लाग्यो। 'गोली लागेपछि पनि केही बेर हिडेंँ, तर सकिन, अनि ढलेंँ। लाग्यो, जिन्दगी यत्ति रहेछ। त्यसपछि बेहोश भएछु,' उनले भनिन्, 'होशमा आउँदा अस्पतालमा थिएँ। बाँचेका कारण घर बनाएर बस्न पाइयो।'
अहिले उनी पनि शिविर बसेको संक्राम नजिकै घर बनाएर बसेकी छन्। युद्धकालमै रुकुम खाराका लडाकु डिलबहादुर ओलीसँग विवाह भयो। युद्धमै छोरी जन्मिइन्। छोरी हुर्काउँदै उनले भूमिगत जीवन बिताइन्। श्रीमान पनि घाइते छन्। अवकाश रोज्दा पाएको आफ्नो ५ र श्रीमानको ६ लाखमा अरु थपेर १६ लाखमा जग्गा किनिन्, अनि घर बनाइन्। अहिले १ लाख लगानी गरेर घरमै किराना पसल गरेकी छन्। युद्धमै जन्मिएकी छोरी १० वर्षकी भइन्। छोरा ६ वर्षका छन्। 'सन्तानको भविष्यका लागि भनेर श्रीमान मलेसिया जाने तयारीमा हुनुहुन्छ,' उनले भनिन्, 'विगतले झस्काइरहन्छ। घोराही पुग्दा लडेका ठाउँको याद आउँछ। हिजो जे गरे पनि आज जीवन त चलाउनैपर्‍यो।'
रुकुमको रुँघा ५ बाँदरपानीका चन्द्रबहादुर पुन २०५६ सालमा १० कक्षा पढ्दै थिए। एसएलसी दिन सदरमुकाम खलंगा जानुपर्ने तर सुरक्षाकर्मीले पक्रन सक्ने खतरा भयो। उनले जोखिम मोल्न चाहेनन् र पढाइ छाडेर युद्धमा लाग्ने निर्णय गरे। देश बदल्ने सपना देखेर भूमिगत भएका पुनले अहिलेको जीवन पहिल्यै कल्पना गरेको भए उनले निर्णय बदल्थे होलान्। 'जति छ, त्यति नै बाँडेर खाने प्रशिक्षण पायौं। त्यसरी नै युद्ध लड्यौं, तर अहिले त्यस्तो देखिएन,' उनले भने, 'अहिले त नेता र कमाण्डरको जीवन फरक छ। हाम्रो बेहाल छ।'
उनी हिजो प्रशिक्षण दिने नेताहरूलाई प्रश्न गर्न चाहन्छन्, तर नेताहरू नै कोही भेटिँदैनन्। युद्धमा बायाँ खुट्टा गुमाएका कारण उनी घर छोड्न सक्दैनन्, नेताहरू उनको घर आउँदैनन्। 'नेता र राजनीति जति बेइमान अरु केही हुँदो रहेनछ। अर्काको जीवनमा सजिलै खेलवाड गरिदिन सक्ने,' उनले भने, 'हिजो गाडी र महलको विरोध गथ्र्यौं, तर आज नेताहरू त्यसकै पछि छन्। मर्नुभन्दा अपांग भएर बाँच्न साह्रै गाह्रो रै'छ। यस्तो होला भन्ने सोचेको भए किन लडिन्थ्यो र?'
भूमिगत जीवनको बाटो रोज्दा उनी १५ वर्षका थिए, जोश, जाँगर र उत्साह बेग्लै थियो। शरीर सिंगो थियो, तर अहिले उनको खुट्टा छैन, त्यो सपना र रहर छैन। एक खुट्टाका भर बाँकी जीवन बिताउनुछ। बुबा दलबहादुरको उनी युद्धमै हुँदा हृदयाघात भएर मृत्यु भयो। 'सायद छोरो युद्धमा गएको पीडाले हुनसक्छ,' उनले भने, 'बुबाको किरिया पनि गर्न पाइन।'
संक्राम शिविरबाट बाहिरिएपछि उनी रुकुममा रहेकी एक्ली आमालाई भेट्न गए। छोराको अवस्था देखेर आमा केही बोल्न सक्नुभएन। एक खुट्टाको भर पहाडको डाँडाकाँडा हिँड्न कठिन हुने देखेपछि उनी दाङमै फर्के। बिजौरी ६ थानगाउँमा ५ कट्ठा जग्गा किनेर घर बनाए। श्रीमती हीरामोती पनि उनीसँगै युद्धमा हिंँडिन्। खारा आक्रमणमा सहभागी भइन्। २०५९ भदौ २३ गते अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क आक्रमण गर्दा सेनाको ल्यान्डमाइन लागेर चन्द्रको बायाँ खुट्टाको घुँडामुनिको भाग गुम्यो। त्यसपछि हीरामोती श्रीमानको स्याहारमा लाग्नुपर्‍यो। लामो समय भारतमा बसेर उपचार गरे।
अहिले कृत्रिम खुट्टाको सहायताले काम गरिरहेका छन्। घर निर्माणमा आफै खटिए। भैंसी र बाख्रा पाले। अहिले गोबरग्यास बनाइरहेका छन्। खाडल खन्ने, माटो फाल्ने जस्ता काम आफै गर्छन्। 'कृत्रिम खुट्टाको भर काम गरिरहेको छु। काम गर्दा भाँचिन्छ। बेलाबेला फेर्नुपर्छ। खुट्टा फेर्दा ३० हजार बढी खर्च लाग्छ,' उनले भने, 'हामीले जनताका लागि भनेर जीवन बर्बाद पार्‍यौं, तर हाम्रो मूल्यांकन भएन।'
