कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

चुनावमा हस्तक्षेप गर्न खोजेको भन्दै ट्रम्पविरुद्ध फेरि मुद्दा

भाद्र १२, २०८१
चुनावमा हस्तक्षेप गर्न खोजेको भन्दै ट्रम्पविरुद्ध फेरि मुद्दा

वासिङ्टन — अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को निर्वाचनमा हस्तक्षेप गर्न खोजेको विषयमा नयाँ अभियोगसहित मुद्दा दायर गरिएको छ । जो बाइडेन (वर्तमान राष्ट्रपति) सँग पराजित भएपछि ट्रम्पले मतपरिणाम प्रभावित पार्न खोजेको आरोप खेपेका हुन् ।

अमेरिकी सर्वोच्च अदालतले गत महिना राष्ट्रपतिहरूले आफ्नो पदीय हैसियतमा गर्ने कामकारबाहीमा उन्मुक्ति पाउने आदेश दिएको थियो । तर अभियोजनकर्ताहरूले ट्रम्पविरुद्ध संशोधित अभियोगपत्रसहित फेरि मुद्दा दायर गरेका हुन् । संशोधित अभियोगपत्रमा पनि यसअघिकै चारवटा आपराधिक अभियोग उल्लेख छन् । तर अहिले भने ट्रम्पलाई पदासीन राष्ट्रपति नभई उम्मेदवारका रूपमा मात्र प्रस्तुत गरिएको बीबीसीले जनाएको छ ।

अमेरिकी न्याय मन्त्रालयका विशेष अभियोजनकर्ता ज्याक स्मिथले ट्रम्पविरुद्ध लगाइएका चार अभियोगमा अमेरिकालाई धोका दिने षड्यन्त्र गरेको, सरकारी प्रक्रियामा अवरोधको षड्यन्त्र गरेको, सरकारी प्रक्रिया अवरोध गर्ने प्रयास गरेको र अधिकारविरुद्ध षड्यन्त्र गरेको आरोप लगाइएको हो ।

ट्रम्पले भने २०२० को निर्वाचनमा हस्तक्षेप गरेको आरोप अस्वीकार गर्दै आएका छन् । निर्वाचनमा मतदाताको नाममा व्यापक धाँधली भएको बताउँदै आएका ट्रम्पले त्यसबारे कुनै प्रमाण भने देखाएका छैनन् । ट्रम्पका वकिल टोड ब्लान्चले मुद्दा दायर गरिएको विषयमा ट्रम्पको चुनावी अभियानसँग कुरा गर्न भनेका बीबीसीले जनाएको छ । तर चुनावी अभियानले कुनै उत्तर नदिएको जनाइएको छ ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रूथ’मा आफूविरुद्धको नयाँ मुद्दालाई ‘मरेकालाई जिउँदो बनाउने प्रयास’ गरेको उल्लेख गरेका छन् । अमेरिकीको ध्यान निर्वाचनबाट मोड्नका लागि यस्तो गरिएको उनको दाबी छ । सीएनएनका अनुसार नयाँ अभियोगपत्र ३६ पृष्ठको छ । यसअघिको अभियोजनपत्र ४५ पृष्ठको थियो ।

नयाँ अभियोगपत्रमा ट्रम्पले एक नागरिकका रूपमा निर्वाचनको परिणाम प्रभावित गर्ने प्रयास गरेको दाबी गरिएको छ । ‘निर्वाचन परिणामको प्रमाणीकरण वा प्रक्रियागत कार्यमा प्रतिवादीको कुनै आधिकारिक भूमिका नदेखिएको भए पनि ट्रम्पको आफू निर्वाचित हुने व्यक्तिगत स्वार्थ थियो,’ अभियोग पत्रमा उल्लेख गरिएको छ ।

प्रकाशित : भाद्र १२, २०८१ १७:०१
x
×