कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

आप्रवासी चढेको पानीजहाज रोक्न नदिने इटालीका उपप्रधानमन्त्रीलाई ६ वर्षको जेल सजाय माग

भाद्र ३१, २०८१
आप्रवासी चढेको पानीजहाज रोक्न नदिने इटालीका उपप्रधानमन्त्रीलाई ६ वर्षको जेल सजाय माग

रोम — इटालीका अभियोजनकर्ताहरूले २०१९ अगस्टमा आप्रवासीहरू चढेको पानीजहाजलाई अवतरण गर्न रोक्ने निर्णय गर्ने उपप्रधानमन्त्री माटियो साल्भिनीलाई ६ वर्षको जेल सजायको माग गरेका छन् । 

ओपन आर्म्स च्यारिटीद्वारा सञ्चालित उक्त जहाजलाई झण्डै तीन सातासम्म समुद्रमै राखिएको थियो । उक्त जहाज अदालतको आदेशपछि लाम्पेडुसा टापुमा अवतरण गराइएको थियो ।

त्यतिबेला गृहमन्त्री रहेका साल्भिनी २०२२ यता उपप्रधान तथा पूर्वाधार र यातायातमन्त्री छन् । उनले अपहरण र कर्तव्यमा लापरबाही गरेको आरोप अस्वीकार गर्दै आएका छन् । उनले ‘इटालीलाई सम्पूर्ण युरोपको शरणार्थी शिविर बन्नबाट रोक्न चाहेको बताउँदै इटाली र इटालीयनहरूको रक्षा गरेकोमा आफूलाई दोषी घोषणा गरिएको बताएका छन् ।

ल्याम्पेडुसामा झर्न नदिइएपछि ओपन्स आर्म्स जहाजले बोकेका १ सय ४७ आप्रवासीलाई लिबियाको तटमा उतारिएको थियो । इटालियन मुख्य भूमितर्फ भूमध्यसागरको आधा बाटोमा पर्ने टापु हालैका वर्षहरूमा हजारौं आप्रवासीका लागि युरोप प्रवेश गर्ने केन्द्र बनेको छ ।

गृहमन्त्रीका रूपमा आफूले मानव तस्करहरूलाई दुरुत्साहन गर्नका लागि बन्दरगाहहरू बन्द गर्ने नीति लिएको साल्भिनीको भनाइ छ । तर जहाज अवतरण गर्न नदिएका कारण आप्रवासीहरूको स्वास्थ्यसम्बन्धी समस्या उत्पन्न भएको सुनुवाईका क्रममा चालक दलका सदस्यहरूले बताएका थिए । अभियोजक गेरी फेराराले सिसिली अदालतमा लोकतान्त्रिक प्रणालीमा मानवअधिकारको विषय प्राथमिकता पर्नुपर्ने बताएका छन् ।

अक्टोबर २०२१ मा सुरू भएको सुनुवाईको फैसला अर्को महिना आउन सक्ने बताइएको छ । दोषी प्रमाणित भएमा साल्भिनीलाई सरकारी पदमा बस्नबाट पनि रोक लगाउन सकिन्छ ।

आफूविरुद्ध माग गरिएको सजायको प्रक्रियामा साल्भिनीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘इटालीको रक्षा गर्नु अपराध होइन । म हार मान्ने छैन, अहिले होइन, कहिल्यै पनि ।’ इटाली सरकारको कदमले भूमध्यसागरमा अवतरण, मृत्यु र बेपत्ता कम भएको उनको दाबी छ ।

‘यो स्पेनी जहाजलाई इटालीबाहेक कतै जान रोकिएको थिएन । हामी अब सम्पूर्ण युरोपको लागि शरणार्थी शिविर बन्न सक्दैनौं,’ उनले भनेका छन्, ‘इतिहासमा कुनै पनि सरकार र कुनै मन्त्रीलाई आफ्नै देशको सीमा रक्षा गरेको आरोपमा मुद्दा चलाइएको छैन ’

संयुक्त राष्ट्रसंघीय तथ्यांकअनुसार सन् २०१९ मा इटालीमा समुद्री आगमन घटेर ११ हजार ४ सय ७१ मा पुगेको छ । जुन अघिल्लो वर्षको तुलनामा निकै कम छ ।

साल्भिनी गैरकानुनी आप्रवासनको विरोध गर्ने नर्दन लिग पार्टीका प्रमुख हुन् । प्रधानमन्त्री जर्जिया मेलोनीको फाइभ स्टार मुभमेन्टले नर्दन लिगसँग मिलेर गठबन्धन सरकार चलाइरहेको छ ।

प्रधानमन्त्री मेलोनीले आफू साल्विनीको पक्षमा रहेको बताएकी छन् । ‘यो अविश्वसनीय छ कि इटालियन गणतन्त्रका एक मन्त्रीले नागरिकहरूबाट प्राप्त जनादेशको आवश्यकता अनुसार राष्ट्रको सीमा रक्षा गर्ने काम गरेकोमा ६ वर्ष जेलको जोखिममा छन्,’ उनले एक्समा लेखेकी छन्, ‘इटालीको सीमालाई अवैध आप्रवासनबाट जोगाउने कर्तव्यलाई अपराधमा परिणत गर्नु एकदमै गम्भीर नजिर हो ।’

प्रकाशित : भाद्र ३१, २०८१ १५:१७
x
×