कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

पेरुका पूर्वराष्ट्रपति अल्बर्टो फुजिमोरीको निधन

भाद्र २७, २०८१
पेरुका पूर्वराष्ट्रपति अल्बर्टो फुजिमोरीको निधन

लिमा — मानवअधिकार हनन र भ्रष्टाचारको अभियोगमा दोषी ठहर भएका पेरुका पूर्वराष्ट्रपति अल्बर्टो फुजिमोरीको ८६ वर्षको उमेरमा निधन भएको छ । उनको बिहीबार मृत्यु भएको छोरी केइको फुजिमोरीले पुष्टि गरेकी हुन् । 

केइकोले ‘क्यान्सरसँगको लामो लडाइँपछि पूर्वराष्ट्रपतिको निधन’ भएको बताइन् । बीबीसीका अनुसार फुजिमोरीका डाक्टरले उनको जिब्रोको क्यान्सरबाट मृत्यु भएको पुष्टि गरेका छन् ।

फुजिमोरीले सन् १९९० देखि २००० सम्म पेरुमा शासन गरेका थिए । त्यसपछि उनी भ्रष्टाचारको आरोपका कारण सत्ताबाट बाहिरिन बाध्य भएका थिए ।

राष्ट्रपति रहँदा उनले वामपन्थी गुरिल्ला विद्रोहविरुद्ध कडा अडान लिएका थिए । त्यसलाई कतिपयले मानवअधिकार उल्लंघनको आरोप लगाएका थिए । तर विद्रोहीहरूले सत्ता कब्जा गर्ने सम्भावना देखिएका बेला फुजिमोरीले पराजित गरेको भन्दै उनको प्रशंसा गर्छन् ।

भ्रष्टाचार र मानवअधिकार हननका विषयमा दोषी ठहरिनुअघि उनी देश छाडेर भागेका थिए । तर उनी जापानमा पक्राउ परे र सुपुर्दगी गरियो । फुजिमोरीलाई भ्रष्टाचार, शक्तिको दुरुपयोग र सन् १९९० को दशकमा दुईवटा नरसंहारमा संलग्न रहेको जस्ता कैयौं मुद्दामा दोषी ठहर गरिएको थियो ।

उनी गत डिसेम्बरमा १५ वर्षभन्दा बढी कैद सजाय भोग्दै लिमाको बारबाडिलो जेलबाट रिहा भएका थिए । पेरुको संवैधानिक अदालतले ६ वर्ष पहिले जारी गरेको राष्ट्रपतिको माफीलाई पुनर्स्थापित गरेको थियो ।

केइकोले सामाजिक सञ्जालमा आफ्ना बाबुको मृत्युको खबर पोस्ट गरेलगत्तै ठूलो संख्यामा फुजिमोरीका समर्थकहरू उनको घरबाहिर भेला भएको बीबीसीले जनाएको छ ।

‘क्यान्सरविरुद्धको लामो लडाइँपछि, हाम्रा बुबा अल्बर्टो फुजिमोरी भर्खरै प्रभुलाई भेट्न प्रस्थान गर्नुभएको छ,’ उनका छोराछोरी केइको, हिरो, साची र केन्जीले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ, ‘उहाँलाई माया गर्नेहरूलाई उहाँको आत्माको चिरशान्तिका लागि प्रार्थनामा सामेल हुन अनुरोध गर्दछौं ।

फुजिमोरीका डाक्टर जोसे कार्लोस गुटेरेजले पूर्वराष्ट्रपतिलाई यस वर्षको सुरुमा जिब्रोको क्यान्सर भएको पत्ता लागेको र पछिल्लो समय रोगको जटिलताका कारण मृत्यु भएको बताएका छन् ।

फुजिमोरीका समर्थकहरूले उनले पेरुलाई क्रूर माओवादी विद्रोही समूह, सेन्डेरो लुमिनोसो (साइनिङ पाथ) बाट जोगाएको र तीव्र मुद्रास्फीतिपछि देशको अर्थतन्त्रलाई गतिशील बनाएको बताउँछन् । तर, द्वन्द्वका हजारौं निर्दोष पीडितहरूका लागि भने उनी एक अधिनायकवादी र क्रूर नेता थिए ।

उनी पेरुमा सन् १९९० मा सशस्त्र विद्रोह चरम सीमामा रहेका बेला पहिलोपटक राष्ट्रपति निर्वाचित भएका थिए । उनको अधिनायकवादी सरकारले गरेको कारबाहीका क्रममा पेरुमा कम्तीमा ६९ हजार मानिसले ज्यान गुमाएका थिए ।

फुजिमोरीकी छोरी केइको पेरुको सबैभन्दा ठूलो राजनीतिक दलकी नेतृ छन् । पछिल्लो राष्ट्रपतीय चुनावमा थोरै मतान्तरले हारे पनि उनले २०२६ मा पुनः उम्मेदवारी दिने घोषणा गरिसकेकी छिन् ।

प्रकाशित : भाद्र २७, २०८१ १७:२९
×