३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०८

लैंगिक विभेदविरुद्ध कलाकार

ललितपुर — कठै दैलौ पुलि बान्न म जान्दिन घाँस काट्न जाउँ भन्या...' रेडियो नाटक 'कथा मीठो सारङ्गीको' की नाट्यकर्मी रञ्जु गिरी राजधानीमा शुक्रबार जुम्ली भाकामा विरही गीत गाउँदै थिइन् ।


पाटन दरबार संग्रहालयको खुला प्रांगणमा रञ्जुले उक्त गीतबारे सन्दर्भ जोड्दै भनिन्, 'घाँस दाउरामा रुमल्लिएका जुम्ली युवतीहरू यस्तै गीत गाएर मन बहलाउने गर्छन् । उनीहरू आफ्ना पीडा यसरी नै व्यक्त गर्दा रहेछन्् ।' बीबीसी वल्र्ड सर्भिस ट्रस्टले गरेको 'प्रोमोटिङ ट्रस्ट बिट्विन मेन एन्ड वुमेन' विषयक कार्यक्रममा लैंगिक हिंसाविरुद्धका सवालमा रञ्जुबाहेक नाट्यकर्मीहरू लुनिभा तुलाधर र सुरेश चन्दको भोगाइ पनि त्यस्तै थियो । रेडियो नाटक गर्दा उनीहरूले ग्रामीण भेगमै गएर त्यहाँका बासिन्दाको जीवन जिउँदा महिला मात्रै नभई पुरुषहरू पनि विभेदमा परेको अनुभव साट्दै
थिए । त्यसबाहेक कार्यक्रममा लैंगिक हिंसाविरुद्ध सकारात्मक सन्देश दिने उद्देश्यले पाटन दरबारको प्रांगणमै प्रत्यक्ष चित्रकला प्रदर्शनी र पपेट नाटक पनि मञ्चन गरिएको
थियो ।
२० मिनेट लामोे नाटकमा चार पात्रले समाजमा महिलामाथि पुरुषले र पुरुषमाथि महिलाले गर्ने हिंसा कस्ता प्रकारका छन् भन्ने प्रस्ट्याउन खोजेका थिए । समस्याको समाधान खोेजेर समानतामूलक समाजको परिकल्पनासमेत नाटकले प्रस्तुत गरेको थियो । लैंगिक हिंसाविरुद्ध बारे चित्रले झल्काएको भाव भने केही पृथक् शैलीका थिए । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति किरण मानन्धर, चित्रकार एरिना ताम्राकार, सुरज चित्रकार, दुर्गा बराल र विधाता केसीले कोरेका एक-एक वटा चित्रले नारी र पुरुषको सम्बन्ध दर्शाएका थिए ।
एक्रेलिक माध्यम प्रयोग गरी किरणले कोरेका अमूर्त चित्रमा सेतो र खैरो रंगको संयोजन पाइन्छ । चित्रमा पुरुष र नारी अंग कताकति जोडिएको आकृति झल्किन्छ । हरियो रंगमा सेतो फक्रेको फूलको दृश्य कोरेकी एरिनाले भने नारीलाई प्राकृतिक सौन्दर्यसँग दाँजेकी छन् । 'प्रकृतिजस्तै सुन्दर र अटल छन् नारी,' उनले चित्र औल्याउँदै भनिन्, 'त्यसैले हरियो रंग र सेतो फूल कोरेकी ।'

प्रकाशित : पुस १६, २०६८ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?