डिलकुमारी-सुरजित, कमला-डिलबहादुर र चन्द्रबहादुर-हीरामोती जस्ता युद्धमा घाइते अपांग भएका अधिकांश लडाकु जोडीहरूको नयाँ जीवन निकै कष्टकर भैरहेको छ। २०५७ सालदेखि युद्धमा लागेका सल्यान सुइकोटका लालबहादुर ओली र सीता ओलीको जीवन पनि दुःखमय छ। दाङको भालुबाङस्थित सशस्त्र प्रहरी क्याम्पमा आक्रमण गर्दा घाइते भएका ओली उपचारका क्रममा भारतको तुलसीपुरमा गएका बेला घाउ देखेपछि भारतीय प्रहरीले पक्राउ गरेर नेपाल प्रहरीलाई बुझायो। नेपाल प्रहरीले कपिलवस्तु ल्याएर ९ महिनाजति थुन्यो। गर्धनमा करेन्ट लगाएर दिनहुँ यातना दियो। जसका कारण ओलीका दुवै आँखा बिगि्रए। अहिले उनी दृष्टिविहीन छन्।
यो हालतमा सल्यान र्फकने अवस्था नदेखेपछि उनले डुरुवामा जग्गा किनेर घरबास बनाएका छन्। अहिले उनलाई युद्ध सपना र चलचित्रको कथाजस्तै लागेको छ। घाइते लडाकु सीतालाई अहिले पाठेघरको समस्या देखापरेको छ। 'अप्रेसन गर्नुपर्ने भएको छ। युद्धमा ज्यानको ख्याल नगरेर हिँडियो, अहिले समस्या देखिएको छ,' उनले भनिन्, 'युद्धका घटनाले झस्काइरहन्छन्। किन त्यसो गरियो जस्तो लाग्छ।'
नेपाली सेनामा महिला भर्ना गर्दा तौल, उचाइ र व्यायाममा छुट दिएर प्रोत्साहन गरेको देखिए पनि लडाकु समायोजनमा महिलाका लागि छुट्टै व्यवस्था गरिएन। जसका कारण महिला लडाकु समायोजनमा जान सकेनन्। श्रीमान अपांग भएपछि महिला लडाकुलाई घर व्यवहार सम्हाल्नै ठिक्क भएको छ। कतिपय शिविर बसाइका क्रममा बच्चाका आमा भैसकेका थिए भने कतिपय अशक्त भए। समायोजनका क्रममा पनि सुरुदेखि नै महिला लडाकुको संख्या घटाउँदै लगेको उनीहरूको गुनासो छ।
सुरुमा अनमिनले ३२ हजार २ सय ५० लडाकु दर्ता गरेको थियो। कतिपय सन्दर्भमा माओवादी नेतृत्वबाट युद्धका क्रममा महिला लडाकुको संख्या ४० प्रतिशत रहेको दाबी गरिएको थियो। तर प्रमाणीकरणमा त्यो देखिएन। २०६० सालको अन्त्यसम्म महिला लडाकुको संख्या ३५ प्रतिशतको हाराहारीमा रहे पनि कतिपयलाई पार्टी राजनीति त कतिपयलाई भ्रातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) मा लगियो। प्रमाणीकरणमा आइपुग्दा महिला लडाकुको संख्या करिब ५ हजारमात्र थियो। प्रतिशतका हिसाबले यो संख्या १५.५० प्रतिशतमात्र थियो।
प्रमाणीकरणका क्रममा १९ हजार ६ सय २ जनालाई वास्तविक लडाकु घोषणा गरियो। तीमध्ये ३ हजार ८ सय ४६ महिला थिए। प्रमाणीकरणमा १९.६२ प्रतिशत महिलामात्र 'योग्य' ठहरिए। विशेष समिति मातहतको सचिवालयको तथ्यांकअनुसार तीमध्ये २ सय ८५ अनुपस्थित देखिए। उपस्थित ३ हजार ५ सय ६१ मध्ये पनि ३ हजार ५ सय ४२ जनाको मात्र वर्गीकरण गरियो।
वर्गीकरण गरिएकामध्ये १ हजार २९ महिलाले मात्र समायोजन रोजेका थिए भने बाँकी २ हजार ५ सय १२ जनाले स्वेच्छिक अवकाश रोजेका थिए। समायोजन रोजेकामध्ये पनि अधिकांशले अन्तिमसम्म समायोजनको निश्चितता नदेखेपछि अवकाशको बाटो रोजेका थिए। जीवन असहज भएपछि पूर्वलडाकु अझै समाजमा अशान्ति कायम हुनसक्ने खतरा देख्छन्। 'हाम्रा सन्तानले खान, पढ्न नपाएका कारण फेरि विद्रोह गरे भने त्यसको जिम्मा कसले लिन्छ,' चन्द्रबहादुरले भने, 'यसप्रति नेताहरू गम्भीर हुनुपर्छ कि पर्दैन?'


प्रकाशित : पुस १२, २०७१ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले ल्याएको आर्थिक वर्ष २०८१/०८२ को बजेट कस्तो लाग्यो ?