कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

काेलकातामा अदालतको आदेश अवज्ञा गर्दै डाक्टरहरूको प्रदर्शन जारी

भाद्र २७, २०८१
काेलकातामा अदालतको आदेश अवज्ञा गर्दै डाक्टरहरूको प्रदर्शन जारी

कोलकाता — भारतको कोलकातास्थित एक सरकारी अस्पतालमा प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्याको विरोधमा प्रदर्शनमा उत्रिएका जुनियर डाक्टरहरूले अदालतको आदेश अवज्ञा गरेका छन् । काेलकाताकाे आरजी कर मेडिकल कलेजमा गत अगस्ट ९ मा ३१ वर्षीया चिकित्सकको शव भेटिएपछि भारतभरका स्वास्थ्यकर्मीहरू आन्दोलित भएका थिए । 

मुद्दाबारे भारतीय सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ । सर्वोच्चले डाक्टरहरूलाई काममा फर्कन मंगलबार साँझसम्मको समयसीमा दिएको थियो । त्यसयता भारतका अन्य सहरमा विरोध प्रदर्शनहरू रोकिएपनि कोलकाताका डाक्टरहरूले माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् । प्रदर्शनरत डाक्टरहरूले पश्चिम बंगाल राज्यको स्वास्थ्य विभाग मुख्यालयबाहिर शिविर बनाएका छन् ।

डाक्टरहरूले पीडितलाई न्याय दिलाउनुपर्ने, वरिष्ठ प्रहरी अधिकारीलाई बर्खास्त गर्नुपर्ने, स्वास्थ्यकर्मीहरूको सुरक्षाको ग्यारेन्टी गरिनुपर्ने लगायतका पाँचवटा माग अघि सारेका छन् । भारतीय कानूनले यौन अपराधका पीडितको नाम सार्वजनिक गर्न प्रतिबन्ध लगाएका कारण प्रदर्शनकारी र सञ्चार माध्यमहरूले पीडित डाक्टरलाई अभया (निडर) नाम दिएका छन् ।

घटनापछि अस्पतालका एक स्वयंसेवकलाई पक्राउ गरिएको थियो । यसबारे केन्द्रीय जाँच ब्यूरोले अुनसन्धान गरिरहेको छ । सर्वोच्च अदालतले स्थानीय प्रशासन र प्रहरीले घटनाको छानबिन र मुद्दाको व्यवस्थापनमा लापरवाही गरेको भन्दै आलोचना गरिसकेको छ । तर स्थानीय प्रशासनले त्यसको खण्डन गर्दै आएको छ ।

अगस्ट ९ को घटनापछि डाक्टरहरूले गरेको हडतालका कारण चिकित्सा सेवा नपाउादा २३ जनाको मृत्यु भएको प्रदेश सरकारको दाबी छ । ले जनाएको छ । स्थानीय सञ्चारमाध्यमहरूमा सार्वजनिक रिपोर्ट तथा सामाजिक सञ्जालमा पोष्ट गरिएका भिडियोले पनि डाक्टरहरूको अनुपस्थितिले उपचारमा प्रतिकूल असर पारेको बिरामीहरूको आरोप छ ।

आन्दोलनरत डाक्टरहरूले भने आकस्मिक सेवा प्रभावित नहुने कुरा सुनिश्चित गरेको दाबी गर्दै आएका छन् । ‘वरिष्ठ डाक्टरहरूले सक्दो प्रयास गरिरहेका छन्,’ पश्चिम बंगाल जुनियर डाक्टर्स फ्रन्टकी डा अमृता भट्टाचार्यले बीबीसीसँग भनेकी छन्, ‘हामीले विरोधस्थलबाट टेलिमेडिसिन मार्फत् स्वास्थ्य सेवा दिइरहेका छौं । हामी बिरामीहरूको उपचारमा सक्रिय छौं ।’

बुधबार स्थानीय अधिकारीहरूले वार्ताका लागि डाक्टरहरूका सर्त अस्वीकार गरेका थिए । डाक्टरहरूका सर्तमध्ये एक मुख्यमन्त्री ममता बनर्जीसँगको बैठक टिभीमा प्रत्यक्ष प्रसारण गर्नुपर्ने छ ।

डाक्टरहरूले पश्चिम बंगाल राज्यभर विरोध प्रदर्शनहरू भइरहे पनि ठूलो कोलकातामा मात्र छ । इन्डियन एक्सप्रेसका अनुसार गत महिना कोलकातामा मात्रै तीन सयभन्दा बढी र्‍यालीहरू आयोजना भएका थिए । तीमध्ये मध्यरातमा गरिएका विरोध प्रदर्शन महिलाहरूको अगुवाइमा भएका थिए ।

केही प्रदर्शनहरूका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडपहरू भएका थिए । प्रदर्शनका सहभागीले पीडितका लागि न्याय माग्दै विभिन्न ब्यानर र पोस्टरहरू बोक्ने गरेका छन् ।

गत बुधबार पश्चिम बंगलका एक राज्यमन्त्रीले विरोध प्रदर्शनलाई प्रतिद्वन्द्वीहरूले राजनीतिकरण गरेको आरोप लगाएका थिए । तर डाक्टरहरूले आफूहरू कुनै राजनीतिक दल वा विचारधारासँग आबद्ध नभएको दाबी गर्छन् ।

डाक्टर सुमन्त्र देइले विरोध प्रदर्शनमा सबै क्षेत्रका साथै विभिन्न राजनीतिक दलका व्यक्तिहरूको सहभागिता रहेको बताए । ‘अहिलेसम्म, हाम्रा सल्लाहकारहरू बरिष्ठ डाक्टरहरू हुन् । हामी उनीहरूलाई अगाडीको सही बाटो के हो भनेर सोध्छौं र उनीहरूको कुरा सुन्ने कि नदिने भनेर छनौट गर्दैछौं,’ उनले भने, ‘यो एक संयुक्त मोर्चा हो ।’

प्रकाशित : भाद्र २७, २०८१ १८:५७
×