कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८०

इजरायलले गाजास्थित विद्यालयमा गरेको आक्रमणमा १८ जनाको मृत्यु

भाद्र २७, २०८१
इजरायलले गाजास्थित विद्यालयमा गरेको आक्रमणमा १८ जनाको मृत्यु

Highlights

  • मारिनेमध्ये ६ जना राष्ट्रसंघीय कर्मचारी 

जेरुसलेम — इजरायलले गाजास्थित एक विद्यालयमा गरेको आक्रमणमा कम्तीमा १८ जनाको ज्यान गएको छ । मारिनेमध्ये ६ जना संयुक्त राष्ट्रसंघीय कर्मचारी छन् । उनीहरू प्यालेस्टिनी शरणार्थीका लागि राष्ट्रसंघीय निकाय (यूएनआरडब्लूए) का कर्मचारी भएको बीबीसीले जनाएकाे छ ।

यूएनआरडब्लूएले आश्रयस्थलका प्रबन्धक र विस्थापित मानिसलाई सहायता प्रदान गर्ने टोलीका सदस्यहरू मारिएको जनाएको छ । नुसेइरत शरणार्थी क्याम्पमा सञ्चालित अल–जाओउनी विद्यालयमा विस्थापित प्यालेस्टिनीहरूले आश्रय लिइरहेका थिए । इजरायली सेनाले विद्यालय परिसरमा पटक-पटक आक्रमण गर्दै आएको थियो ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आक्रमणको भर्त्सना गर्दै ‘गाजामा भएका घटना अस्वीकार्य भएको’ बताएका छन् । ‘अन्तर्राष्ट्रिय मानवीय कानुन उल्लंघनका यस्ता नाटकीय घटना अब रोक्नैपर्छ,’ सामाजिक सञ्जाल एक्समा गुटेरेसले भनेका छन् ।

इजरायली सेनाले भने आतंककारीहरूलाई लक्षित गरी आक्रमण गरेको दाबी गरेको छ । सेनाले विज्ञप्तिमार्फत अल–जाओउनी क्षेत्रका हमासका कमान्ड र नियन्त्रण केन्द्रमा ‘सटीक आक्रमण’ गरेको बताएको छ ।

गाजामा धेरै विद्यालयहरू विस्थापितलाई आश्रय दिन पुनः निर्माण गरिएको छ । कतिपय विद्यालयमा गाजाका ठूलो संख्याका युद्ध-प्रभावितहरूले आश्रय लिँदै आएका छन् ।

इजरायली सेनाले ती विद्यालयमा प्यालेस्टिनी तथा विस्थापित नागरिकबीच हमासका लडाकुहरू लुकिरहेको दाबी गरेको छ । तर इजरायली दाबी हमासले भने खण्डन गर्दै आएको छ ।

गत अक्टोबर ७ मा प्यालेस्टिनी इस्लामिक समूह हमासले दक्षिणी इजरायलमा गरेको आक्रमणपछि गाजामा सक्रिय सैन्य कारबाही सुरू गरेको थियो । त्यसयता इजरायली आक्रमणमा गाजामा ४१ हजारभन्दा बढी प्यालेस्टिनीको ज्यान गइसकेको छ । गाजामा हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले मारिनेमध्ये अधिकांश महिला र बालबालिका भएको जनाएको छ ।

प्रकाशित : भाद्र २७, २०८१ १४:५७
×