१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६५

जिल्ला यातायात गुरुयोजना निर्माण

प्रकाश बराल

बागलुङ — जिल्लामा आवश्यक पर्ने सडकको सञ्जालको प्रारूपका लागि 'जिल्ला यातायात गुरुयोजना' निर्माण गरिएको छ ।


हालसम्म निर्मित र आगामी पाँच वर्षमा निर्माण गरिने सडक र आवश्यकतालाई प्राथमिकीकरण गरेर जिल्लाका क्रियाशील दल, सामाजिक अगुवा, संघ-संस्थाको बैठकले गुरुयोजना निर्माण गरेको स्थानीय विकास अधिकारी पुण्यविक्रम पौडेलले बताए ।
जिविसको आन्तरिक स्रोतमा कति निर्माण गर्ने, राष्ट्रिय योजनामा कति र दाताको सहयोग कसरी परिचालन गर्ने भन्ने विषयमा समेत गुरुयोजनाले सम्बोधन गरेको उनले बताए । उक्त योजनालाई जिल्ला परिषद्ले पारित गरेपछि औपचारिकता पाउने प्रावधान छ । 'भएका स्रोत साधनलाई कहाँ प्राथमिकीकरण गर्ने भन्ने अन्योल हटाउन यो योजना बनाइएको हो' पौडेलले भने, 'जिल्लामा कति सडक आवश्यक छ भन्ने यकिन नगरी जथाभावी खनिंदा पहिरोको जोखिमसमेत बढेको थियो ।'
जिल्लामा हालसम्म एक हजार दुई सय ६ किमि सडक सञ्जालको ट्रयाक खुलिसकेको छ । जिल्लामा एक हजार चार सय ५१ किमि आवश्यक देखिएकाले आगामी पाँच वर्षमा थप दुई सय पचास किमि मात्र ट्रयाक खुलाए पुग्ने तथ्यांक निकालिएको हो । जिल्लाका एक सय १६ वटा ग्रामीण तथा कृषि सडकको सञ्जाल आवश्यकता देखिएको छ । तीमध्ये हाल एक सय ३९ किमि खण्ड मध्यपहाडी लोकमार्ग र झन्डै ४० किमि खण्ड कालिगण्डकी कोरिडोरमा पर्ने भएपछि ती सडकको स्तरोन्नतिका लागि जिविसले स्वामित्त लिन छाडेको छ ।
हाल गाउँ र इलाका परिषद्को तयारी भइरहेको छ । 'फागुन मध्यसम्ममा जिल्ला परिषद् भई उक्त योजनालाई पारित गरेपछि गुरुयोजनाले अन्तिम रूप लिनेछ' पौडेलले भने, 'जिविसको आन्तरिक स्रोतले भ्याउने र नभ्याउने प्राथमिकीकरण गरेर केही योजनालाई केन्द्रमा पठाउने कार्यक्रम छ ।' योजना निर्माणमा प्रमुख जिल्ला इन्जिनियर कृष्णप्रसाद पौडेल लगायतका प्राविधिक टोलीसमेत बसेर आवश्यकता र सम्भाव्यताको पनि खोजी गरिएको थियो ।
गुरुयोजनामा तीनवटा गाविस जोड्ने, सदरमुकामदेखि मुख्य व्यपारिक बजार जोड्ने सडक 'क' वर्ग, दुई गाविस जोड्ने र मुख्य व्यापारिक बजारदेखि ग्रामीण बजार जोड्ने सडकलाई 'ख' वर्ग र एउटै गाविसभित्रका तथा कम चाप पर्ने सडकलाई 'ग' वर्गमा विभाजनसमेत गरिएको छ । धेरै जनसंख्यालाई सेवा दिने सडकलाई परिषद्ले पहिलो प्राथमिकतामा राख्ने पौडेलले बताए । सडक गुरुयोजनाको नामले समेत सम्बोधन गरिने भए पनि सडकसँगै पुलपुलेसा र नाली निर्माणको समेत काम हुने भएकाले जिल्ला यातायात गुरुयोजना भनिएको हो । यो योजना निर्माणमा जिविसले परामर्शदातासमेत ल्याएको छ ।

प्रकाशित : पुस १७, २०७० १३:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?