२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८०

सबैको ल्होछार

काठमाडौ — हरेक वर्षको हिउँदमा राजधानीको टुँडिखेल ल्होछारको तामझाममा सजिन्छ । पुसमा गुरुङको तोला ल्होछार, मागमा तामाङको सोनम ल्होछार र फागुनमा शेर्पा लगायत हिमाली समुदायको ग्याल्बो ल्होछार ।

एक महिनाको अन्तरमा पुसदेखि फागुनसम्म लगभग महिनाको चार दिन कन्सर्ट, वेशभूषा प्रदर्शन तथा जातीय खाना महोत्सवमा टुँडिखेल रंगिन्छ । रमाइलो पक्ष के भने जातीय समुदायले आयोजना गर्ने यी महोत्सवमा चासोका साथ पुग्नेमा चाहिँ प्रायः अन्य समुदायका हुन्छन् ।
गुरुङ समुदायले बुधबारदेखि आयोजना गरेको तीनदिने ल्होछार महोत्सवको दोस्रो दिन बिहीबार त्यस्तै दृश्य देखियो । काभ्रेको बनेपादेखि आएकी २२ वषर्ीया कोपिला नकर्मी गुरुङ समुदायका युवतीमाझ
भेटिइन् । सामान्य हैन, गुरुङ समुदायकै मौलिक पहिरनमा । कम्मरको आधा भाग देखिने गरी छिटको सारीमा कस्सिएको नीलो पटुकी, लामो बाउले चोली, अनि चोली नै छोप्ने गरी रातो-हरियो पोते । नेवारी समुदायकी उनी कलेजका मिल्ने साथी रिमा गुरुङको साथ लागेर ल्होछारको स्वाद चाख्न आएकी थिइन् ।
महोत्सवअन्तर्गत चलिरहेको दोहोरी गीत प्रतियोगितामा रिमासँगै कोपिला पनि फनफनी नाचिरहेकी थिइन् । ताहचल क्याम्पसमा स्नातक पहिलो वर्षकी कोपिलाले पहिरिएका लुगामध्ये मखमली घलेक -काँधबाट कम्मरसम्म छड्के बाँधिने कपडा) चाहिँ अलिक अनौठो लागेछ । 'अलिक गर्‍हुंगो हुँदो रहेछ,' रिमाकै दुई वर्ष पुरानो कपडा लाएकी कोपिलाले भनिन्, 'हाम्रो गा -पटुकी) त हलुको हुन्छ ।'
यी दुईको दोस्ती कतिसम्म बलियो रहेछ भने गएको वर्ष कोपिलाले रिमालाई भोटोजात्रामा निम्त्याएकी थिइन् । रिमा नेवारी पोसाक हाकुपटासी -फरिया) र पुटु डु लँ -चोली)  मा सजिएकी थिइन् । 'हाकुपटासीमा अल्झेर झन्डै लडिनँ,' रिमाले हाँस्दै सम्भिmन्, 'पालाको पैंचो जस्तै हो ।' लोक दोहोरी गीत गाउँदै मज्जा लिइरहेको दाङका २० वषर्ीय तिलक ओली अर्को गतिलो उदाहरण थिए । ल्होछारका बारे खासै थाहा नभएका उनी गुरुङ पहिरन लाएरै गाइरहेका थिए ।
'यो निकै नौलो अनुभव हो,' गुरुङ खानपानसहित पहिलोपटक ल्होछारको स्वाद लिइरहेका उनले हाँस्दै भने, 'कछाड लगाउँदा त लुगै नलाएको जस्तै हुँदो रहेछ ।' उनकै साथीहरू देवीराम रानामगर र निश्चल श्रेष्ठ पनि गुरुङ पहिरनमै थिए । यी सबै दृश्य हेरिरहेका तमु ल्होछार मूल आयोजक समितिका मुख्य सचिव पृथ्वीमान गुरुङचाहिँ मक्ख देखिन्थे । 'जाति, समुदाय र परिवारमा मात्र सीमित पर्वहरू अहिले विस्तारै अन्य समुदायको पनि चासोको विषय बन्दै गइरहेको छ,' महोत्सव व्यवस्थापनका लागि घरि यता त घरि उता गरिरहेका उनले भने, 'यसले 'हामी सबैको संस्कृति' भन्ने मान्यतालाई बलियो बनाउँदै गइरहेको छ ।'
महोत्सवमा राखिएका खाना स्टलहरूमा गुरुङ स्वाद लिने अन्य समुदायकाहरू पनि उत्तिकै देखिन्थे । पश्चिम नेपालको गुरुङ समुदायमा प्रचलित खानाहरू महोत्सवमा राखिएका छन् । योसँगै पुस्तक तथा खेल प्रदर्शनीले पनि महोत्सवमा आकर्षण थपिरहेको छ । शुक्रबार गुरुङ समुदायको विशेष झाँकी प्रस्तुत हुने पृथ्वीमानले बताए ।




 

प्रकाशित : पुस १५, २०६८ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?