कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

अस्ट्रेलियाली नेता सर्टनले लिए राजनीतिबाट सन्यास

भाद्र २०, २०८१
अस्ट्रेलियाली नेता सर्टनले लिए राजनीतिबाट सन्यास

अस्ट्रेलिया — अस्ट्रेलियाली लेबर पार्टीका पूर्वनेता तथा वर्तमान सरकारका वरिष्ठमन्त्री बिल सर्टनले राजनीतिबाट सन्यासको घोषणा गरेका छन् । सर्टन अहिले अपांगका लागि काम गर्ने रास्ट्रिय निकाय नेसनल डिजिबिलीटी इन्सुरेन्स स्किम मन्त्रालय सम्हालिरहेका छन् । 

आउँदो फेब्रुअरीबाट लागु हुनेगरी सम्पूर्ण राजनीतिबाट सन्यास लिने घोषणा गरेका हुन् । अस्ट्रेलियाली राजनीतिमा प्रभावकारी नेताका रुपमा चिनिने ५७ वर्षका सर्टन सन २००७ देखि सांसदका रुपमा अस्ट्रेलियाली राजनीतिमा उदाएका थिए ।

त्यसपछि लगातार रुपमा आफ्नो राजनीतिक करियरलाई उचाई थप्दै गएका उनी सन् २०१३ देखि सन सन २०१९ सम्म अस्ट्रेलियाको लेबर पार्टीको नेता बनेका थिए । ६ वर्षसम्म लेबर पार्टीलाई नेतृत्व गरेका सर्टन सन २०१९ मा भएको निर्वाचनमा लिबरल कोअलिसनका स्कट मरिसनसँग निर्वाचनमा पराजित भएसँगै दलको नेताबाट राजीनामा दिएका थिए । करिब दुईदशकको राजनीतिक करियरबाट सन्यास लिने घोषणा गर्दै उनले अस्ट्रेलियाली राजनीतिको अत्यन्तै भाग्यमानी व्यक्ति भएको सुनाए ।

सर्टनले तत्कालीन दुई चरणको निर्वाचनमा लेबर नेताका रुपमा हार ब्याहोरेका भएपनि उनले लेबर पार्टीलाई एकिकृत बनाउन योगदान पुरयाएका थिए । उनी संसदीय सचिव हुँदै बिभिन्न मन्त्रालयको जिम्मेवारी वहन गरिसकेका छन् ।

बिहीबार एक पत्रकार सम्मेलनको आयोजना गरेर उनले राजनीतिबाट पूर्णरुपमा सन्यास लिने घोषणा गरेका हुन् । प्रधानमन्त्री एन्थोनी अल्बानिजी समेत उपस्थित पत्रकार सम्मेलनमा प्रधानमन्त्री अल्बानिजीले सर्टनको प्रशंसा गर्दै नेताका रुपमा उनले जति कसैले मेहनत नगरेको जिकिर गरेका थिए । प्रधानमन्त्री अल्बानिजीले सर्टनले लेबर पार्टी नीति तथा कार्यक्रम ल्याउन र पार्टीलाई अझ सशक्त बनाउन महत्वपूर्ण भूमिका खेलेको बताए ।

राजनीतिबाट सन्यास लिएपनि उनी अर्को वर्षको फेब्रुअरीसम्म अल्बानिजी सरकारको वरिष्ठमन्त्रीका रुपपमा भने रहिरहनेछन् । उनले पत्रकार सम्मेलनमा राजनीतिबाट सन्यास लिएसँगै राजधानीमा रहेको क्यानबेरा यूनिभर्सिटीको भाईस चान्सलरको रुपमा जिम्मेवारी लिएको जानकारी दिए ।

उनले आफू नयाँ अवसरबाट उत्साहित रहेको बताउँदै राजनीतिबाट सिकेको सबै ज्ञानलाई राम्रोसँग सुदपयोग गर्ने समेत बताए । उनले राजनीतिबाट सन्यास घोषणा गरेसँगै विपक्षी दल लिबरलका नेता पिटर डट्टन सहितका नेताले बधाई तथा शुभकामना दिएका छन् ।

अस्ट्रेलियाको राजनीतिमा केही समय सक्रिय राजनीति गरेपछि सन्यास लिनुलाई सामान्य मानिन्छ । पूर्व प्रधानमन्त्रीहरु स्कट मरिसन, माल्कम टर्नबुल, टोनी अबट, जुलिया गिलार्डका साथै हालै पश्चिम अस्ट्रेलियाका प्रिमियर मार्क म्यागावन लगायतका दर्जनौ नेताले सक्रिय राजनीतिबाट सन्यास लिइसकेका छन् । अस्ट्रेलियामा राजनीतिलाई जागिरभन्दा पनि सेवाको रुपमा लिइने भएकाले समेत निश्चित समपछि राजनीतिज्ञले राजनीतिबाट सन्यास लिएर पारिवारिक, सामाजिक र ब्यवसायिक जीवन बिताउने गरेका छन् ।

प्रकाशित : भाद्र २०, २०८१ १८:१३
x
×